काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो कार्यकालमा दिएका १६ बुँदे निर्देशन कार्यान्वयनमा लैजान सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयले बुधबार सहसचिव गोविन्द प्रसाद रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा उपसचिव मेघनाथ रिमाल र शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हालैका दिनमा वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विशेषगरी पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुनेसम्बन्धी विषय, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बीच ई७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भइ आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषयलगायतका सम्बन्धमा आएका समाचार, कामदारका गुनासा र सरोकारवाला संघसंस्थाबाट उठान भएका सवालहरु सम्बोधन गर्न समिति गठन गरेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीको कार्यकालमा भएका शुल्क वृद्धिसम्बन्धी विषयहरु तत्काल कार्यान्वयन नगर्न एवम् कतिपय विषयहरु विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्न निर्देशन दिएका थिए । समितिलाई २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies