– बलराम तिमिल्सिना
इतिहासको रङ्गमञ्चबाट
जुन शानका साथ बिदा हुन्थे राजाहरू
त्यसरी तिमीले बिदा हुन नपाएको साँचो हो काजी !
इतिहासमा
तोपले बिदा गरिएको थियो कैयन राजाहरूलाई
कतिलाई तरबारले पनि बिदा गरिएको थियो
कतिले फाँसीको
र कतिले जेलको उपाहार पाएका थिए ।
शानले बिदा गर्दा
बिदा हुनेलाई पनि मजा आउँथ्यो
बिदा गर्नेलाई अझ मजा आउँथ्यो
तर हाम्रो बिदाई
त्यति मजाको नभएकै हो काजी !
तिमीलाई पनि लाग्यो होला
यो बिदाई हो कि ख्याल ख्याल हो
हामीलाई झन् लागेको हो उतिखेरै
यो बिदाई गरेको हो कि ठट्टा गरेको हो !
संसारमा जसरी बिदा भएका थिए राजाहरू
त्यसरी बिदाई हुन नपाएकोमा
निकै दुःखेसो छ होला है काजी ?
तिमी भन्दै छौ रे–
“त्यस्तो नाथे पनि बिदाई हुन्छ ?
म बिदाई भएकै छैन !
बिदाई त जारको जस्तो पो हुन्छ
बिदाई त लुई सोह्रौंको जस्तो पो हुन्छ
बिदाई त चाउचेस्कुको जस्तो पो हुन्छ
मेरो बिदाई त खै कस्तो खाले बिदाई !”
तिमीले भनेको ठीकै हो काजी
तिम्रो बिदाई त्यस्तै त्यस्तै भयो
न रगत बग्यो
न नगरा बज्यो
न तोप पड्कियो
न तरवार चम्कियो
न सडकमा हर्ष वडाइँ भयो
त्यस्तो केही पनि भएन ।
अब के गर्छौ त काजी
शानसँग बिदा हुन रहर लागेकै हो त ?
तिमी आउन सक्छौ भने आऊ
हामी तिम्रो बिदाईको तयारी गरिराख्छौं ।
केही गरी आयौ भने
हामी बाचा गर्छौं
अब कुनै गुनासो रहन दिने छैनौं
संसारभरिका बिदाईहरूका
सबै किर्तिमानहरू तोड्ने गरी
हामी अविस्मरणीय बिदाइ गर्ने छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies