करिब पाँच दर्जन म्यानपावर कम्पनी रहेको सामाखुसी क्षेत्रमा काठमाडौं महानगरपालिकाले ७ दिनभित्र म्यानपावर कार्यालय हटाउनुपर्ने उर्दी जारी गरेपछि त्यसक्षेत्रका व्यवसायी गम्भीर बनेका छन् । सात दिनभित्र कार्यालय स्थानान्तरण नगरेमा कानूनी कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । महानगरको उर्दीपछि अन्योल र त्रासमा परेका व्यवसायीहरु गत बुधबारदेखि निरन्तर छलफलमा छन् । सो क्षेत्रमा कार्यालय सञ्चालन गरेका ५५ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले विभिन्न अवस्थामा संरक्षकत्व प्रदान गर्दै आएको छ ।
काठमाडौं महानगरपालिकाले ७ दिनभित्र म्यानपावर कार्यालय हटाउनुपर्ने उर्दीलाई समितिले कसरी ह्यान्डल गर्दैछ ? प्रस्तुत छ, एकता समितिका अध्यक्षको जिम्मेवारीमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वकार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीसँग काठमाडौं महानगरको म्यानपावर कार्यालय हटाउनुपर्ने उर्दीले सिर्जना गरेकोे समस्या र समाधानका विषयमा मध्यान्ह दैनिकले गरेको कुराकानीको सम्पादित अंश :
काठमाडौं महानगरपालिकाले ७ दिनभित्र यस क्षेत्रमा रहेका कलकारखानासहित म्यानपावर कम्पनीको कार्यालय हटाउनुपर्ने भनि गत बिहीबार गरेको माइकिङलाई वैदेशिक रोजगार व्यवसायी एकता समितिले कसरी लिएको छ ?
काठमाडौं महानगरपालिकाले ७ दिनभित्र म्यानपावर कम्पनी कार्यालय हटाउनुपर्ने भन्ने गत बिहीबार महानगरपालिकाको गाडीमार्फत भएको उर्दी अपरिपक्व र अव्यावहारिक मात्रै नभएर सिँगो मुलुकको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगार व्यवसायलाई तहसनहस पार्ने र बन्द गराउने बद्नियतबाट आएको विश्लेषण गरिएको छ । एउटा सरकारी निकाय कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइ अर्को सरकारी निकाय वैदेशिक रोजगार विभागबाट अनुमतिपत्र लिएर स्वयम् महानगरपालिकाको २६ नम्बर वडा कार्यालयमा २५ हजारका दरले व्यवसाय दर्ता शुल्क तिरेर व्यवस्थित रुपमा कार्यालय सञ्चालन गरिरहेका व्यवसायीलाई अव्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउने जसरी व्यवसायीलाई हट्न माइकिङ गरिनु आपत्तिजनक छ । वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले संगठित र वैधानिक ढंगले यसको प्रतिवाद गर्दै छ ।
महानगरीय प्रहरीले कार्यालय स्थानान्तरण नगरे कानूनी कारबाही गर्ने र उठाउन बाध्य हुने बताएको छ । सरोकारवाला पक्षसँग महानगरले छलफल प्रक्रिया अगाडि बढाएको छ त ?
महानगरीय प्रहरीको माइकिङलगत्तै यस क्षेत्रमा कार्यालय रहेका व्यवसायी भेला भएका थियौं । यस क्षेत्रमा ५५ वटा म्यानपावर कम्पनीका कार्यालय सञ्चालन छन् । त्यतिमात्र नभएर १७ वटा मेडिकल सेन्टर र २० वटा ओरियन्टेशन पनि सञ्चालनमा रहेका छन् । कतिपय व्यवसायीले आफ्नै लगानीमा भवन निर्माण गरेका छन् भने कतिपयले लाखौं लगानी गरेर वर्षौंदेखि स्थायी कार्यालय स्थापना गरेका छन् । घरधनीसँग १० वर्षको सम्झौता गरेर कार्यालय व्यवस्थापन गर्दा व्यवसायीको लाखौं रुपैयाँ खर्च भएको छ । सो विषयमा हामीले स्थानीय आवास समितिसँग छलफल गरिरहेका छौं ।
बुधबार पनि गम्भीर छलफल हुँदैछ । हामी अहिलेसम्म महानगरपालिकाका निकायहरुमा छलफलका लागि गएका छैनौं । कतिपयले महानगरपालिका प्रमुखको नै निर्देशन हो भन्नुभएको छ । लिखितरुपमा केही नआएकाले महानगर केन्द्रको निर्देशन हो वा कोही स्थानीयको अनुचित दबाब प्रभावका आधारमा माइकिङ भएको हो, त्यस विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं ।
यो क्षेत्र आवासीय क्षेत्रका रुपमा रहेको छ । त्यहाँ भित्र सबै प्रकारका व्यवसाय गर्न दिँदा अवस्था बस्न लायक नै नरहने भएको आँकलनमा महानगरपालिकाले म्यानपावर कम्पनीलाई हट्न दिएको निर्देशनलाई अस्वभाविक भन्न कसरी उचित हो ?
म्यानपावर कम्पनी कार्यालय सार्ने विषय व्यवसायीले वा महानगरपालिकाले चाहेर मात्रै हुँदैन । हामीले कार्यालय सार्दा कम्पनी रजिस्ट्रारको कार्यालयदेखि वैदेशिक रोजगार विभागको अनिवार्य अनुमति लिनुपर्छ । अनुमतिबिना कार्यालय सारेको अवस्थामा कम्पनी ऐन र वैदेशिक रोजगार ऐन, २०६४ अनुसार जरिवाना तिर्नुपर्छ । त्यसअघि ठेगाना परिवर्तनको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेलगायतका प्रावधान छन् । हामी स्थानीय नभइ संघीय कानूनअनुसार स्थापना भएकाले महानगरपालिका जस्तो संस्थाले त्यस विषयमा जानकारी नै नभएको जस्तो गरेर सातदिने उर्दी जारी गर्नु व्यवसायीप्रतिको गैरजिम्मेवारपूर्ण व्यवहार हो ।
यसभन्दा पनि महत्वपूर्ण विषय वैदेशिक रोजगार व्यवसायीका कार्यालयले आवासीय क्षेत्रमा के समस्या सिर्जना ग¥यो ? के काठमाडौं महानगरपालिकाले अध्ययन अनुसन्धान गरेर कुनै स्वतन्त्र प्रतिवेदन तयार गरेको छ ? म्यानपावर कम्पनीका कार्यालय सामाखुसी एरियामा मात्रै होइन, कलंकीदेखि स्वयम्भु, बालाजु, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, गौशाला, सिनामंगललगायतका क्षेत्रमा रहेका छन् । यी सबैका विषयमा महानगरपालिकाको निर्णय वा दृष्टिकोण के हो ? केही पनि सार्वजनिक गरिएको छैन । के का आधारमा सातदिने उर्दी जारी गरिएको हो ? हामी स्थानीय करदाता पनि भएकाले त्यसको यथेष्ट जवाफ पाउनुपर्छ । हामी महानगरपालिकाले उर्दी जारी गर्यो अब भाग्नुपर्छ भन्ने कायर मानसिकतामा छैनौं । कतिपयले रगत बगाउनु परेपनि पछि हट्नु हुँदैन भनेर भनिरहनुभएको छ । महानगरपालिकाको उर्दीप्रति सबै आक्रोशित हुनुहुन्छ । महानगरबाटै समस्या समाधान दिइएन र आवश्यक प¥यो भने हामी न्यायालयसम्म जानु परेको अवस्थामा पछि हट्ने छैनौं ।
सानो कार्यालय लिने, तर विदेश जाने कामदारको अन्तर्वार्ता गर्दा बाटो नै छेकेर युवायुवतीलाई लाइन लगाउने, म्यानपावर कम्पनी सञ्चालनको गाडी पार्किङले पैदलयात्रीलाई समेत समस्या भएका गुनासा पनि रहेका छन् । यसलाई समितिले कसरी हेर्छ ?
जहाँ व्यापार व्यवसाय छ, त्यहाँ विभिन्न कारणले मानिसहरुको आवागमन हुन्छ । तर हामीले कार्यालयमा अन्तर्वार्ता नलिने निर्णय गरिसकेका छौं । पार्टी प्यालेसलगायतका ठाउँ भाडामा लिएर कसैलाई डिष्टर्ब नहुने गरेर अन्तर्वार्ता गर्ने हाम्रो सहमति भइसकेको छ । साप्ताहिकरुपमै सफाइ अभियान चलाउने निर्णय पनि गरिसकेका छौं । पार्किङ यहाँको मात्रै नभएर सिँगो महानगरपालिकाको प्रमुख समस्या हो । पार्किङ समस्याको समाधानका लागि हिजोदेखि डबलीमा गर्ने र एक महिनापछि नर्सरी राखेको जग्गामा पार्किङ व्यवस्थापन गर्ने निर्णय भइसकेको छ । हामी नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने व्यवसाय गर्ने व्यवसायी भएकाले शहरीकरण सौन्दर्यकरणको महत्व गहिरोसँग बुझ्छौं । मुलुकको अर्थतन्त्रमा यति ठूलो योगदान दिएका हामीलाई फोहोर वा अस्तव्यस्तता सिर्जना गर्ने तत्वरुपमा चित्रण गर्ने र हाम्रो जस्तो संवेदनशील व्यवसाय र व्यवसायीमाथि अनुचित लाञ्छना लगाउने काम स्वीकार्य छैन ।
छातासंस्थाको हैसियतमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यसबारेमा के दृष्टिकोण छ ?
महानगरीय प्रहरीको माइकिङपछि संघका अध्यक्षले चासो राख्नुभएको थियो । मैले तत्कालका लागि समितिले समस्याको ह्याण्डिल गर्छ भनेर भनेको छु । पेशागत सुरक्षाको विषयमा सबै संस्था र व्यवसायी सचेत भएर हातेमालो गर्न अगाडि आउनुपर्ने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies