चन्द्र गोतामे/मध्यान्ह
कुवेत : कुवेतस्थित नेपाली दूतावासले इराकमा राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । इराकमा रहेका नेपाली नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै नेपाली दूतावास कुवेतले पहिलो पटक इराकमा राहदानी नवीकरण शिविर सञ्चालन गर्न लागेको हो । इराकमा हाल १५ हजारको हाराहारीमा नेपाली नागरिक रहेको दूतावासका प्रथम सचिव प्रेमराज गौतमले जानकारी दिए ।
नेपाली दूतावास कुवेतले त्यहाँ रहेका नेपालीलाई लक्षित गरी फेब्रुअरी २ देखि ७ तारिकसम्म इराकको सुलेमानिया सौलाखा अरबिल अन्कावामा राहदानी नवीकरण शिविर सञ्चालन गर्न लागेको हो ।
राहदानी नविकरणको सेवा लिन चाहने नेपाली नागरिकहरुले आफ्नो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि, राहदानीको प्रिइनरोलमेन्ट फारम, नवीकरण दस्तुर १६ के.डी. र राहदानी हराएको÷बिग्रेको भएमा ३२ के.डी. राजस्वसहित उपस्थित हुनुपर्ने दूतावासले जनाएको छ ।
इराकमा रहेका नेपालीहरु राहदानी नवीकरणका लागि कुवेत आउन भिसा लगाउनुपर्ने हुँदा आवतजावतमा समेत समस्या हुने र पहिला मेसिन रिडेबल राहदानी (एमआरपी) हुलाकमार्फत पठाउने गरिएको भएता पनि हाल विद्युतीय राहदानी हुलाकमार्फत पठाउन नमिल्ने भएकाले शिविरको आयोजना गर्न लागिएको प्रथम सचिव गौतमले बताए ।
इराकमा रहेका नेपाली नागरिकहरुको समस्या कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएको छ । नेपाली नागरिकहरु इराक जान सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो भएर इराक पुग्ने गरेका छन् । खाडीका अन्य मुलुकमा भन्दा राम्रो तलब सुविधा पाइने इराकको रोजगारीमा जान सहज बनाउनुपर्ने गैरआवासीय नेपालीहरुको माग रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies