काठमाडौं : सत्तारुढ तथा विपक्षी दलका सांसदहरुले रुस–युक्रेन युद्धमा करिब १५ हजार नेपाली युवाहरुको जीवन समाप्त हुने अवस्था रहेकोे भन्दै तत्काल पीडामा रहेका परिवारले उनीहरुको सम्बन्धमा जानकारी पाउने अवस्था हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद सूर्य थापा र नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले मुलुक र आश्रित परिवारलाई युद्धमा फसेका नेपालीबारे जानकारी सार्वजनिक गर्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताए ।
एमाले सांसद थापाले गत जुन महिनाको २८ तारिकमा रुस–युक्रेन युद्धमा नेपाली युवाहरु ठूलो संख्यामा भर्ति गरिएको सम्बन्धमा अमेरिकको न्युयोर्क टाइम्सले विस्तृत विवरणसहितको समाचार सार्वजनिक गरेपनि नेपाल सरकारले परिवारका सदस्यहरुलाई न श्वास, न आशको अवस्थामा पुर्याएको दाबी गरे । उनले नेपालीलाई युद्धग्रस्त क्षेत्रमा पु¥याउने गिरोहको खोजी र कारबाही गर्न पनि ढिलाइ भएको दाबी गरे ।
उनले वैदेशिक रोजगारीमा वैधानिकरुपमा श्रम स्वीकृति लिएर कतार गएका प्यूठान काठेबगरका सोमेस सुनार र स्वर्गद्वारीका लालबहादुर घर्ती दलालमार्फत रुस पुगेको विषयमा परिवारका सदस्यहरुले परराष्ट्र मन्त्रालयको कानून र उद्धार शाखामा निवेदन दिएको हप्तौं भएपनि उनीहरुको अवस्था पत्ता लगाउन कुनै पहल नभएको बताए ।
सांसद थापाले नेपाल सरकारले आफ्ना नागरिकको खोजी गरी नेपाल फिर्ता गर्ने क्षमता राख्नुपर्ने माग गर्दै भने, ‘नेपालले औपचारिकरुपमा भारत र बेलायतबाहेक अन्य देशको सेनामा आफ्ना नागरिक पठाउन नपाउने अवस्था छ, तर नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन सरकार, प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय बोल्दैनन् ?’
सांसद थापाले तत्कालै सार्थक पहल भएको अवस्थामा रुस तथा युक्रेनी सेनामा पुगेका नेपालीको सग्लो शरीर स्वदेश नफर्किने खतरा रहेको विषयमा सरकारले चासो राख्नुपर्ने माग समेत गरे ।
उता नेपाली कांग्रेसका सांसद डा. भण्डारीले सरकारका गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले रोजगारीको सिर्जना हुन नसकी देशबाट युवा पलायनको डरलाग्दो अवस्था उत्पन्न भएकाले संसदले नीतिगत हस्तक्षेपको निर्णय गर्नुपर्ने अवस्थामा देश पुगेको बताए । उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले रोजगारी सिर्जना हुने कृषि, पर्यटन तथा उद्योगका काममा लगानी हुन नसकेको विषमया सबै दल एकढिक्का भएर लाग्न ढिलाइ भएको उल्लेख गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies