काठमाडौं : वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले ७ दिनभित्र म्यानपावर कम्पनी कार्यालय हटाउनुपर्ने काठमाडौ महानगरपालिको उर्दीको सम्बन्धमा सामाखुसी टोल सुधार समिति र २६ नम्बरका वडाध्यक्षसँग छलफल गरेको छ ।
गत बुधबार काठमाडौं महानगरपालिकाले ७ दिनभित्र कलकारखानासहित म्यानपावर कम्पनीमा कार्यालय हटाउनुपर्ने बताएको थियो । समिति अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्रीले महानगरको उर्दी अव्यवहारिक र गैरकानूनी भन्दै त्यसको प्रतिवाद गरी खारेज गर्नुपर्ने बताएका छन् ।
टोल सुधार समितिसँग बुधबारको छलफल फलदायी नभएपछि आफूहरू वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीसमक्ष गएको विज्डम ह्युमेन रिसोर्स प्रा.लि.का सञ्चालक भेष केसीले जानकारी दिए । वडाध्यक्ष र व्यवसायीबीच लामो छलफल भएपनि वडाध्यक्ष तिवारीले ठोस् जवाफ दिएनन् ।
वडाध्यक्ष तिवारीले म्यानपावर कम्पनीको कार्यालय राख्न नदिने वा दिने भन्ने कानूनमा स्पष्ट नभएको, तर आवासीय क्षेत्र छुट्याइएको अवस्थामा आवासीय क्षेत्रमा मापदण्डअनुसार व्यवस्था गर्ने महानगरपालिकाको नीति बनेको बताए । उनले सवारीसाधनमाफर्त उर्दी जारी गरेर भन्दा उपयुक्त समयसीमा तोकेर आवासीय क्षेत्रका मापदण्डअनुसार नभएका कार्यालय स्थानान्तरण हुनु राम्रो हुने धारणा राखेका थिए ।
यथास्थानमा कार्यालय राख्न पाउनुपर्ने मान्यतामा रहेका व्यवसायीहरुले लाखौं लगानी गरेर कार्यालय स्थापना गरेकोले कार्यालय सार्दा आर्थिक क्षति हुने बताएका छन् । कार्यालय सार्न वैदेशिक रोजगार विभागको अनुमतिसहित अन्य कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले महानगरले विधिप्रक्रिया बुझेर व्यवहार गर्नुपर्ने उनीहरुको माग छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies