सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारमा नगद भारु २१ हजार राशिसहित स्मृति चिह्न प्रदान गरिनेछ । गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवम् वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु ११ हजार राशिसहित सम्मानपत्र र स्मृति चिह्न प्रदान गरिनेछ । संवाद सञ्जाल परिवार चयन समितिको सिफारिसमा सिन्हालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहेका छन् ।
युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् ।
कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा. सुवेदी प्राज्ञिक चेत भएका व्यक्ति हुन् । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उनको उपस्थिति रहेको छ । अराजकजस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक हुन् । सफल अनुवादकका अलावा उनी कवि, नाटककार र निबन्धलेखक पनि हुन् ।
अंग्रेजी र नेपाली भाषामा बराबर कृतिका लेखक डा. सुवेदीको मूलतः समालोचना मुख्य विधा हो । उनी नेपाली भाषामा पाश्चात्य समालोचनाका नवचिन्तनलाई भित्राउनेमध्ये एक हुन् । यसैले उनलाई नवीन चेतनाको अग्रदूत पनि भनिन्छ । डा. सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउण्ड एण्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्यांकन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् ।
यस्तै उनले अरस्तुको काव्य सिद्धान्तको नेपालीमा अनुवाद गरेका छन् । यस्तै उनले अंग्रेजी भाषामा विभिन्न फुटकर रचनाको अनुवादका अलावा ५१ कविका अंग्रेजीमा 'पोयमस् अफ द सेन्चुरी'को अनुवाद गरेका छन् । यस्तै उनका काठमाडौं ओडेसी, ड्रिम्स काठमाडौं, ड्रिम अफ पिच ब्लुसम्सलगायतका अनुवाद कृतिहरू प्रकाशित छन् ।
अर्का पुरस्कृत वरिष्ठ सर्जक एवम् अनुवादक डा. गोकुल सिन्हा सन् १९४० मा खरसाङ, दार्जीलिङमा जन्मिएका हुन् । कविता, लघुकथा, निबन्धमा कलम चलाउने डा. सिन्हाले बाइबल, गीताको नेपाली भाषामा अनुवाद गरेका छन् भने नेपाली रामायणको पहिलोपटक अंग्रेजी भाषामा अनुवाद गरेका छन् । ।
द रामायणा अफ भानुभक्त (२०१५) उनको प्रकाशित अनुवाद कृति हो । नेपाली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्ने डा. सिन्हाको बिसाइड घलिब (१९८७), टेगोर (१९९७), द कुरान (१९८०, द फर्स्ट एभर इन नेपाल), द बाइबल (२००० र २००२, इन एशोसिएसन विथ द वर्ल्ड बाइबल ट्रान्सलेसन सेन्टर) र गीता (२००८, इन झ्याउरे, अ नेपाली फोल्क मिटर) रहेका छन् । यस्तै उनले अन्य थुप्रै फुटकर रचनाहरूको पनि अनुवाद गरेका छन् । उनका विभिन्न विधाका २५ पुस्तक प्रकाशित रहेका छन् ।
यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत भएका थिए ।
काठमाडौं : स्रष्टाहरु सम्मिलित घुम्ती कवि गोष्ठीको १३०औं शृंखला शनिबार सम्पन्न भएको छ । गोकर्णेश्वर माकलबारी, लाइट एकेडेमीमा सम्पन्न सो कार्यक्रमका पमुख अतिथि गोविन्द घिमिरे एवम् विशेष अतिथि अच्युतप्रसाद पौडेल चिन्तन रहेका थिए ।
घुम्ती कवि गोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठको संयोजनमा सञ्चालित कार्यक्रममा राजन पुडासैनी, त्रिलोचन आचार्यलगायत दर्जनौं कविहरुले देशको समसामयिक विषयमा आ-आफ्नो सिर्जजा मार्फत देशका विषयमा चिन्ता व्यक्त गरे ।
सर्जक अच्युतप्रसाद पौडेल, चिन्तनले देशको सधैंको गाईजात्रा विषयक कविता पस्किएका थिए । हरेक महिनाको दोस्रो शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्तो कार्यक्रम हुने गरेको छ ।
काठमाडौंः नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ ।
राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (कात्र्तिक २४)को सन्दर्भ पारेर उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित चित्रकला तथा वक्तृत्वकला प्रतियोगितामा ईच्छुक विद्यार्थीले नासोको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सक्ने उनले बताए ।
भट्टराईका अनुसार एघारौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालन गरिने यस वर्षको प्रतियोगितामा कुनै दर्ता शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ रहेको उनले जानकारी दिए । सातौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशस् गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पाँचौँ राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने नासोले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु. १० हजार, पाँच हजार र तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष भट्टराईले बताए । दुवै प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने उनको भनाइ थियो । रासस
–कृष्ण अधिकारी
जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर, कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् ।
हाम्रो समाजमा मानिसहरू अनेकांै कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र मनोरञ्जनका खोजीमा भौंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान् श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् । जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् ।
जगतमा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् । अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक पुस्तकमा उतारेका छन् । कुनै भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन । जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडँदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौं । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उनले आफ्नो पुस्तकमा खोतलेका छन् । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ ।
जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अथ्र्याउँदै उनी भन्छन्, “भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।”
पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उनको ठम्याइ छ । वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ ।
यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उनको सुझाव छ ।
वरिष्ठ चिकित्सक डा. अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र रोगबारे सरलरूपमा जानकारी लिन निकै उपयोगी छ । प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ ।
तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई सोही कुराले उनलाई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् । बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उनको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उनी बताउँछन् । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उनको भनाइ छ ।
मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छामेका उनले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाएका छन् । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उनले पुस्तकमा उतारेका छन् । पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् । मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन । जीवनमा के पेसा मात्रै सम्बन्ध हो, करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उनी बताउँछन् ।
आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंँले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही । पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बाैंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ ।
आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंँदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंँदैन । यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंँदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ । परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पु¥याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ ।
डा. अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान र फलोअर्स भएका उनलाई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उनले बुवाको मृत्युपछि उनी जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गरेका छन् र पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उनको योजना छ । पुस्तकको मूल्य एक हजार तोकिएको छ तर, आवरण पृष्ठ बिना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा. ओम फाउन्डेसनको वेबसाइट र उनको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ ।
–दामोदर पौडेल, तनहुँ
पुरोहितको कथा, ॐ तत्सत मःम भैंसी पुजाय नमोनमः भारत वर्षे भरतखण्डे नेपाल देशे कुत्ती मासे सिर मिश्रणमः श्री भैंसी प्रसाद मःमः प्रजा–लोक–गणतन्त्रमा स्वाहा !
ॐ महम् स्वार्थ नमोयनम, मिश्रित भैंसी प्रसाद पिण्ड त्रीपनताम्, त्रिपनताम् ॐ श्री कान्तिपुरीनगर, वागतमत्यादि क्षेत्राधिकार प्रमुख स्थले पेरिस डाँडा कोटेश्वर क्षेत्रै अखेडा अन्तरगत आज्ञाकारी गणराज्यधिश संगठित जमात राज्यम् नामः घोषित माओन्याण्ड नमस्कारः ! इतिश्री च्यासल दरबारः रातो घरका जमघट सदस्य अटाउने राज्य नामः लेनिन प्रान्तयः अथ माक्र्स प्रादेशिक शरणम् ! अथ ललितपुर क्षेत्राधिकारी वि.पि. नामः भवतः कांग्रेसी राज गान्धिवादी जमातम् गणराज्यः गान्धी प्रदेश स्वागत्ः ! ल अब मःम पिण्डो आचमनि (चम्चा)ले मुखमा हालौं र भैंसीको पुच्छरले पुनः आचमन गर्दै, सभ्य अपराभ्य एकै साथ हुँदै, हात जोडेर बोसो मिश्रित घिउ, पाउडर मिश्रित शुद्ध दुध राजखानी हेर्ने र ताक्ने ।
अनि पेरिस डाँडा वादी नामः जिन्दावाद र एक हौं भन्दै नारा लगाउनेले जे गरे पनि राम्रै राम्रो मात्र । अरू सर्वसाधारणहरूले हात जोडेर ॐ शान्ति शान्ति दुष्ट विचार आत्मा गिरिजाओस् भन्दै प्रार्थना गर्ने । भैंसी पुजापछि पनि भैंसी नै हो । शुद्ध भैंसीको मात्र नभई अहिले त कान्तिपुरी नगर निवासी जनले कुत्तीमांसु मिश्रितहं भैंसीको प्रसाद मःमः कान्तिपुरैको मात्र सर्वाधिक भोजन नभई अन्यत्र नेपाल देशास्तर पनि त्यतिकै प्रख्यात छ ।
अझ पनि (भैंसीप्रसाद मःमः) गठबन्धन दल प्रधानं देशं (भैंसी, प्रसाद, मःमः) यस्तो जोड जाडले भैंसी पुजाको भौतिकवादमा महत्व दर्शाउँछ । भैंसी पुजापछि तयार पारिने अनेकौ परिकारहरुमध्ये राजखानी, ह्याकुल्ला, कल्चौडो, अनेकौं गण–अंगहरुको स्वाद आफ्नै ठाउँमा छन् र पनि भैंसी प्रसाद मःमलगायत छोयला, कचला, दायकुला, भुटन, किमा, थलथले आदि इत्यादिको स्वादले पानी बिजुलीको कस्तो ओजनदार क्रान्ति होला ? जस्तै गोर्खाल्याण्ड त्यस्तै गान्धिवादीहरुको राज्य गान्धी प्रदेश, माक्र्सवादी प्रान्त, लेनिन गणराज्यहरू हुुँदा रहेछन् । अर्को, माओवादको छुट्टै मायोल्याण्ड प्रदेश प्रान्त यस्तै भागहरूमा भागवण्डाबाट प्रभावित तालिम प्राप्त भएका हामी त्यही गणराज्यमा शान्तिपूर्वक भजन गाएर दर्शन सिद्धान्तअनुसार आफ्नो परिचय दिन पाउने छौं । यहाँ पनि अरूको नक्कल गरी भैंसी पुजा भइरहेछ ।
आमुल परिवर्तनको बहानामा विभिन्न देशहरूको उदाहरण दिएर ६०१ जना सभासद दुई वर्षलाई ल्याइयो । आज झण्डै आठ वर्ष भईसक्यो जनताले आठ पैसाको पनि राहत पाएको देखिँदैन ? यहाँका प्रतिगामीहरूले गाईको, पुजा गर्दै अहिलेसम्म भैंसीलाई जसरी राज्यशक्ति लगाएर उपेक्षित गरिदिए, त्यो मानव अधिकारको हननभन्दा ठूलो पक्षपात थियो । अब हामी जनताले नै गरिदिएको आमुल परिवर्तन पुनः हामीबाट नै किन शुरू नगर्ने ? आहाल बस्ने भैंसी पाखा लगाई गाईपुजाको परम्परा अहिलेसम्म चलाई आएका थियौं । यसो विचार गर्दा भैंसीमाथि ठूलो अन्याय भइरहेको हामीले बुझ्यौ । त्यसैले अनेक आन्दोलन क्रान्तिहरू गर्दै सधैँ आहालमा नुहाउने भैंसीप्रसाद मःमलाई प्रख्यात बनायौं । यो भैंसीप्रसाद मःममा पनि चिल्लाकारहरूमा सयर गर्ने तथा घरका ढोका, ओछ्यान तथा सोफाहरूमा समेत बस्न पाउने कुत्तीमांस समेत मिसाई कुनै ठाउँहरूमा बिक्री गर्दछन् भनि विविध सञ्चारहरूमा पढ्न हेर्न पाएकै छौं ? त्यही पनि भैंसी प्रसाद मःमबाट अनेक गण खाद्य परिकारले अग्रगमन भएका हुन् जस्तो जनमानसमा परे जस्तो छ । यस्तै हाम्रो दैनिक तन्त्रमन्त्र पुजापाठअनुसार प्रजा–लोक–गण–जन–तन्त्र–मन्त्रले भारत वर्षे नेपाल खण्डेमा अनेक राज्य प्रान्त, देश देशान्तरगतबाट भैंसीप्रसाद मःमलगायतले नै नेपाल खण्डे विविध तन्त्रे चलिरहेकै छ । आजसम्म भैंसीका सन्तानलाई यी सामन्तीहरूले जिउँदो छदाँ दुध, दही, मही, घिउ गाडाको अग्रभागमा पारेर शोषण गरिरहेछन् । मातृत्वबिहीन शिशुदेखि वृद्धासम्मका भैंसीप्रसाद दुधको खुराकले तङ्ग्रीएका छन् । त्यही भैंसीका छोराछोरीले खान पाउनुपर्ने पहिलो अधिकार हरण गरेर भैसी गोठालाहरूले जनताको हालतजस्तै बनाइदिएका छन् ।
अर्कोतर्फ, गाडा (रथ) शक्तिका श्रोत हुन् भने श्रीकृष्णले अर्जुनलाई रथमा राखेर युद्ध मैदानमा भिडाए जस्तै कतै भैंसी गोठालाहरूले पनि हामी जनतालाई पनि युद्ध मैदानको शिक्षा प्रदान गर्न खोजेका त होइनन् ? अर्कोतिर यमराजको बाहन भैंसी कतिसम्मको ताकतदार रहेछ । त्यो त तपाईं हामीलाई २०४६÷०४७ कै अवधि अर्थात् दुई दशक पार हुदाँसम्म प्रजा–लोक गणतन्त्र मन्त्र उच्चारणले गाई पुच्छर समाई वैतरणी पार गरी आएका दलीय शासकहरू हामीले देखेका नै छौ । जसरी सानातिना खोलानाला नदीमा मिसिएपछि तिनको अस्तित्व गुमाउँछन् । त्यस्तै, जस्तो तीन दलीय मिश्रित भैंसीप्रसाद मःम जस्तै भई दुई दशकमा तीन दशक जति दलीय शाखा भएको आवास भएको छ ? दलीय स्वार्थअन्तर्गत नपर्ला र पनि पारिवारिक पृष्ठभूूमि आफ्नै ठाउँमा छन् । गणतान्त्रिक लोकतन्त्रको आडमा अरूलाई छाडेर शान्ति गर्दै, जो अशान्तिको जह छ, उसैले राज्यसत्ताको लागि अशान्ति मच्चाई रहेछन् । पुनः भैंसी गाडाबालाहरू पनि राज्य सत्ताका लागि सिफारिस गर्न पछि परेनन् । जसरी कालो भैंसी जस्तैः शिक्षक आन्दोलन, डाक्टर, बिरामी बेच्ने गरेर बितिरहेछ । अब हामी २१औं शताब्दीको महान क्रान्तिकारी आन्दोलनकर्ता भएका छौं । साथमा विविध हत्यारा, चोरी, डकैतिहरूका लागि वार्ता टोली र छलफल पनि चलिरहेछन् । जनताले हराएका पनि जनप्रतिनिधि हुन पाएका छन् । सत्ताभत्ताको भागवण्डा लगाउँदै बन्द कोठाभित्र आयातित केक पाउरोटी विविध गडेगलेका मिठाईहरू मिश्रित शुद्ध गुदपाकहरूको मिष्ठान्नहरूले ताकदार भएकै छन् । साथमा भैंसीप्रसाद मःम सामेल हुने नै भए यस्तैहरूलाई मिलाउन बन्द खाम मित्र नोटले भरिचुप गराउन खोज्ने जस्ता उच्चस्तरीय षड़यन्त्रको (संयन्त्र) व्यवस्थाहरू पनि सरकारबाट भएकै छन् ।
अहिले महँगी, हत्याहिंसा, अपहरण, फिरौति, त्यसमाथि सरकारी भ्रष्टचार, कमिसन, तस्करी इत्यादिको राजनीति उद्योग सावित भएका छन् । यी सबै भैंसी पुजापछि त्यसैको पुच्छरले शुद्ध शान्ति पारिदिएको छ । अब पूर्णपात्र गर्नलाई राहत वापतको चामल सबैले टपरी भरी राखी बन्द खामभित्र देख्न, हेर्न नमिल्ने गरी राखी संकल्पपछि कान्तिपुरी शहरी क्षेत्राधिकारी यथासक्य नामः गोत्रस्य मःम भैंसीपुजा पूर्ण निमित्तक पूर्ण पात्रोदक, श्री पेरिस, सानेपाम, मदेश बाधी नामः तथा श्री गान्धि प्रदेश अन्य यथायथा शक्ति– वादि राज्य २१औं शताब्दिका शक्ति सम्पन्न जननेता यमः तुभ्य सम्पूर्ण मस्तु...।
– बलराम तिमिल्सिना
इतिहासको रङ्गमञ्चबाट
जुन शानका साथ बिदा हुन्थे राजाहरू
त्यसरी तिमीले बिदा हुन नपाएको साँचो हो काजी !
इतिहासमा
तोपले बिदा गरिएको थियो कैयन राजाहरूलाई
कतिलाई तरबारले पनि बिदा गरिएको थियो
कतिले फाँसीको
र कतिले जेलको उपाहार पाएका थिए ।
शानले बिदा गर्दा
बिदा हुनेलाई पनि मजा आउँथ्यो
बिदा गर्नेलाई अझ मजा आउँथ्यो
तर हाम्रो बिदाई
त्यति मजाको नभएकै हो काजी !
तिमीलाई पनि लाग्यो होला
यो बिदाई हो कि ख्याल ख्याल हो
हामीलाई झन् लागेको हो उतिखेरै
यो बिदाई गरेको हो कि ठट्टा गरेको हो !
संसारमा जसरी बिदा भएका थिए राजाहरू
त्यसरी बिदाई हुन नपाएकोमा
निकै दुःखेसो छ होला है काजी ?
तिमी भन्दै छौ रे–
“त्यस्तो नाथे पनि बिदाई हुन्छ ?
म बिदाई भएकै छैन !
बिदाई त जारको जस्तो पो हुन्छ
बिदाई त लुई सोह्रौंको जस्तो पो हुन्छ
बिदाई त चाउचेस्कुको जस्तो पो हुन्छ
मेरो बिदाई त खै कस्तो खाले बिदाई !”
तिमीले भनेको ठीकै हो काजी
तिम्रो बिदाई त्यस्तै त्यस्तै भयो
न रगत बग्यो
न नगरा बज्यो
न तोप पड्कियो
न तरवार चम्कियो
न सडकमा हर्ष वडाइँ भयो
त्यस्तो केही पनि भएन ।
अब के गर्छौ त काजी
शानसँग बिदा हुन रहर लागेकै हो त ?
तिमी आउन सक्छौ भने आऊ
हामी तिम्रो बिदाईको तयारी गरिराख्छौं ।
केही गरी आयौ भने
हामी बाचा गर्छौं
अब कुनै गुनासो रहन दिने छैनौं
संसारभरिका बिदाईहरूका
सबै किर्तिमानहरू तोड्ने गरी
हामी अविस्मरणीय बिदाइ गर्ने छौं ।
काठमाडौंः राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो ।
त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको थियो ।
वरिष्ठ पत्रकार रिसालले आफनो दीर्घ जीवनको रहस्य सुनाउँदै कर्तव्य पूरा गर्ने, भोलिको चिन्ता नगर्ने र नढाँट्ने विषयले आफूलाई समाजमा परिचित गराएको बताए । छ्यानब्बे वर्षीय रिसालले भने, ‘समाजमा ढाँट्न हुन्न भन्ने मान्यता राखिन्छ, तर राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? पनाती पुस्तासम्म देखेको छु, अहिले पनि मेरो जीवन राम्रो छ ।’
उनले देशको विकास होस्, सबै नेपालीले मिठो मसिनो जे जुट्छ खान पाओस, भोको पेट बस्न नपरोस, राजनीतिमा लागेका नेताले कसैलाई पनि नढाँटुन भन्ने आफूले कामना गरेको बताए ।
अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा जेष्ठ नागरिकमध्ये पत्रकार रिसाल बौद्धिक, सक्रिय र प्रेरणादायी भएकाले भेटेर छलफल गर्न, अनुभव सुन्न र जानकारी हासिल गर्न तथा आर्शिवाद प्राप्त गर्न आएको जानकारी गराए ।
पत्रकार रिसालले अब आफ्नो जन्म दिवसमा पुस्तक प्रकाशन गर्ने भन्दा बाहेक अरु इच्छा नरहेको बताउँदै जनचाहनाअनुरुप देश विकासको पथमा नहिँडेकाले ओहदामा बस्नेलाई मुलुकको हितमा काम गर्न सुझाव दिए ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपाल देश र नेपालीको पहिचानको बोध विश्वभर चिनाउने अभियानमा आयोगले काम गरिरहेको छ । विद्यालयका पाठ्यक्रममा नेपाल देखिने शिक्षा प्रवर्द्धन गर्न र संस्कारयुक्त नागरिक तयार गर्नुपर्छ भन्ने मान्यतालाई दृढताका साथ अघि बढाइरहेको छ ।’
आयोगले ज्येष्ठ नागरिक, कर्णाली, पीछडिएको क्षेत्र, विभिन्न जातजातीलगायत १० वटा क्षेत्रमा कार्यविभाजन गरी काम गर्दै आएको छ । टोलीमा आयोगका सदस्यहरु विष्णुमाया ओझा, हरिदत्त जोशी, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री थिए ।
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।
राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आइतबार शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गरेका हुन् ।
राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु. १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उनको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसअघि उनले विसं २०३४ मा मदन पुरस्कार प्राप्त गरेका थिए । प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताए । उनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत एवं पुरस्कार छनोट समितिका सदस्य प्राडा जयराज आचार्यले पुरस्कारको आधार बनाएर पुरस्कार छनोट गरिएको बताए । उनले राष्ट्रकवि पुरस्कार ज्येष्ठ, उत्कृष्ट र वरिष्ठताका आधारमा प्राडा त्रिपाठीलाई प्रदान गरिएको उल्लेख गरे ।
प्रतिष्ठानका अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक विजयराज न्यौपानेले नेपाली भाषा, कला, समालोचना, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनको योगदानका आधारमा पुरस्कार वितरण गरिएको बताए । उनले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रकविको मूर्ति स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गरे । पुरस्कार छनोट समितिमा अध्यक्ष न्यौपाने, विज्ञ आचार्यसहित पुरस्कारदाताका तर्फबाट डा. हेमाङ्गराज अधिकारी सदस्य थिए ।
राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकविलाई साहित्यमार्फत चिरकालसम्म सम्झनका लागि अक्षयकोष स्थापना गरेर पुरस्कार घोषणा गरिएको बताए । उनले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिने उल्लेख गरे ।
सो अवसरमा साहित्यकार विजयराज न्यौपानेद्वारा लिखित बाल साहित्यकार स्व. एकाराम सिंहको जीवनी समेटिएको पुस्तक लेखक न्यौपानेले राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए ।
–धनराज गिरी
हरेक दिन कामबाट निवृत्त भएपछि भोलाराम सागरको तटमा घुम्न आउने गर्छ । आज पनि आयो । समुद्रको लहरको लीला उसलाई रमाइलो लाग्छ । अनन्तसम्म पानी पानी, सागरको जिन्दगी । नेपालमा सबै कुरा पाइन्छ तर, सागरसित साक्षात्कार हुन विदेशिनु पर्छ । भोलाराम दलित समुदायको सन्तान हो । विगतमा उसले अनेक उत्पीडनहरु भोग्यो । उसको कहानी अझै लेखिएको छैन । पढाइ त उसको पर्याप्त हो, तर टेक्ने खुड्किलो, नसमाउने हाँगो, ऊ विवश भएर छापामार बन्यो । आफ्नै अतीत सम्झिएर सागरको लहरसित खेलिरहेको थियो, अचानक उसको सामुन्नेमा एउटा पात्र आयो । आँखा चार भए, बोल्न सकेन । पाको पात्रले पनि मुख खोलेनन् । हेरे, गए ।
“हेर्दा नेपाली जस्तै, तेजिलो आँखा, को होलान् यी बूढा ?” उसको मनले भन्यो । “मैले पनि त बोल्ने हिम्मत गरिन नि” स्वसंवाद । दिनहरु बित्दै गए । भोलारामको मित्र बनेको थियो अमृतकुमार आलोक, सहयोगी, बिन्दास र कपिल कमेडी प्रेमी । “यार, अमृत, आज एकजना पाका भेट भए सागरतटमा, कति आकर्षक व्यक्तित्व । बोल्नै सकिन । भारतीय नागरिकजस्ता पनि देखिने । मलाई पुर्लुक्क हेरे । कस्तो सम्मोहन हेराइमा, आचार्य रजनीश जस्तै ।”
केही बोलेन अमृत । केही अनुमान गर्यो । अनुहारमा चमक आयो । “अमृत, तिमीले विदुषी व्यन्जना शर्माको “कैदी नम्बर ५१” लेख, समीक्षा पढेको हो ?” कुरा अन्तै लग्यो भोलरामले ।
“मलाई बाले पढ्न भनेर हिजै पढेको हुँ । उहाँको कुनै पनि लेख छोड्दिन । घराना नै सर्जक । एउटा चमत्कार, उही मुम्बईको ‘आर के प्रोडक्शन’”, अमृतले आफ्नो जानकारी राख्यो । “यस्तै हो, धेरै हिँडे कमरेडहरु कतै पनि पुगेनन् । गुमराह भए, गुमराह बनाए ।” दिक्क भएर बोल्यो भोलाराम ।
“यार, भोला, तिमी किन छापामार भयौं त ? कहानी त पक्कै होला ।” अमृतले साथीको चासो लियो ।
“मलाई नसोध कहाँ दुख्छ घाउ, साथी मान्छेले कलम रहरले समाउने हो, बन्दुक होइन । प्रेम रहर हो, आवश्यकता हो, घृणा होइन । अपवादलाई छोडेर, पराईको आँगनमा आउनु पनि रहर होइन, प्रतिक्रिया हो । मेरो अतीत सुनाउन लायक छैन साथी, छैन, छैन । खाटा बसेको घाउ, नकोट्याऊ !” गहभरि दह बनाएर बोल्यो भोलाराम ।
“डियर कमरेड, हाम्रो परिवारले पनि छापामारहरुको संगत गरेको छ । उनीहरुको आँखा पढेको छ । बाटो सही थिएन । हाम्रो बा त लेखक पनि, कमरेड बिस्फोट, उहाँका राता फूलहरु साथीहरुले दिएको नाम । म ‘तथा कथित’ भन्दिन, तर, दुई कामको पक्षमा वकालत गर्न सकिएन, बाले पनि मैले पनि । अन्याय छ समाजमा । तर प्रतिकार गर्ने तरिकाहरु अनेक छन् । कलमले नै परास्त गर्न सकिन्छ । हाम्रो बाले गर्नुभयो ।”
“अमृत, जे भयो, भयो, बरु म तिम्रो बालाई भेट्न चाहान्छु । उहाँसित भन्छु अतीत ।” भोलाराम इच्छुक भयो अमृतको जन्मदासित भेट हुन ।
आज बिदाको दिन । अगस्ट २४, नेपालमा भाद्र ८ गते, आज पनि सागरको टटमा आएको छ भोलाराम । एक्लै छ । अरे, उनै पाका । लखर लखर आए भिडिओ बनाउँदै, हिन्दी गीत गाउँदै, “तेरे प्यार की तमन्ना...” आज पनि बोल्न सकेन । पाका मान्छेले हेरे मात्र । गीत गाउँदै अघि बढे । एउटी भारतीय युवती आकर्षित भइन् । कुरा गरे । सेल्फी लिए । युवतीको अनुरोधमा तीनवटा रोमान्टिक गीत गाएर बाटो लागे ।
“हैट, बुुढा त यो उमेरमा पनि देवानन्द ।” भोलारामको मनले भन्यो ।
“भोलि त अमृतको घरमा जानु छ । उसको पिताश्रीको जन्म दिन । लेखक रे, बुढा ! उपहार त जायज हुन्छ, साथीको बा, मैले पनि माया पाउन सक्छु । आफू त टुहुरो ?” भोलारामको मनमा कुरा खेल्यो । अविवाहित भोलाराम एक्लै बस्थ्यो । एडिलेड आएको सात वर्ष भयो । पीआर पाइसकेको छ ।
आयो भाद्र ९, अर्थात् अगस्ट २५, भोलारामले एउटा गज्जबको प्याक बनायो उपहारको । उपहार थियो ‘ब्ल्याक लेवल’ थाहा पाएको थियो साथीको पिताश्री अलि अलि लिन्छन् । साँझ ८ बजे पुग्यो भोला । “वेलकम भोलाजी” गेटमा कमल सुवेदी, उसको पहिलो साथी । “साथी, आऊ” अमृत पनि आयो । अमृतका छोरीहरु सभ्यता र शिष्टता साथमा कमल सुवेदीका छोरीहरु पूजा र आराधना । महिलाहरु पकाउन व्यस्त । अमृतको पिता आफ्नै कोठामा ल्यापटपमा व्यस्त । “बाको काम छैन । उही सामाजिक सन्जाल हो । कथा लेख्दै हुनुहुन्छ ।” अमृतले खुलासा दियो ।
“म त अंकलको दर्शन गर्न आतुर, अन्टीको पनि दर्शन गरौं ।”
“आमा, यता आउनुहोस्, मेरो साथी, घर स्याङ्जा हो, ज्याग्दिखोला, चापाकोट नजिकै ।” आइन् गौरी, अमृतकी माता । भोलारामले नमस्कार गर्यो । “ए, बाबु त, आज बल्ल माइती देख्न पाइयो । साँखर थाहा छ नि ?”
“म मामा घर बसेर पढेकै पटेसारमा हो आमा, हरिश्चन्द्र ढकाल मेरा गुरु । हर्कबहादुर विश्वकर्मा मेरो मामा ।”
“आम्मै, जम्मै हाम्रै गाउँले । हर्के त मेरो मीत दाजु, उहाँकै बैनी चमेली मेरो मितिनी, साइना ।”
“हे भगवान्, म चमेलीकै कान्छो छोरा, आमा, चरण छुन्छु ।” दृश्य चलचत्रे भयो ।
“लौ अमृत, हामी त अब आफन्त नै, कस्तो सन्जोग” बढी भावुक भयो अमृत । सबैका आँखा रसाए ।
“होइन, यहाँ त मेरो कथालाई पुग्ने कच्चा पदार्थहरु उत्पादन भएजस्तो छ । खोइ हाम्रो मीत छोरा ।” हलमा प्रोफेसर अजेयनारायण गोस्वामीको प्रवेश । भोलाराम तर्सियो । हेरिरह्यो प्रोफेसरको अनुहार । बोल्न सकेन ।
“अरे भोलाराम, सागर किनारे, तिमी पो, लौ हेर, पहिल्यै गफ गर्न हुन्थ्यो नि, वेलकम माई सन !” अंकमाल गर्यो प्रोफेसरले ।
“प्रणाम मित बा” हातमा ढोग्यो । “आयुष्मान भव वत्स !” आशीर्वाद दियो ।
“पिताश्री, यो सानो उपहार” प्याकेज हातमा राखिदियो ।
“मुझे दुनियाँ वालो शराबी न समझो...” गुन्गुनायो ।
प्रोफेसरले केही जोकहरु सुनाएर वातावरण हल्का बनायो । “ह्याप्पी बर्थ डे टु यू” हल गुन्जियो । केक काटियो । अमृतकी प्रिया सन्तोषीले गीत गाइन् । भुराहरु नाचे । खाना खाएपछि, “भोलराम, अमृतबाट थाहा पाएँ तिम्रो पूर्व छापामार हौ भन्ने कुरा । तिमीलाई असजिलो लाग्दैन भने आफ्नो अतीत सुनाउन सक्छौं । म यसलाई मेरो आख्यानमा समायोजन गर्नेछु । तिम्रो खुसी ।”
तीन बोतल बियरको प्रभाव । भोलाराम अब निर्भय भएको थियो । कमल र अमृत पनि नजिक आए । सन्तोषी, मिना र गौरीले पनि ध्यान दिए । भोलाराम गम्भीर मुद्रामा !
“बैनी सुन्तली अति राम्री । गाउँमा रोज्जा । दलित भनेर अरु कुरामा बर्जित गरे पनि तागाधारी, धनीहरुले दलितका राम्री हुर्केका छोरीहरूलाई... सुन्तलीको लाश ज्याग्दी खोलामा । “दाइ मलाई मुखिया बाजेको छोराले....” बैनीले मलाई भनेकी थिई । हामीले चौकीमा उजुरी गर्यौं । सबै बिके । गाउँका टाठाबाठाहरु मौन । बाले कालीमा हाम फाल्नुभयो । दाइ उहिल्यै मुग्लान पसेको, फर्किएन । दिदीको पनि अत्तोपत्तो थिएन, भिनाजु मुम्बई, उतै लिएर गए । आमाले पासो लगाएर संसारबाट मुक्त हुनुभयो । म एक्लो, अब के गर्ने ? पिताश्री, हजुर भए के गर्नुहुन्थ्यो ?”
“माओवादी बन्ने थिएँ ।” गम्भीर आवाजमा, फिल्मी शैलीमा बोल्यो प्रोफेसर ।
“गुरुदेव, हजुरले भन्नुभएको ठीक हो, अति भएपछि मान्छेले उठाउने हतियार मतियार होइन, तर पैसाले अदालत किनेपछि, न्याय पनि बिकाउ माल भएपछि, पीडितको एक मात्र विकल्प बन्दुक हुनेरहेछ ।”
अमृतले पनि आफ्नो राय राख्यो । “त्यसपछि ?” प्रोफेसरको मन व्यग्र भयो ।
“मुखियाको छोरो भाग्यो, राजधानी । म जंगल पसेँ । पाँच वर्षमा हतियार चलाउन पोख्त भएँ । अनि दशैंमा घर आएको कुरा सुराकीमार्फत् थाहा पाएँ । अष्टमीको रात, त्यो बलात्कारीको बलि चढाएँ दुर्गामाताको चरणमा । त्यसपछि हतियार बिसाएर यता लागेँ । म हत्यारा हुँ त पिताश्री ?”
सबैको अनुहार अति गम्भीर । “छोरा भोलाराम, सम्भावमि युगे युगे यही हो । अक्षम्य अपराधहरुको सजाय मृत्युदण्ड नै हो । तिमी महाभारतको पाँच पाण्डव जत्तिकै निर्दोष छौ । तर, विशेष अवस्थामा बाहेक म कहिल्यै पनि हत्याको पक्षमा बोल्न सक्दिन । तिम्रो मुद्दा अपवाद हो । संसारको कुनै पनि अदालतलाई त्यो अधिकार छैन जसले तिमीलाई सजाय तोकोस् । मेरो हृदयको अदालतले तिमीलाई बाइज्जत बरी गर्यो । छोरा, ‘म हत्यारा हुँ’ भन्ने बोझ मनमा नलिनू !”
“ल बा, आजलाई यो गम्भीरपुराण बन्द गर्ने । जन्ती जान निस्किएका मान्छे मलामी जान विवश भएजस्तै भयो । भाइ भोलाराम, आजसम्म बाका मितेरी साइनो भएका आफन्तहरु मात्र जीवनमा आएका थिए । आमाको कमाइ हौ तिमी । बा, बरु एउटी बुहारी खोज्न पर्यो ।” अमृतको प्रस्ताव ।
“ए बूढा, हजुरकी चेलीको छोरी कुमारी भन्ने सुनेकी थिएँ । मेरो कान्छो छोराको कल्याण गर्नुहोस् त । नेपालमा कति जोडी मिलाउनुभयो । लौ त ।” गौरी बोलिन्, तीन प्याग वाइनको असर ।
“पख, पख” प्रोफेसरले तुरुन्त भिडियो कल गर्यो ।
“सर, नमस्कार !”
नारी स्वर, “सायमा, एउटा नयाँ प्रस्ताव लिएर आएको” सबै कुरा सुनायो प्रोफेसरले ।
“आहा गुरुदेव, हजुर मेरो अभिभावक, हुन्छ । अर्को महिना म पनि एलिलेड आउने छु । मार्ग महिना ।”
“भोलाराम, हाम्रो बाले धेरै चेलाचेलीको कल्याण गर्नु भएको छ । आजको दिन साइत पनि राम्रो । तिमी कान्छो भाइ हाम्रो । दिदीहरु पीयूषा र सुधा मार्ग १ गते यता आउने । बाको जन्म दिनमा कुरा मिल्यो । ठूली दिदी पीयूषाको जन्म दिनमा मंसिर ९ गते, तिम्रो गठबन्धन सरकार । बा, बरु हुनेवाली बुहारीको तस्वीर पत्ता लगाउनुहोस् ।”
अमृत खुसी भयो । “म अब टुहुरो भइन् । पिताश्री, हजुरको माया पाइरहूँ ।”
सायमासित सम्पर्क गरेर उनकी सुपुत्रीको तस्वीर मगायो प्रोफेसरले । सुन्दरी, नाम ‘शायरा अधिकारी’ वर्ष २६, यता भोलाराम ३१ ।
“अब एक पटक शायराको पनि राय बुझ्नुपर्छ । पहिले नै कोही छ कि जीवनमा ?” कमल सुवेदीको राय, मीनाको समर्थन ।
“हो त नि दाइ, सबै मीना दिदी र म जस्तै सोझी कहाँ हुन्छन् त ! होइन त बाबा ?”
सन्तोषी पनि पार्टीमा प्रवेश । “कुरा सही, हाम्री लक्ष्मीजस्ती बुहारी, अझ छोरी र सीताजस्ती सासूआमाको कुरा जहिले पनि सही हुन्छ । सौभाग्यवती भव सुपुत्री !” प्रोफेसरले बुहारीलाई घुस खुवायो, गौरी पनि मख्ख ।
“बा, आज त हाम्री आमा पनि मख्ख नि !” १२ बजेछ । सबैले बिदा लिए । अर्को दिन शायरा अधिकारी र भोलारामको भेट गरायो अमृतले । प्रोफेसरले सहजकर्ताको काम गर्यो ।
“हजुर प्रोफेसर जगमोहन आजादको मितज्यू होइन ?” शायराको जिज्ञाशा ।
“आम्मै, हो त, चिन्छ्यौ मेरो मीतलाई ?”
“उहाँले नै हजुरको बारेमा भन्नुभएको थियो । आमासित पनि कुरा भयो । भोलारामजीलाई मेरो साथ स्वीकार्य छ भने हजुरजस्तो अभिभावकले ल्याएको प्रस्ताव स्वीकार्नु मेरो कर्तव्य हो । पढाइ र काम यसले गर्दा यो फूलको जीवनमा कुनै पनि भमराको आगमन भएको छैन । अनुहार हेर्दा भोलाजी पनि भोला नै लाग्यो ।”
आज मार्ग ९ गते । क्यानडाबाट पीयूषा र सुधाका जम्बो टोली नै आए । कमल सुवेदीले पुरेतको काम गर्यो । यता पीयुषाको जन्म दिन, उता “शायरा र भोलाको” गठबन्धन । समाचार भाइरल भयो । बलराम तिमिल्सिना, प्रेम रिमाल र सतिसाल कृष्ण विश्वकर्माले प्रोफेसरलाई विशेष धन्यवाद दिए ।
“पुत्र भोला, जीवनमा माया, प्रेम र सद्भावभन्दा ठलो कुरा केही हुन्न । आज तिम्रो मित बा सारै खुसीूछ । आफूलाई टुहुरो नठान्नू ।”
“पिताश्री !”
मज्जाले रोयो भोलाराम । सबैले बधाई दिए ।
–कुञ्ज देवी उपाध्याय
समयले कसैलाई पनि झटारो हान्न सक्छ । पत्नी मरेको क्रिया कर्म हुँदै थियो । छोरो बालखै हुनाले जेठाजुले किरिया गर्नुपर्ने । पाँच दिनको गरूण पुराणमा सबै बसी रहेका बेला आमा छोरा अर्को बिहे गर्ने सल्लाह गर्दै थिए । सुनेर अचम्म लाग्यो ।
“छि : कस्तो सोच हजुरहरुको ! मरेको काम पनि सिद्धिएको छैन । मृतकको आत्माले शान्ति कताबाट पाउला ?”
“धेर जान्ने हुनु पर्दैन । हामी जान्दछौ हाम्रो घरको कुरा ।”
उनीहरूको सोच र व्यवहारमा म निकै खिन्न भएँ । काम सकेर केही दिन पछि म त्यहाँबाट आफ्नो कर्मक्षेत्र तर्फ लागेँ ।
वर्षदिन नपुग्दै दोस्रो विवाह गरे । डेढ वर्षभित्र एउटी छोरी उपहार दिएर त्यसलाई लखेटेछन् ।
फेरी ढाँटी छलि अर्कि बिहे गरे । त्यसको छोरो भयो । अति नै रमाए । घरका कुरा सबै खोलेर अरूको बदनाम सुनाउने गर्थे आमा छोरा । तिनीहरूलाई राम्रो चिन्न लागि उसले । दुई वर्षपछि अर्को छोरो छोरै मात्रै संसार हो भन्ने उसका पति उसको जायज नाजायज सबै अभाव पूूरा गर्न थाले ।
अनपढ हुनाले ऊ उनीहरूको मायाको अपप्रयोग गर्न लागि । दिनदिनै जताततै घुम्न हिँड्ने र जेसुकै खाने भएपछि घरमा दिनरात झगडा हुन्छ । ऊ न पतिको कुरो सुन्छे न सासूको ।
रक्सी धोकेर पर पुरूषको सम्पर्क गर्न पनि उसलाई कुनै हिचकिचाहट हुन छोड्यो । नारीको गहना भनेर चिनिने सिन्दुर निकालेर आँगनमा फ्याक्ने, छोरो पिट्ने उसको नित्य घटना भयो ।
गाउँका मान्छेहरू पाप यसरी नै कराउँछ भन्दै केही बोलेनन् ।
परिस्थिति सम्हाल्न नसकेर दिनदिनै कुटपिट गर्दा गर्दै सासू एक्लै बसेर खान्छु भन्दै छुट्टै खान लागिन् । पहिलो विहे गरेकी बुहारीका छोरा छोरी साथमा लिएर उनी आफैँ पकाएर खानु पर्ने भयो ।
त्यतिबेला पहिलो बुहारीको गुण गाउने अवसर मिल्यो तर, ढिलो भयो । समयमै खुट्टा भए जुत्ता पाइन्छ नभनेर उचित चिकित्सा गरेको भए सायद आज यो दिन देख्न पर्ने थिएन होला ।
विचरा पति, मरे के हुन्छ नदीमा फ्याँकी दिन्छु भन्दै पत्नीको अपमान गर्थे, आज कान्छी स्वास्नीको रातदिनको अपमान सहन लाचार छन् । न छोड्न सक्छन्, न साथ निभाउन । कुमालेको चक्र झैं घुमिरहने मान्छेको जीवनमा आज तै जेठीको छोराको सहारा खोज्दै त्यसकै आशामा बसेका हुन्छन् ।
जिन्दगीको उतार चढाब सबैको जीवनमा आउँछ । तर मेरा छोरा छोरी छन्, मेरो यत्रो सम्पत्ति छ भनेर घमण्ड गर्नु बेकारको कुरा हो । समय बलवान छ । त्यसैले त उखान छ, “तिन स्वास्नीको पोइ कुना कुना पसेर रोइ...!”
मृतकको आत्मा परै बसेर हेरिरहेको थियो पति र सासूको बेहाल ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies