काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभाको मिति पुनः सारिएको छ । यही वैशाख २८ गते नयाँ नेतृत्व चयन गर्न साधारण सभासहितको निर्वाचन तोकिएकोमा एशोसिएसनले आगामी जेठ ५ गतेका लागि नयाँ मिति तय गरेको महासचिव कमल काफ्लेले जानकारी दिए ।
यसअघि वैशाख १५ गते हुने गरी पहिलोपटक मिति तोकिएको थियो । वैशाख १५ गते इलाम र बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचन हुने भएपछि सो कार्यका लागि मिति वैशाख २८ गते सारिएको थियो ।
वैशाख २८ गते हुने भनिएको निर्वाचनका लागि नेतृत्वका आकांक्षी व्यवसायीहरु आन्तरिकरुपमा तयारीमा लागेका थिए । एशोसिएसनका महासचिव काफ्लेले साधारण सभा भव्यरुपमा सम्पन गर्ने तयारीअनुसार प्रमुख अतिथिका रुपमा आमन्त्रित पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको समय नमिलेका कारणले साधारण सभा र निर्वाचनको मिति सारिएको बताए । महासचिव काफ्लेले जेठ ५ मा तोकिएको मिति कुनैपनि हालतमा नसर्ने दाबी गरे । महासचिव काफ्लेले पार्टीको निर्णयअनुसार नै मिति सारिएको जानकारी दिए ।
एशोसिएसनले बैशाख २८ गते साधारण सभा गर्ने भनेपनि बिहीबारसम्म १ सय ७० व्यवसायीले मात्रै साधारण सभाका लागि सदस्यता नवीकरण गराएका छन् । बिहीबार सदस्यता नवीकरण गर्ने तयारी गरी आएका केही व्यवसायीले साधारण सभा सर्ने सूचना पाएपछि नवीकरण नगराइ फर्केका छन् । एशोसिएसनले आफूलाई वैदेशिक रोजगारका क्षेत्रमा रहेका राजनीतिक दल निकट अन्य चार संगठनभन्दा धेरै सदस्य भएको संगठन रहेको दाबी गर्दै आएको छ ।
एशोसिएसनको दुई वर्षअघिको साधारण सभाका लागि ३ सय २६ व्यवसायीले सदस्यता नवीकरण गराएका थिए । त्यसमध्ये २ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा खसेको २ सय ६७ मतमध्ये अध्यक्ष पदमा विजयी कुमुद खनाललाई १ सय ४९ र निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाएका थिए । अघिल्लो साधारण सभाको तुलनामा यस पटक सदस्यता नवीकरण गर्ने व्यवसायीको संख्या आधाभन्दा कम देखिएको छ ।
एशोसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न निरन्तर आग्रह गरिरहेको छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आबद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन लेखेर इजाजतपत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी वैशाख २३ गतेभित्र बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिइने वर्तमान कार्यसमितिको भनाइ छ ।
एशोसिएसनको विधानमा २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
हालसम्म अध्यक्षका लागि चार जना व्यवसायी आ–आफ्नो क्षेत्रबाट लागिपरेको स्रोतको भनाइ छ । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेको भएपनि अध्यक्षको टुंगो लागेपछि मात्रै उनीहरु खुल्ने योजनामा रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies