तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : रोजगारीका लागि कतार पुगेका ६ सय भन्दा नेपाली कामदार बिचल्लीमा परेका छन् । एक कम्पनीले तलब सुविधा नदिएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
ती कम्पनीमा साढे दुई वर्षदेखि करिब २ दशकसम्म काम गरेका कामदारहरु छन् । ‘कम्पनीका ४ वटा साइड चलेका थिए । तर तलब पनि आएन, साइटमा काम गर्ने सामग्री पनि छैन’ एक पीडितले मध्यान्ह दैनिकसँग भने ।
तीनदेखि पाँच महिनासम्मको तलब आउन बाँकी रहेका ती कामदारले बताए । उनका अनुसार, तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम समेत हुन सकेको छैन । त्यो कम्पनीमा नेपाली सहित झण्डै १५०० कामदार रहेको अनुमान छ ।
कामदारहरूले यस्तो जानकारी दिएपछि स्थानीय प्रहरीले कम्पनीका अधिकारीहरुसँग दुई पटक कुरा गरिसकेका छन् । दुवै पटक तलब दिने समयावधि दिइएको थियो । तर पछिल्लोपटक बिहीबारसम्म तलब दिने भनिएको सहमति समेत कार्यान्वयन हुन नसकेको अर्का एक कामदारले बताए ।
“हामीले कुनै समय राम्रो कमाई ग¥यौ, आज मागेर खान पर्ने दिन आए’, उनले भने । अलपत्र परेका नेपाली कामदारहरुबारे गैरआवासिय नेपाली सङ्घ (एनआरएनए) कतार तथा श्रमिक विभाग सहयोगमा जुटेको छ । सङ्घका कार्यवाहक अध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले आफूले सूचना पाएदेखि नै हरेक पल श्रमिकको सम्पर्कमा रहेर सक्दो सहयोग गरिरहेको बताए । खानाका समस्या परेका ६१५ श्रमिकका लागि एनसीसीले खानाको व्यवस्था गर्दै आइरेहको बताए ।
श्रमिकका पीडा कतारको सरकारी निकायका अधिकारी समक्ष पुगेको छ । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानी तथा मन्त्रालयका अन्य अधिकृतहरूको उपस्थितिमा १८ देशका कम्युनिटी लिडर सहभागी महत्वपूर्ण बैठकमा पन्थीले उपसचिव समक्ष नेपाली श्रमिकले पछिल्ला दिनमा भोगी रहेका समस्याबारे जानकारी गराएका थिए ।
पन्थीका कुरा सुनेपछि उपसचिव थानिले यथाशक्य खानाको व्यवस्था गर्ने र कम्पनीसँग परामर्श गरी तलब भुक्तानीका लागी पहल गर्ने प्रतिबद्दता जनाए बमोजिम श्रमिकलाई कतार सरकारले खाना पानीको व्यवस्था गरेको छ । सरकारको तदारुकताका लागी एनसीसी कतारले आभार व्यक्त गरेको छ । कतारमा कोही नेपाली समस्यामा परेमा एनसिसि वा आफूलाई सम्पर्क गर्न समेत पन्थीले आग्रह गरेका छन् ।
श्रमिकहरू आफ्ना समस्या बोकेर नेपाली राजदुतवासमा समेत पुगेका थिए । दूतावासका कर्मचारीहरूले आवश्यक अभिलेख राखी नियमित रूपमा श्रमिकको सम्पर्कमा रहेको दूतावासका एक अधिकारीले बताए ।
उनका अनुसार कानुनी रूपमा लडाई लड्न दूतावास श्रमिकको पक्षमा रहेको र पीडितको खाना लगायत समस्याका लागि एनसीसीसँग आवश्यक समन्वय गरी रहेको उनको भनाइ थियो ।
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी संघ र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।
विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुँदा अधिकांश भोकै विमानस्थल पुग्ने गरेका हुन्छन् ।
विभागका महानिर्देशक डुण्डुराज घिमिरले घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो पटक–पटक आउन थालेपछि विभागले सम्बन्धित सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको बताए । महानिर्देशक घिमिरेले बजेट एयरलाइन्समा मूल्य चर्को नै तिर्नुपर्ने, तर न्यूनतम मानवीय आवश्यकताको खाना, खाजा तथा पानी पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेकाले छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा खानाको सुविधा तोक्न आग्रह गरेको उल्लेख गरे ।
त्यस्तै विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकारभित्र रहेको काम गर्नसमेत सचेत गराएको छ ।
काठमाडौं : सुरक्षित र निर्भयताका साथ व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित हुनुपर्ने माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरको गम्भीर ध्यानाकर्षण गराएका छन् । धेरै अगाडि मेलमिलाप भइ तामेलीमा राखेको उजुरी जगाएर व्यवसायीलाई छलफलमा बोलाएपछि मंगलबार विभाग परिसरमा भएको झडपपछि बिहीबार ठूलो संख्यामा वैदेशिक रोजगार व्यवसायीहरू सुरक्षा र प्रणालीमा सुधारको माग लिएर वैदेशिक रोजगार विभाग पुगेका हुन् ।
समाजको एउटा पक्ष वैदेशिक रोजगार व्यवसायी बेइमान छन् भनि बद्नाम गर्न योजनाबद्धरूपमा लागिरहेको र विभागका कतिपय कार्यविधि र निर्णयले त्यस्ता गैरजिम्मेवार पक्षलाई बल पुर्याएका कारणले व्यवसायीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण नभएको गुनासो व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष राखेका थिए ।
विभागले वैदेशिक रोजगारबाट विभिन्न कारणले फर्केका कामदारको उजुरी दर्ता गरेपछि छलफलमा भएको सहमतिअनुसार कामदारलाई म्यानपावर कम्पनीको तर्फबाट क्षतिपूर्ति रकम दिलाएर उक्त उजुरीलाई तामेली अर्थात निष्क्रिय बनाउने गरेको छ ।
तामेलीमा गएको उजुरीको अभिलेख भने विभागको प्रणालीमा रहने गरेको छ । विभागमा कर्मचारी परिवर्तन भएपछि धेरैले अगाडि मेलमिलाप भएको उक्त पुरानो उजुरी जगाएर पीडितलाई क्षतिपूर्ति दिन छलफलमा आउन व्यवसायीलाई पत्र काटेर बोलाउने गरिएको कारणले गम्भीर समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ । बिहीबारको छलफलमा मेलमिलाप भएको उजुरीलाई पुनः जाग्ने अर्थमा नराखी प्रणालीबाटै हटाउनुपर्ने माग व्यवसायीले राखेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मध्यान्हलाई बताए ।
छलफलमा विभागले फ्रि भिसा फ्रि टिकट अन्तर्गत दश हजार रुपैयॉ सेवा शुल्क लिएर पठाएको कामदार विभिन्न कारणले फर्केको अवस्थामा परिस्थिति र प्रमाण नै नबुझी ५ लाख रूपैयाँसम्मका उजुरी दर्ता गराउने, छलफलमा सरोकार बिनाका संघसंस्था र युट्युबरहरूलाई सहभागी गराउने, बिना कारण छापा मार्ने र प्रमाण बिनाको उजुरीमा पनि एलटी बन्द गरिदिने कार्य भएकाले त्यसलाई रोकी विभागमा हुने छलफलमा पीडित, पीडितको परिवार र म्यानपावर कम्पनीको आधिकारिक परिचयपत्रवाहक सञ्चालकलाई मात्रै सहभागी गराउने तथा विभाग परिसरमा अनधिकृत व्यक्ति वा समूहको प्रवेशमा रोक लगाउनुपर्ने व्यवसायीले माग राखेको छलफलमा सहभागी त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेलले बताए ।
संघले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका वैदेशिक रोजगार व्यवसायीलाई बद्नाम गर्न र वैदेशिक रोजगारमाथि अनेक भ्रम छर्ने प्रयास गरिएको भन्दै त्यसलाई चिर्न विभागले व्यवसायीलाई साथ दिनुपर्ने माग गरेको छ ।
जवाफमा महानिर्देशक घिमिरेले वर्तमान युग नै प्रविधि र सञ्चारको युग भएकाले व्यवसायीहरू शुद्धीकरण र व्यावसायिक भइ बद्नाम गराउने तत्वलाई जवाफ दिनसके असामाजिक, उत्तेजना र भड्काउने तत्व आफैं सेलाएर जाने भएकाले सचेत हुन व्यवसायीलमई आग्रह गरे ।
महानिर्देशक घिमिरेले नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि पूर्णरूपमा व्यवसायीलाई साथ दिन आफू तयार रहेको भन्दै व्यवसायीहरूले पनि वैदेशिक रोजगार ऐन र नियमावलीभित्र रहेर गुनासो नआउने गरी काम गर्नुपर्ने सुझाव दिएका थिए । उनले व्यवसायीले बिहीबार उठाएका समस्याको समाधानका लागि मातहत निर्देशक र कर्मचारीसँग छलफल गरेर सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छलफलमा सहभागी व्यवसायीहरूले बताएका छन् ।
कसरी भयो झडप ?
धेरै अगाडि क्षतिपूर्ति र राहत पाइ मिलापत्र भइसकेको फ्युचर स्टार म्यानपावर प्रा.लि.सँग सम्बन्धित उजुरीका सम्बन्धमा विभागले सञ्चालक हरिबहादुर पाण्डे क्षेत्रीलाई पत्र काटेर बोलाएपछि मंगलबार क्षेत्री विभाग पुगेका थिए । विभाग पुग्दा पीडित भनिएका व्यक्तिहरुमध्ये यसअघि अलर्ट ओभरसिजका सञ्चालक देव खोखालीमाथि भएको आक्रमणमा संलग्न युवाहरू पनि थिए ।
संयोगले खोखाली पनि विभागमा नै थिए । आफूमाथि आक्रमण गर्नेहरू देखेपछि खोखालीले भने, ‘ए भाइ सरोकारविहीन व्यक्ति तिमीहरू यहाँ किन आएको ?’ त्यसपछि विभागमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मेलमिलाप कक्षमा छलफलको क्रममा हात हालाहाल र झडप भयो ।
प्रहरीले त्यहाँ पीडित भनिएका व्यक्ति भन्दै अलमलमा फ्युचर स्टारका एक जना कर्मचारीलाई पक्राउ गरी कालिमाटी प्रहरी कार्यालय पुर्याएको थियो । बुधबार कतारी अमिरको नेपाल भ्रमण थियो । सार्वजनिक बिदा परेका कारणले प्रहरीले केही गरेन । बिहीबार विभागमा भएको छलफलपछि महानिर्देशक घिमिरेले सहमतिको वातावरण बनेको भन्दै कसैलाई कारबाही नचलाउनु उचित हुने भनि कालिमाटीका डीएसपीलाई फोन गरे ।
महानिर्देशक घिमिरेको फोनपछि प्रहरीले त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक पौडेलको जिम्मा लगाएर फ्युचर स्टारका कर्मचारीलाई छोडेको छ । व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेपछि बिना प्रमाण चर्का कुरा गर्ने युट्युबर र उद्धारका नाममा खोलिएका गैरसरकारी संस्थाका व्यक्तिहरू उत्ताउलो शैलीमा व्यवसायीविरूद्ध लागेको टिप्पणी गरेका छन् ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी शन्जित श्रेष्ठलाई पितृशोक परेको छ । राजधानीको लाजिम्पाटस्थित शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का सञ्चालक श्रेष्ठका पिता नुच्छेलाल श्रेष्ठको निधन भएको हो ।
श्रेष्ठको ७६ वर्षको उमेरमा बुधबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठका श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् ।
यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । संघले श्रेष्ठको निधनको खबरले संघ परिवार मर्माहत भएको बताउँदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बजेट एयरलाइन्सले अनावश्यकरूपमा भाडा बढाएका कारणले वैदेशिक रोजगारीमा जाने विपन्न अवस्थाका कामदारहरूलाई चर्को आर्थिकभार पारेको भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङको ध्यानाकर्षण गराएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा बुधबार मन्त्रालय पुगेको मञ्च प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।
त्यसअवसरमा मञ्चका महासचिव तथा नेकपा माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखा उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले बजेट एयरलाइन्सहरूले दोब्बर हुनेगरी हवाई भाडा बढाएर ४–५ घण्टाको उडानमा खाना र पानीसमेत नदिएर कामदारहरूमाथि ज्यादती गरेको भन्दै वार्षिक १२ खर्ब रिमिट्यान्स पठाउने कामदारमाथि तल्लो दर्जाको अपमानित व्यवहार हुनु दुखद् भएको बताए ।
उनले एयरलाइन्सहरूको हेपाहा व्यवहार रहेको तर दोष जति वैदेशिक रोजगार व्यवसायीलाई दिने प्रवृत्तिले व्यवसायीहरू अनाहकमा बदनाम हुनुपर्ने अवस्था रहेको भन्दै व्यवसायी बदनाम हुने अवस्थाको अन्त्य गर्न पनि मन्त्री तामाङको ध्यानाकर्षण गराए ।
जवाफमा मन्त्री तामाङले मञ्च प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्दै वैदेशिक रोजगारमा जाने कामदार सम्मानित हुनुपर्नेमा अपमानित भएको घटनाप्रति आफ्नो र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री तामाङले मञ्चले उठाएको विषयमा मन्त्रालयले सत्यतथ्य खोजी गरि एयरलाइन्सहरूलाई सचेत र कारबाहीको तहसम्म पुर्याउने आश्वासन दिए ।
मन्त्री तामाङले हवाई भाडा मन्त्रालयको कार्यक्षेत्रभित्रको परेकाले त्यसमा मन्त्रालय गम्भीर रहेको भन्दै सुधारका लागि आवश्यक परे व्यवसायीसँग थप छलफल गर्ने पनि प्रतिबद्धता जनाएको मञ्चले बताएको छ ।
बजेट एयरलाइन्सले वैदेशिक रोजगारीमा जाने कामदारलाई टिकटभित्रबाट खाना, पानी नदिएर एक बोतल पानीलाई एक सय रूपैयाँमा बेच्ने गरेको गुनासो पटक–पटक सार्वजनिक भएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पनि कामदारको उडानमा खानाको व्यवस्था अनिवार्यरूपमा गर्न आग्रह गरेका थिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस ग्वार्को र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा बुधबार त्रिपक्षीय छलफल भएको हो ।
छलफलमा रिटर्नीहरुका प्रश्नको जवाफमा एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले रिटर्नीहरुलाई कुनै विभेद नगरिएको प्रष्ट पारे । छलफलपछि श्रममन्त्री अर्यालले कामदार छनोटका विषयमा कोरिया रिटर्नीहरुका आशंका तथा जिज्ञासा मेटिएकोमा आफू विश्वस्त रहेकोे बताए । श्रम सचिव घनश्याम उपाध्यायले श्रमिकको गुनासो सिधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको बताए । यस प्रकारको त्रिपक्षीय छलफल पहिलो पटक गराइएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
छलफलमा कोरिया रिटर्नीहरुले यसअघि सार्वजनिकरुपमा एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातासमक्ष नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो राखेका थिए ।
निर्देशक क्वाकले १६ वटा स्रोत मुलुकहरुबाट कोरिया जाने श्रमिकको छनोटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने भन्दै एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोष्टरमा मात्रै राख्ने काम गरेको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताए ।
उनले भने, ‘श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता हुँदैन । हामीले अनलाइनमार्फत पारदर्शीरुपमा नै परीक्षा लिन्छौं । उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गरेर पठाउने हो, श्रमिकको छनोट रोजगारदाताले नै गर्ने व्यवस्था छ ।’
निर्देशक क्वाकका अनुसार कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्ने भएकाले रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबीच कोरियाको श्रम मन्त्रालय मातहतको जव सेन्टरले समन्वय गर्ने बताए । उनले रोजगारदाताले तोकेको मापदण्डअनुसार जव सेन्टरले श्रमिकको सूची पठाउने र जव सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनोट गर्ने भएकाले जव सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनोटमा पर्छ भन्ने सुनिश्चितता नहुने बताए ।
उनले भने, ‘रोजगारदातालाई मन परेमा छनोट गर्न पनि सक्छ, नगर्न पनि सक्छ । कोरियाका रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौंले आवेदन दिन्छन् । तर रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनोट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौं संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनोट गर्छन् । जव सेन्टरले श्रमिकको सूची पठाउँदा मागभन्दा तीन गुणा बढी पठाउने गरेका छन् । सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् ।’
नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको मागभन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । कोरियाले गत फेब्रुअरीदेखि रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परीक्षाका लागि आवेदन लिने नयाँ व्यवस्था गरेको छ । श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा गत पुस १३ गते ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुई युवकको ज्यान गएको थियोे । निर्देशक क्वाकले गलत सूचना फैलिएर उक्त घटना भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरे ।
त्यस्तै कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपालबीचको सुमधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे ।
कोरिया र नेपालबीच ईपीएसमार्फत कोरिया रोजगारीका लागि सन् २००७ मा सम्झौता भइ सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपीएसमार्फत कोरिया पुगेका थिए । गत वर्ष सन् २०२३ मा नेपालबाट १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै कोरियाले पुरस्कृत पनि गरेको थियो ।
कोरियाले गत वर्षसम्ममा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा यसपटकदेखि सिप बिल्डिङ क्षेत्रमा पनि लैजान थालेको छ ।
एचआरडी कोरियाको मागअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनोट प्रक्रिया एचआरडी कोरिया ईपीएस सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् र तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई ईपीएस शाखाबाट रोजागरीका लागि फराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठिक भएपछि एप्रुभ गरी रोष्टरमा सूचीकृत गरिन्छ । खाडी र मलेसियाको तुलनामा कम लागतमा जान सकिने कोरियामा कमाइ भने धेरै गुणा बढी छ ।
कति नेपाली पुगे कोरिया ?
विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय १२ रहेको छ भने पुरुषको संख्या ९४ हजार ५ सय ५६ रहेको छ । सन् २००८ मा दुई हजार ८ सय १४ नेपाली श्रमिक कोरिया गएका थिए ।
२००९ मा एक हजार ९ सय ११, सन् २०१० मा दुई हजार ३ सय ३९, सन् २०११ मा तीन हजार ९ सय ८३, सन् २०१२ मा ६ हजार ३ सय ३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८ सय ६६ कोरिया गएको तथ्यांक छ ।
त्यस्तै सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८ सय, सन् २०१८ मा ८ हजार ५ सय ११, सन् २०१९ मा सात हजार १ सय ३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३ सय ८७, सन् २०२२ मा १४ हजार ३ सय ११, सन् २०१३ मा १९ हजार ६ सय ८९ नेपाली युवायुवती कोरिया गएका छन् ।
काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको जारी नेपाल भ्रमणले उक्त मुलुकमा रोजगारीमा जाने नेपाली कामदारलाई अल्पकालीन तथा दीर्घकालीन लाभ पुग्ने अपेक्षा बढेको छ । कतारी राष्ट्र प्रमुखबाट भएको नेपाल भ्रमण मुलतः दौत्य सम्बन्धलाई थप प्रगाढ र फराकिलो बनाउने दिशामा केन्द्रित हुने भएपनि कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा र सुविधाका विषयमा दुवै मुलुकको ध्यानाकर्षण भएको कतारको रोजगारीमा चासो राख्ने सरोकारवालाहरूले बताएका छन् ।
नेपाली कामदारको अधिकार सुरक्षा र क्षेत्र विस्तारका लागि नेपाल र कतारका बीचमा भएको सन् २००५ को श्रम सम्झौतामा नयाँ प्रावधान समावेश गरी नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दृष्टिकोण रहेको थियो । श्रममन्त्री डोलप्रसाद अर्यालले श्रम सम्झौता नवीकरणको विषयमा जोडदिएको भएपनि परराष्ट्र मन्त्रालयले राष्ट्र प्रमुखको भ्रमण मुलतः दौत्य सम्बन्धमा केन्द्रित हुने बताएपछि तत्कालका लागि दुवै मुलुकबाट हुनुपर्ने गृहकार्य पूरा नभएको भन्दै श्रम सम्झौताको विषय प्राथमिकताको सूचीमा रहेन । तर कतारी अमिरको भ्रमणको मुख्य आधार उक्त मुलुकमा काम गर्ने नेपाली कामदार पनि रहेकाले उनीहरू लाभान्वित हुने धेरैको अपेक्षा छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दुवै मुलुकबीच लामो समयदेखि रहेको श्रम सम्बन्धलाई थप बलियो बनाउन उच्च कूटनीतिक भ्रमणको समयमा नेपालले श्रमिकको हितका विषय उठाउन सक्नुपर्ने बताए । नेपाली कामदारहरूको सुरक्षा अभिवृद्धि गर्ने विषय सधैंभरि व्यवसायीको प्राथमिकतामा रहेको भन्दै अध्यक्ष भण्डारीले कामदारहरूलाई कतारको श्रम कानूनभित्र समेटिएको भएपनि नेपालले अघि बढाएको सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम हुनुपर्नेमा जोड दिए । उनले रोजगारीका लागि गएका नेपाली कामदारलाई अनिवार्यरूपमा समाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम भए त्यो सबैभन्दा ठूलो उपलब्धि मानिने बताए ।
त्यस्तै अध्यक्ष भण्डारीले नेपाली कामदारको सीप विकासका लागि सातवटै प्रदेशमा सीप तालिम बिकासका लागि आधुनिक ट्रेनिङ सेन्टरको स्थापना र आकर्षक तलव सहितको कामदारको डिमाण्डमा नेपाली कामदारहरूलाई प्राथमिकतामा राख्ने बिषय पनि आफुहरूको माग र सरोकारको पक्ष रहेको उल्लेख गरे ।
कतारमा कामदार पठाउँदै आएका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवम् नौकरी नेपाली रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद ढकालले कतारमा नेपाली कामदार इमान्दार, परिश्रमी र लगनशील कामदारको रूपमा चिनिएकाले नेपालीहरूलाई परम्परागत निर्माण, सुरक्षा तथा सेवा क्षेत्रमा मात्रै नभएर चिकित्सक तथा नर्स जस्ता प्राविधिक क्षेत्रमा पनि अवसर दिइनुपर्नेमा नेपालले जोड दिनुपर्ने बताए । यस विषयमा नेपाली अधिकारीहरूले कतारका अमिर तथा भ्रमणदलमा सहभागी अधिकारीहरुको ध्यानाकर्षण गराउन सक्नुपर्ने उल्लेख गर्दै व्यवसायी ढकालले कतारी लगानीकर्तालाई ल्याउन सके उनीहरूले नेपालमै आकर्षक तलबको रोजगारी दिने भएकाले लगानीका माध्यमबाट रोजगारी सिर्जनाको पाटोलाई नेपालले ध्यान दिनसक्नुपर्ने उल्लेख गरे ।
संघको कतार संयोजक तोरण केसीले कतारमा रोजगारीमा जाने कामदारमा स्वास्थ्य समस्या, कोमामा रहेका बिरामीको उपचार, अंगभंग र मृत्युको बीमालगायतका गुनासाहरू रहेकाले ती समस्या छिटो समाधानका लागि उपायहरू खोजी हुनुपर्नेमा जोड दिए ।
हालसम्म १८ लाख बढी नेपाली वैदेशिक रोजगारमा गएको कतारमा हाल पनि पौने ४ लाख नेपाली कार्यरत रहेका छन् । उनीहरूका सम्बन्धमा कतार सरकारले लिने नीति र निर्णयले व्यक्तिगतरूपमा कामदार र समग्रमा रेमिट्यान्स निर्भरता नेपाली अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर रहने गरेको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्यरुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्यरुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।
मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौंसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । ‘मुलुकभित्रै अवसर नपाएर युवाहरु विदेशिन्छन् । विदेशिँदै गर्दा पनि हामीहरुले श्रमिकलाई घण्टौंसम्म भोकै राख्छौं,’ उनले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यस विषयमा हामी पनि गम्भीर छौं । एयरलाइन्स कम्पनीहरुले व्यावसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,’ उनले भने । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्यरुपमा खाना उपलब्ध गराउनुपर्ने नियम बनाइदिनुपर्ने उनले बताए ।
नेपालबाट औसत १ हजार ५ सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकहरुमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका छन् । यस्तै हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपालदेखि कतारका लागि उडान भर्दै आएका छन् । त्यस्तै, नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।
सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेबिया, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् । यूएईका लागि हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज र सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् । कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर नेपाल एयरलाइन्सलगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्यरुपमा खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।
छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरणलगायतका विषयलाई व्यवहारिक बनाउन व्यवसायीले श्रममन्त्रीसमक्ष आग्रह गरेका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् । मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ ।
कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । सन् २०१९ देखि २०२२ सम्म कतारका लागि नेपाली राजदूत रहेका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउँछन् । ‘भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन ।’
कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मकरूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मकरूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।
कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्ने उनी बताउँछन् । उनले भने, ‘कतारले यसअघि नै सुरक्षा क्षेत्रमा नेपाली नागरिक लैजाने प्रयास गरिरहेको थियो र नेपालले पनि त्यसबारेमा निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । उनीहरुको दृष्टिकोण पनि बुझेर यो विषय पनि कतारी अमिरको भ्रमणका बेला अघि बढाउन सके आम्दानी हिसाबले ठूलो लाभ हुन्छ ।’
त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम गर्ने नेपाली महिलाको संख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन । घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ ।
कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्ने उनी बताउँछन् । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानूनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्ने उनको भनाइ छ । रियलस्टेट, जलविद्युत, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिए । ‘कतारमा लाखौं नेपालीले लामो समयसम्म गरेको श्रमको कदर र आत्मीयताका लागि पनि कतारले नेपालमा लगानी गर्नुपर्छ । स्वदेश फर्केका नेपालीलाई उद्यम सञ्चालनका लागि र कतार जाने नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि पनि कतारले सीप विकास केन्द्र खोल्नलाई पनि सहयोग गर्नुपर्छ,’ भण्डारीले भने ।
कतारले विश्वका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कतारले नेपालमा लगानी गरेमा यसले दुई देशका जनताबीचको सम्बन्धसमेत विस्तार हुने अध्यक्ष भण्डारीको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies