तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कालीका गाउँपालिका १ रसुवाकी नानी तामाङ (नाम परिवर्तन)लाई यूएईबाट कतारमा घरेलु कामदारको रूपमा बेचिएको पाइएको छ । १९ महिना अगाडि नेपालको एक म्यानपावरबाट रसुवा नै घर भएका अमृत गुरुङले दुबई भिजिट भिसामा पठाएपछि उनी दुबईबाट कतारमा बेचिएको भेद खुलेको हो ।
गत सालको डिसेम्बरमै एनसीसी कतारले यस बारेमा जानकारी पाए पनि कसरी कदम चाल्ने, कहाँबाट सत्य तथ्य बुझ्ने र कसरी नेपाल फिर्ता पठाउने भन्ने बारेमा दूतावाससँग समन्वय गर्दै अगाडि बढेको एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । यो विषय मानव बेचबिखनसँग जोडिने र अति नै संवेदनशील रहेका कारण केही समय लागेको बताउँदै उनले एनसीसीको जानकारीमा आइसकेपछि एनसीसीकै श्रमिक विभागका संयोजक र सह संयोजकले आवश्यक कदम चालेको बताए ।
श्रमिक विभागका संयोजक कृष्ण पन्थीले मासिक करिब १२ सय तलब दिने सर्तमा यूएईबाट कतार ल्याए पनि दुई–तीन महिनामा एक पटक एक हजार मात्रै दिने गरेको पीडितलाई उद्धृत गर्दै मध्यान्हसँगको कुराकानीमा बताए । उनले तामाङ आफैंले हिम्मत गरेर घर छोडेर एनसीसीको सम्पर्कमा आइसकेपछि मात्र उनको नेपाल फिर्तीका लागि सहजीकरण गर्न सहज भएको बताए ।
दुबईबाट कतार पठाउने पीडकको खोजी र पीडितलाई उचित न्याय दिलाउन एनसीसी कतारले पुरै पहल गर्ने भएको छ । कतारमा घरेलु कामदारका लागि नेपाल सरकारले श्रम स्वीकृति दिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies