काठमाडौं : प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले वैदेशिक रोजगारका क्षेत्रमा विगतदेखि हालसम्म भएका निर्णयहरूबारे छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई बोलाउने बताएका छन् ।
नेपाल मेडिकल व्यवसायी संघको सातौं वार्षिक साधारण सभाको शनिबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट मन्तव्य राख्दै सभापति खानले विगतमा भएका निर्णयले स्वास्थ्य परीक्षणलगायतका क्षेत्रमा सिण्डिकेट खडा गरेको भए त्यसलाई अन्त्य गर्न ती निर्णय परिवर्तन गर्नुपर्ने बताए ।
उनले म्यानपावर कम्पनीले सेवा शुल्क नपाएको अवस्थामा एक महिनाको तलब बराबरको रकम सेवा शुल्कबापत लिन पाउनुपर्ने माग सैद्धान्तिकरुपमा सही भएपनि व्यवहारिक छलफल गर्नुपर्ने भन्दै सरकारले आफैंले वैदेशिक रोजगारीमा कामदार पठाउने काम समाजवाद उन्मुख राज्य व्यवस्थाविरुद्धको नीति भएकाले त्यसमा पनि पुनर्विचार आवश्यक भएको टिप्पणी गरे ।
सभापति खानले मेडिकल फेल भएका कामदारलाई नक्कली पास बनाएर विदेश नपठाउन म्यानपावर कम्पनी र मेडिकल व्यवसायीसँग आग्रह गर्दै वैदेशिक रोजगारमा जाने कामदारले म्यानपावर कम्पनीलाई देउता समान मानेकाले उनीहरूलाई कुनैपनि अवस्थामा धोका नदिन आग्रह गरे ।
कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले वैदेशिक रोजगारका नाममा ठूलाठूला ठगीका घटना देखिएको भन्दै ठगीका घटनामा संलग्न जो कसैलाई अनुसन्धानको दायरामा ल्याउने नीति रहेकाले व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको जिम्मेवारी परीक्षण हुने दिनसम्मका लागि मात्रै हुने भएकाले विदेशबाट फर्केपछि क्षतिपूर्तिका लागि जबरजस्तीरुपमा मेडिकल व्यवसायी र म्यानपावर व्यवसायीले जिम्मेवारी लिनुपर्ने बाध्यता अन्त्य गरिनुपर्ने माग गरे । उनले मेडिकल परीक्षण प्रमाणपत्रको अवधि ३ महिनामात्र रहेकाले समस्या भएको भन्दै उक्त असान्दर्भिक कानूनी व्यवस्था हटाउनुपर्नेमा म्यानपावर व्यवसायी र मेडिकल व्यवसायीले सहकार्य गर्नुपर्ने धारणा राखे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी अभिमुखीकरण महासंघका अध्यक्ष राजाराम गौतमले राज्यको अस्थिर कानूनी व्यवस्थाको शिकार व्यवसायी भइरहेको धारणा राख्दै मुलुकले गणतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेपनि नीतिगत भ्रष्टाचार यथावत् रहेको र त्यसले नवसामन्तहरूलाई जन्माइरहेको दाबी गरे । गौतमले राज्यले तीनखम्बे अर्थतन्त्रको नीति लागू गरेको बताउने, तर वैदेशिक रोजगारमा कामदार पठाउनेदेखि सबै काम सरकारले गर्ने हो भने निजी क्षेत्रले गरेको लगानी डुब्ने अवस्था आएको भन्दै संसदीय समितिले श्रम मन्त्रालयका नीति निर्णयमा हस्तक्षेप गर्नुपर्ने माग गरे ।
मेडिकल संघका सल्लाहकार तारानाथ अर्यालले हचुवाका भरमा फ्रि भिसा र फ्रि टिकटको निर्णय लिएको तर सेवाशुल्क परिमार्जन गर्ने विषयमा नाटकीय शैलीमा व्यवसायीलाई अलमलमा पारेको भन्दै सरकारका गलत नीतिका विरूद्ध यस क्षेत्रमा क्रियाशील सबै पक्ष एक ठाउँमा उभिनुपर्ने बताए ।
संघका अध्यक्ष सिताराम रेग्मीले वैदेशिक रोजगारीमा जाने कामदारको सही र प्रमाणिक स्वास्थ्य परीक्षण प्रदान गर्ने जिम्मेवारी पूरा गरी सामाजिक प्रतिष्ठा बढाउन व्यवसायीलाई आग्रह गरे । उनले पनि मन्त्रालयको अस्थिर निर्णयका कारण व्यवसायीहरूले डेढ करोड खर्च गरेर नयाँ संरचना बनाएपनि काम गर्न नदिएर अन्याय गरेको बताए । वरिष्ठ उपाध्यक्ष विश्व शेरचनले स्वागत मन्तव्य राखेको कार्यक्रम सरोज श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठसहितका अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies