काठमाडौं : वैदेशिक रोजगारका क्रममा मलेसियामा कार्यरत रहँदा मानसिक समस्यामा परेका बझाङको केदारस्यूँ गाउँपालिका – ७ निवासी दिपक बहादुर धामी लामो प्रयासमा नेपाल फर्किएका छन् ।
मान्यता प्राप्त चिकित्सकको प्रेसक्रिप्सन नभएको भन्दै नेपाल एयरलाइन्सले आफ्नो फ्लाइटमा चढाउन नमानेपछि दुई दिनभन्दा बढी समय मलेसियाको क्वालालम्पुर विमानस्थलमा अड्किएका धामीलाई मलेसियास्थित नेपाली दूतावासको पहलपछि हिमालय एयरलाइन्सको उडानमार्फत बुधबार बिहान नेपाल ल्याइएको हो ।
मानसिक समस्यामा परेका धामी नेपालबाट गएको कम्पनी छोडेर काम गर्न गएका कारणले प्रक्रिया मिलाउन नै एक हप्ता लागेको थियो । व्यक्तिगत र गैरसरकारी पहल गर्दा कम्पनीले धामीलाई नेपाल फर्कन नदिएपछि नेपाली दूतावासले नै कम्पनीसँग कुरा गरेपछि मात्रै धामीलाई नेपाल पठाउन कम्पनी सहमत भएको थियो ।
धामीलाई नेपाल फर्काउन शुरुवातमा १५ सय रिंगेट जम्मा गरेका नेपालीले मलेसियामा यताउता गर्दा उक्त रकम सकिएपछि थप १ लाख ८० हजार नेपालबाट मगाएर टिकट लिनुपरेको उद्धारमा सक्रिय समाजसेवी चक्र मल्लले बताएका छन् । मानसिक समस्यामा परेका धामीलाई नेपाल फर्काउन उनलाई पठाउने म्यानपावर कम्पनी लालधनुष इनन्टरनेशनल सर्भिस प्रा.लि., मलेसियास्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, मलेसियास्थित विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाले महत्वपूर्ण सहयोग गरेका छन् ।
त्यस्तै दूतावासका प्रथम सचिव प्रेम बहादुर बुढथापा र बलिराम प्रसाद धामी, टेक बहादुर बुढा, सुदूरपश्चिम मलेसिया तथा साउदी समाजमा आबद्ध सदस्यहरु, प्रवासी नेपाली मञ्च मलेसिया र राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाले उनको उद्धारका लागि विशेष पहल गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies