काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदारहरुको हित प्रवर्द्धनका लागि यूएईमा आगामी फागुनमा रोजगार मेला ‘जव फेयर’ गर्ने बताएको छ ।
यूएईको सबै क्षेत्रमा नेपाली कामदारको डिमाण्ड रहेको भएपनि बिचौलियाहरुका कारण उक्त डिमाण्ड अन्यत्र जाने अवस्था रहेको भन्दै संघले बिचौलियाहरूलाई कामदारको भर्ना प्रक्रियामा निषेध गरी रोजगारदातासँग नेपाली म्यानपावरको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवधारणाअनुसार रोजगार मेलाको तयारी भएको संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलले जानकारी दिए ।
संघको समन्वयमा आगामी फागुन ३ अर्थात फेब्रुअरी १५ तारिकमा यूएई सरकारका प्रतिनिधि, त्यहाँका बहुराष्ट्रियसहित ठूला रोजगारदाता कम्पनी, चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाको सहभागितामा जव फेयर गरिने भन्दै महासचिव भुर्तेलले त्यस विषयमा संघलाई छातासंस्था मान्ने शुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग सोमबार प्रारम्भिक चरणमा छलफल गरिएको जानकारी दिए । जव फेयरमा सहभागी हुन इच्छुक म्यानपावर कम्पनीहरुको नामावली संकलन गर्न संघबाट निर्णय भइ केही दिनभित्रै सूचना प्रकाशित गरिने भन्दै संघले इच्छुक व्यवसायीहरुले आफ्नो विवरण संघ कार्यालयमा उपलब्ध गराउन सक्ने बताएको छ ।
यूएईमा विभिन्न देशका कामदार कार्यरत रहेका छन् । त्यसमध्ये फिलिपिन्सले सरकारीस्तरमा नै पटक–पटक ‘जव फेयर’ गरेर बजार प्रवर्द्धनमा अगाडि रहेको छ । नेपालले भने १७ वर्षअघि जव फेयर गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन । हाल प्रतिनिधि सभा सदस्य रहेका संघका तत्कालीन अध्यक्ष लालप्रसाद साँवा लिम्बूको कार्यकालमा सन् २००७ को जुन ६ तारिकमा दुबईको ग्राण्ड हायात होटलमा ‘जव फेयर’को आयोजना गरेको थियोे ।
त्यतिबेला २६ कम्पनीले स्टल राखेर आ–आफ्ना सूचनाहरू प्रवाह गरेका थिए भने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले नेपालमा उपलब्ध अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरूको बारेमा विस्तृत जानकारीगराएपछि नेपालमा कामदारहरू अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरूको सोचाइ नै परिवर्तन भएको धेरैको बुझाइ छ ।
यूएईमा जव फेयर भएको १७ वर्षको अवधिमा बजार प्रवर्द्धनका नाममा काठमाडौंमा धेरै कार्यपत्र प्रस्तुत भएपनि ठोस् काम भने हुन नसकेको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ । पछिल्ला महिनाहरूमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies