काठमाडौं : प्रहरीले भिजिट भिसाको सेटिङमा वैदेशिक रोजगारमा पठाउने गिरोहको भ्रष्टाचारसम्बन्धी अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । प्रहरीले उक्त प्रकरणमा १० जनालाई पक्राउ गरेको छ भने कुनै बेला वैदेशिक रोजगार विभागमा चल्तीका अधिकृत कुशल बरालसहित ११ जना फरार रहेको बताइएको छ ।
फरार हुनेहरुमा ८ जना अधिकृत रहेकोे बताइएको छ । अधिकृत बरालसहित शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा तीन जना बिचौलियाहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
गत असोजमा भिजिट भिसामा विदेश पठाउने प्रयोजनका १ हजार ५ सय १३ वटा कागजातहरु बरामद भएपछि प्रहरीले डीएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान शुरु गरेको थियोे ।
नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालय, नेपाल वायु सेवा निगमका कर्मचारी र प्रहरी जवानलाई पक्राउ गरेको थियो । गत मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपछि अधिकृत बरालसहितका अन्य अधिकृतहरु तानिएको बताइएको छ ।
तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवरलाई पनि भिजिट प्रकरणका मुख्य नाइकेका रुपमा चित्रण गरिएको छ । उनीहरुले भिजिट भिसाको सेटिङमा पठाउँदा ४४ देखि ५५ हजारसम्म लिने गरेको पोल खोलाखोल भएको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ ।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अभियोग पत्र दायर भएपछि फरार रहेकाहरु अदालतमा हाजिर हुने र धरौटीमा छुट्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies