निवेदन परेको एकदिनभित्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल विभाजनको मान्यता दिएको छ । अशोक राई सहित सात जना संघीय सांसदले आइतबार दल विभाजनको निवेदन दिएका थिए । जनता समाजवादी पार्टी (जसपा) मात्र राखेर दिइएको निवेदनबारे एकदिन पनि ढिलाइ नगरी निर्णय हुँदा अशोक राई अध्यक्ष रहेर नयाँ दल खुलेको छ । सोमबार नै राई नेतृत्वको दल गठन भएको जानकारी आयोगले संसद् सचिवालयलाई दिएको छ । दल विभाजन सम्बन्धी कानुनको अभावमा आयोगले नियमावलीलाई आधार मानेर जसपाको विभाजनलाई मान्यता दिएको हो । जबकी कानुनको अभावमा थप अध्ययन गरिनु सामान्य प्रक्रिया हुनुपर्ने हो । तर दल विभाजनबारे राई सहित नेताहरुले गरेको तर्कमै बल पुग्नेगरी आयोगले एकदिनभित्रै निर्णय गरेको छ ।
अर्थात् सत्ता जोगाउन सरकारकै योजनामा जसपा फुटाइएको आशंकालाई बल पुगेको छ । यसले अरु साना दल पनि सुरक्षित नरहेको सन्देश गएको छ । नेकपा एकीकृत समाजवादीले दल विभाजनको खतरा टार्न सोमबार संसदीय दलको बैठक नै राखेको छ । अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएर सांसदहरुसँग एकताबद्ध रहेको रहेको प्रतिबद्धता गराएका छन् । आफ्नै सांसदहरुसँग प्रतिबद्धता गर्नुको पछाडि विभाजनको भय रहेकै पुष्टि हुन्छ । एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता समेत नपाएकाले सांसदहरुसँग आशंका हुनु स्वभाविक पनि हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको सार्वजनिक कलह छताछुल्ल छ । त्यसैले यो दल जोगिनेमा पनि ढुक्क हुने अवस्था छैन । रास्वपा समेत विभाजन हुन सक्ने टिप्प्णी भइरहेको छ ।
यसरी साना दलहरु असुरक्षित हुनुमा ठूला शक्तिहरुको सत्ता सुरक्षित गर्ने अवथा नयाँ समीकरण बनाउने स्वार्थ कारण हो । अहिलेको समीकरण भत्काउने कांग्रेसको योजना अनि जसरी पनि गठबन्धन जोगाउने नेकपा एमाले र माओवादी केन्द्रको स्वार्थले साना दलहरु संकटमा पर्ने देखिएको छ । साना दलहरुभित्र पनि सत्ताको स्वार्थ लुकेको छैन । सरकारमा जाने स्वार्थकै कारण सांसदहरु दल विभाजन गर्न तयार देखिन्छन् । नाउपाकै विवादको पृष्ठभूमिले पनि साना दलहरुभित्र सत्ताको चरम स्वार्थ रहेको पुष्टि हुन्छ । जबकी साना दलहरु पनि राजनीतिक एजेण्डा लिएर आएका हुन् । जनमत प्राप्त हुनुमा पनि उनीहरुको राजनीतिक एजेण्डा कारण हो । तर एजेण्डा बिर्सिएर सत्ता स्वार्थमा लाग्दा उनीहरुको दल नै नबच्ने खतरा बढेर गएको छ । यस्तोमा साना दलहरुले गम्भीर बनेर सोच्नुपर्छ, ठूला दलहरुको स्वार्थबाट जोगिएर अगाडि बढ्नु मुलुक र जनताकै हितमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies