तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली दूतावाससँगको सहकार्यमा कतारस्थित नेपालका बैंक तथा रेमिट्यान्स कम्पनीहरूले रेमिट्यान्ससम्बन्धी सूचना तथा जानकारी दिने उद्देश्यले दूतावासमा "डिजिटल डिस्प्ले बोर्ड" राखेका छन् । कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बिहीबार उद्घाटन गरेको बोर्डमा सेवाग्राहीहरूले आफूले कमाएको रकम भरपर्दो मध्यमबाट परिवारसम्म पुर्याउने रेमिट्यान्सको विषयमा सम्पूर्ण जानकारी दिइएको छ ।
रिया मनि ट्रान्सफर, आइएमई रेमिट तथा पे, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जिएमई रेमिट्यान्स, ईसेवा मनि ट्रान्सफर, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, हिमाल रेमिट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एमरेष्ट बैंकले गरेको डिस्प्लेमा रेमिट्यान्स भनेको के हो ? औपचारिक माध्यम भनेका के-के हुन् ? कतारमा औपचारिक माध्यमबाट रेमिट्यान्स गर्ने माध्यमहरू के-के हुन् ? औपचारिक माध्यमबाट पैसा पठाउँदा के-के फाइदाहरू हुन्छन् ? जस्ता विषय र यसका लाभहरू तथा दूतावासका केही सूचनालाई समेत प्रस्टाइएको छ ।
उद्घाटन पश्चात बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा राजदूत ढकालले नेपालको अर्थतन्त्र धानेको रेमिट्यान्सलाई अझै सरल र व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरेका थिए । रोजगारीको सिलसिलामा कतारमा रहेर पनि वैधानिक तरिकाबाट नेपालमा पैसा कसरी पठाउने जानकार नभएका सेवाग्राहीहरूका लागि रेमिट्यान्स कम्पनीहरूले गर्ने चेतनामूलक कार्यक्रममा दूतावासको सहयोग रहने ढकालले प्रतिबद्धता व्यक्त गरे । उनले रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरूलाई आवश्यक परेको अवस्थामा सुझाव सल्लाह र छलफलका लागि दूतावास सदैव साथ रहने बताए । अवैधानिक तरिकाबाट नेपाल भित्रिने रेमिट्यान्सले राज्यलाई घाटा र सेवाग्राहीहरूलाई समस्यामा पार्ने ढकालको भनाइ थियो ।
उक्त कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले डिस्प्ले बोर्डमा एक्सचेन्ज रेट राख्नका लागि सुझाव दिएका थिए । नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबारका लागि इजाजत वा मान्यता प्राप्त कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई औपचारिक माध्यम मान्ने गरिन्छ । वैदेशिक रोजगार वा व्यापार व्यवसायबाट प्राप्त गरेको आम्दानीलाई औपचारिक माध्यम प्रयोग गरी आफन्त, साथीभाइको नाममा नेपालमा रहेको कुनैपनि बैंक खाता या मोबाइल वालेटमा रकम स्थानान्तरण गर्नुलाई रेमिट्यान्स भनिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies