काठमाडौं : जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमाबाट उल्लेख्य आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०–०८१ को ६ महिना अर्थात पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट करिब डेढ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार हाल १० वटा बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बीमा गरिरहेका छन् ।
वैदेशिक रोजगार बीमालेखबाट १० बीमा कम्पनीले १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ संकलन गरेका छन् । वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी आर्जन गर्ने बीमा कम्पनीमा लाइफ बीमा क्षेत्रमा नयाँ कम्पनीको रूपमा रहेको सन नेपाल लाइफ लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीले ६ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट ३६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले ३२ करोड ५ लाख, तेस्रोमा रहेको आइएमई लाइफ कम्पनी लिमिटेड र चौथो स्थानमा रहेको एसियन लाइफले समान १६ करोड ४१ लाख रुपैयाँ, पाँचौं स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ५७ लाख रुपैयाँ र छैटौं स्थानमा रहेको सूर्यज्योति लाइफले १० करोड ४ लाख रुपैयाँ आर्जन गरेका छ ।
त्यस्तै सातौं स्थानमा रहेको सानिमा रिलायन्स लाइफ कम्पनी लिमिटेडले ९ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ कम्पनी लिमिटेडले ८ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफ कम्पनी लिमिटेडले ६ करोड ९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ कम्पनी लिमिटेडले १४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । वैदेशिक रोजगार ऐनले श्रम स्वीकृतिका लागि बीमा अनिवार्य गरेको छ ।
वैदेशिक रोजगारी (म्यादी) जीवन बीमा गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बीमालेख स्वतः रद्द हुने व्यवस्था छ । बीमालेख रद्द गर्दा कम्पनीले ५ सय रुपैयाँ कट्टा गरी बाँकी बीमा शुल्क फिर्ता दिनुपर्ने व्यवस्था छ । तर व्यवहारमा वैदेशिक रोजगारमा नजाने कामदार बीमा शुल्क फिर्ता लिन बीमा कम्पनी जाने गरेका छैनन् ।
वैदेशिक रोजगारमा जाने कामदारको भिसाको अवधिभन्दा थप १ वर्ष बढीको बीमालेख जारी गर्ने गरिएको छ । सरकारले २०७३ फागुन १ गतेदेखि लागू हुने गरी वैदेशिक रोजगार बीमामा घातक रोग पनि समावेश गरेको हो । जसअन्तर्गत क्यान्सर, मिर्गौला फेलियर, प्राइमरी पल्मोनरी आर्टरियल हाइपरटेन्सन, अयोर्टा ग्राफ्ट सर्जरी, मुटुको भल्भ सर्जरी, स्ट्रोक, पहिलो हृदयाघात, मल्टिपल स्क्लेरोसिस, महत्वपूर्ण अंग प्रत्यारोपण, कोरोनरी आर्टेरियल बाइपास ग्राफ्ट, कोमा, पूर्ण अन्धोपन, प्यारालाइसिस, बेनाइन ब्रेन ट्युमर, दुर्घटनाका कारणले भएको मानसिक रोग समावेश छन् ।
बीमा अवधिमा कामदारको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैयाँ र घातक रोग लागि मृत्यु नभएको, तर शारिरीकरूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १३ लाख रूपैयाँसम्म भुक्तानी पाउने व्यवस्था छ । घातक रोगमात्रै लागेको अवस्थामा भने ५ लाख भुक्तानी पाउने व्यवस्था छ । त्यस्तै बिमितको आयको नोक्सानीबापत २ लाख, किरिया खर्चबापत १ लाख, औषधि उपचार खर्चबापत १ लाखसम्म, शव ल्याउने खर्चबापत १ लाख रूपैयाँ भुक्तानी दिनुपर्ने व्यवस्था छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies