काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारको मागपत्र प्रमाणीकरण अनावश्यकरुपमा ढिलाइ भएको र मलेसियामा नेपाली कामदारको कल्याणकारी कामका लागि भन्दै ४५ अमेरिकी डलर उठाउने विषय सार्वजनिक भएपछि ती विषयमा परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयका बीचमा प्राथमिकता र दृष्टिकोणमा एकरुपता देखिएको छैन ।
परराष्ट्र मन्त्रालय मातहत रहेका कूटनैतिक नियोगहरुले समयमा मागपत्र प्रमाणीकरण नगरिदिँदा नेपाली कामदारका लागि आउने युरोपेली देशहरुको आकर्षक रोजगारीको अवसर मात्रै नभइ खाडी मुलुकको रोजगारीको अवसर पनि गुमिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गुनासो रहँदै आएको छ ।
श्रम मन्त्रालयको पहलले मात्रै समस्याको समाधान नभएपछि संघले परराष्ट्रमन्त्री साउदलाई भेटेर मागपत्र प्रमाणीकरण सम्बन्धमा रहेका समस्या, महिला कामदार पठाउन श्रम स्वीकृति दिने र विदेशमा संरक्षण दिने सम्बन्धमा रहेका समस्या, दक्षिण कोरियामा ई ७ भिसा र इजारायलमा कामदार पठाउन पाउन पाउनुपर्ने विषय, जापान रोजगारका सम्बन्धमा लामो समयदेखि थाती रहेका समस्यासहित साउदी अरबमा कामदार पठाउन उत्पन्न समस्या सम्बन्धमा ध्यानाकर्षण गराएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
श्रम मन्त्रालयले विदेशस्थित नेपाली दूतावास र महावाणिज्यदूतावासले मागपत्र प्रमाणीकरण नगरिदिँदा नेपाली कामदारको रोजगारीको अवसर गुमेको भन्दै वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० जारी गरेर मागपत्र प्रमाणीकरण गर्ने बताएको थियो । तर मागपत्र प्रमाणीकरण शुरुवात गर्दा परराष्ट्र मन्त्रालय रिसाउने र अन्य मामिलामासमेत उसले असहयोग गर्न सक्ने त्रासले श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरण गर्ने साहस निकाल्न सकेको छैन ।
संघले श्रम मन्त्रालयले हालै जारी गरेको वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० अनुसार नेपाली दूतावास र महावाणिज्यदूतावासले १५ दिनभित्र प्रमाणीकरण नगरेका मागपत्र प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयले सहयोग र समन्वय गरिदिनुपर्ने माग परराष्ट्रमन्त्री साउदसँग राखेको पनि महासचिव भुर्तेलले बताए ।
जवाफमा मन्त्री साउदले श्रम मन्त्रालयसँग समन्वय गर्नुपर्ने विषय थपिँदै गएको भन्दै श्रम मन्त्रालयसँग समन्वय गरी काम गर्न छुट्टै शाखा नै स्थापना गरिएको जानकारी व्यवसायीलाई दिएको महासचिव भुर्तेलले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies