काठमाडौं : भारतीयहरुले सहजरुपमा पहुँच पाएको अन्तर्राष्ट्रिय श्रम बजार नेपालीका लागि भने दुर्लभ बनेको छ । युद्ध पूर्णरुपमा समाप्त नहुँदै ठूलो संख्यामा कृषि कामदार इजरायल पठाएको भारतले केही दिनअघि ठूलो संख्यामा कामदार पठाउने विषयमा ताइवानसँग पनि सम्झौता गरेकोे छ ।
अर्थतन्त्र पूर्णतया रेमिट्यान्सका भरमा अढ्याइरहेको नेपाल सरकार र वैदेशिक रोजगारका विषयमा नीतिगत निर्णय गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने सम्भावना रहेका इजरायल र ताइवान वा युरोपेली क्षेत्रमा नयाँ श्रम गन्तव्य खोज्नुभन्दा परम्परागत श्रम गन्तव्य मलेसिया र खाडी मुलुकमा कामदार पठाएको संख्या गनेर बेहोसीमा नै रमाइरहेको जस्तो अवस्थामा देखिएको छ ।
भारतले ताइवानसँग सेमिकन्डक्टर उत्पादनका क्षेत्रमा ठूलो संख्यामा कामदार पठाउन सम्झौता गरेको छ । सेमिकन्डक्टर उत्पादनका लागि प्रसिद्ध ताइवानमा हाल ७ लाख विदेशी कामदार रहेका छन् । ताइवानमा हाल भियतनाम, इन्डोनेशिया, फिलिपिन्स र थाइल्याण्डबाट ठूलो संख्यामा विदेशी जाने गरेका छन् । ताइवानले सेमिकन्डक्टरसहित भवन निर्माण र केयर गिभरका क्षेत्रमा विदेशी कामदार प्रयोग गरिरहेको छ ।
ताइवानको श्रम मन्त्रालयका अनुसार पुनर्निर्माण, निर्माण र कृषि क्षेत्रमा विदेशी कामदारको माग उच्च रहेकोे छ । ताइवानमा नेपालबाट भने सीमित संख्यामा सुरक्षागार्डको रोजगारीमा कामदारहरु गएका छन् । भारतले पहिलोपटक पाइलट प्रोजेक्टअन्तर्गत केही कामदार पठाउने र त्यसपछि ठूलो संख्यामा कामदार पठाउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ ।
ताइवानपछि रोजगारीको राम्रो सम्भावना भएको, तर नेपाल कामदार पठाउने विषयमा अलमलिएको क्षेत्र हो इजरायल । गाजा क्षेत्रमा इजरायल–हमासबीच लडाइँ चलिरहेका बेला पनि ठूलो संख्यामा भारतीयहरुले इजरायलमा रोजगारीका लागि आवेदन गरेका छन् । अघिल्लो वर्ष इजरायल र भारतबीच भएको सम्झौताअनुसार ४२ हजार भारतीय इजरायलको निर्माण र नर्सिंङ क्षेत्रमा गएका थिए ।
यसका अतिरिक्त भारतले अर्को युद्धरत मुलुक रुसमा पनि कृषि कामदार पठाउने विषयमा गहन छलफल गरिरहेकोे भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नेपालका म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन पाउनुपर्ने निजी क्षेत्रको माग छ । सरकारीस्तरमा ठूलो संख्यामा कामदार जान नसकेको इजरायलमा निजी क्षेत्रलाई कामदार पठाउने अवसर नदिँदा नेपालीले पाउने सम्भावित रोजगारीका अवसर गुमिरहेको धेरैको टिप्पणी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies