मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संघीय संसदको बजेट अधिवेशन आगामी २८ वैशाखदेखि आह्वान भएको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानबारे कुनै सहमति नजुटेकाले संसद् बैठक चल्ने संभावना देखिदैन । गएको २१ फागुनमा सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसले संसद् अवरोध गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेमाथि उच्च स्तरीय छानबीन समिति गठनको माग राखेर कांग्रेसले संसद् चल्न दिएको छैन । सुरुमा पदबाट राजीनामाको अडान लिएको कांग्रेसले पछिल्लो समय छानबीन समिति गठनको माग राखिरहेको छ । कांग्रेसको माग बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबीन समिति गठन हुन नसक्ने बताइरहेका छन् ।
प्रचण्ड र ओलीको साथ पाएकाले गृहमन्त्री लामिछाने पनि आफूमाथि छानबीन हुन नसक्ने अडानमा छन् । यसरी कसैले पनि अडान नछोडेकाले वर्तमान सत्ता समीकरणबारे नै कतपयले आशंका गरिरहेका छन् । एमाले नेताहरुले कांग्रेसको अडान राजनीतिक भएको तर्क गरिरहेकाले पनि सत्ताको भविष्यमाथि हुने आशंकालाई बल पुगिरहेको छ । लामिछानेलाई वर्तमान सत्ता समीकरणबाट अलग गर्न सक्दा सरकार बदल्न सकिने कांग्रेसको बुझाइ भएकैले अडान नछोडेको कतिपयले बताइरहेका छन् । तर यसको असर संसदीय कामकार्बाहीमाथि परिरहेको छ । आवश्यक कानूनहरु निर्माण हुन हुन सकेको छैन भने जनताको मुद्दामाथि संसद्मा छलफल हुन सकिरहेको छैन । तर लगातार सत्ता परिवर्तन चाहिँ भइरहेकै छ ।
जबकी मुलुकको समस्या समाधानमा दलहरुबीच एकताबद्ध प्रयास हुनुपर्ने हो । त्यस्ता समस्याहरुमाथि संसद्मै पनि सांसदहरुले प्रभावकारी छलफल गर्नुपर्ने हो । कांग्रेसले अडान लिएको सहकारी र लघुवित्तको समस्यामाथि समेत विश्वासनीय समाधानको खोजी गरिनुपर्ने हो । किनकि सहकारी र लघुवित्त पीडितहरुको समस्या मुलुककै एक महत्वपूर्ण समस्या बनेको छ । यस्तो समस्या समाधानमा सरकार र प्रतिपक्षले एकसाथ प्रयत्न गर्नुपर्ने हो । तर सत्ताबाट अलग भएपछि मात्रै कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई केन्द्र बनाएर माग अगाडि बढाउनु र त्यसलाई सत्तारुढले राजनीतिक निर्णय भन्नुले वास्तविक पीडितले न्याय पाउने आशा कमजोर बनेको छ । सँगै मुलुक फेरि पनि अर्को राजनीतिक अस्थिरतातिर धकेलिने जोखिम बढिरहेको छ । त्यसैले संसद् बैठक बस्नु अगाडि प्रमुख दलहरुबीच साझा सहमतिमा पुग्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies