संसद्को गतिरोध हटाएर बजेट ल्याउने तयारीमा सरकार जुटिरहेका बेला सिंहदरबार परिसरमा प्रभावशाली व्यक्तिहरुको भीड देखिन थालेको छ । सांसद, मेयर/उपमेयर, पूर्वमन्त्री, नेता तथा पूर्वप्रशासकहरुको भीड सिंहदरबारका कक्षहरुमा भेटिनु सामान्यजस्तै देखिन्छ । यो बेला प्रभावशाली व्यक्तिहरुको सिंहदरबारमा भीड देखिनु एकप्रकारले वार्षिक क्यालेण्डर नै हो । उनीहरुको उद्देश्य प्रष्ट छ, बजेटमा प्रभाव जमाउने । आफ्नो क्षेत्रमा बजेट पार्न सत्तारुढ नेता र सांसदहरुको उपस्थिति अनौठो होइन । तर प्रतिपक्षमै रहेका नेताहरुको पनि उत्तिकै ठूलो संख्या सिंहदरबार परिसरमा भीड छ । अर्थात् आफ्नो क्षेत्रमा बजेट पार्न यी प्रभावशालीहरुबीच साझा सहमति जस्तै छ । धेरै भन्दा धेरै बजेट आफ्नो क्षेत्रमा पारेको जस लिने र त्यसैको आडमा चुनाव जित्ने प्रचलन पुरानै हो । तसर्थ नेताहरु बजेट माग्न मन्त्रीदेखि प्रशासकहरुको कार्यकक्षमा पुगिरहेका छन् ।
जबकी बजेट निर्माण एउटा प्रक्रियाबाट हुनुपर्ने हो । सरकारको दीर्घकालीन उद्देश्य र तत्कालीन आवश्यकतालाई हेरेर सरकारले बजेट ल्याउनुपर्ने हो । दलहरुले चुनावी घोषणापत्र देखाएर मत पाएकाले बजेट निर्माणको आधार सैद्धान्तिक पृष्ठभूमि हुनुपर्ने हो । तर सत्तामा जोसुकै पुगेपनि बजेटको प्रकृतिमा खासै भिन्नता नहुने अनि आफ्नो क्षेत्रमा बढी बजेट पार्न प्रभावशाली नेताहरुको दौडधुप चल्ने जस्तो असंगति मुलुकले वर्षौदेखि खेप्दै आएको छ । यस्तो प्रचलन संविधानको शासन चल्ने गणतान्त्रिक प्रणालीका निम्ति उपयुक्त होइन । तर पञ्चायतकै बेलाजस्तो व्यक्तिको प्रभावका आधारमा बजेट आउने प्रचार नेताहरुले गरिरहेकाले आफ्नै दलको घोषणापत्र असरल्ल पर्ने गरेको छ ।
यदि सरकार र दलहरुको दीर्घकालीने योजनाका आधारमा बजेट बन्ने हो भने यस्ता समस्या हल हुन सक्थ्यो । तर पहुँजवालाहरुले बजेटमा प्रभाव जमाउँदा शक्तिहीन र कमजोर वर्ग उपेक्षामा पर्दै आएका छन् । जुन क्षेत्र र वर्गका जनतासँग प्रभावशाली नेता छैनन्, त्यस्तो क्षेत्रमा परियोजनाहरु नपर्ने प्रवृत्तिले निरन्तरता पाउँदै आएको छ । शक्तिशाली नेताहरुको क्षेत्रमा बजेट फालाफाल हुने, तर सिंहदरबारसम्म आवाज पु¥याउन नसक्नेहरुले आधारभूत समस्या समाधान गर्न समेत नसक्ने अवस्था हट्न सकेको छैन । सरकार टिकाउन पनि सांसदहरु र ठूला नेताहरुलाई खोजीखोजी प्राथमिकतामा पारिने प्रवृत्तिले समानताबारे संविधानको भावना कार्यान्वयन हुन सकेको छैन । त्यसैले सरकारले बजेटहरुकै समीक्षा गर्न जरुरी छ । सत्ता टिकाउने जगका रुपमा बजेट निर्माण गरिनु मुलुककै निम्ति हितकर छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies