कास्कीः परापूर्वकालमा मानिसलाई जङ्गली जनावरले साह्रै दुःख दिन थाल्छ । जनावरमा पनि हिंस्रक मानिने बाघले औधी आक्रमण गर्छ । बस्तीमा बसिनसक्नु भएपछि न्यायको माग गर्दै जनता राजासमक्ष पुग्छ । राजाले सैनिक पठाएर रेकी गरी आफैँले बाघ मारेर जनतालाई खुसी दिन्छन् । यही कथामा आधारित रहेर पोखराका नेवार समुदायले लामो समयदेखि बाघजात्रा मनाउँदै आएका छन् ।
सोेही कथालाई बाघजात्रामा हुबहु उतार्ने कोसिस हुन्छ । जहाँ बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र जनतालगायत अन्य पात्र समावेश हुन्छन् । उनीहरु जात्रा देखाउँदै बजार परिक्रमा गर्छन् । जात्रा हेर्न गाउँ–गाउँबाट मानिस पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारीजस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर घर फर्किन्थे ।
तर पोखरामा बाघजात्रा नभएको धेरै भयो । तेइस वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षदेखि बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति गठन भइसकेको छ ।
समितिका सचिव सुनिल उलकले भने, ‘यसको इतिहास दुई–तीन सय वर्ष पुरानो छ । तर हामीले बूढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४ साल, २०२२–२३, २०३७–३८ र २०४६–४७ सालमा देखाइएको भेटिन्छ ।’ अब यसलाई प्रत्येक छ वर्षमा आयोजना गरिने उनले बताए ।
यसको शुरुवात पोखराबाट भएको अनुमान गर्न सकिने सचिव उलकले बताए । ‘ठ्याक्कै तथ्याङ्क त छैन तर विभिन्न तथ्य आधारमा यहीबाट शुरुवात भएको हो कि भन्न सकिन्छ’, उनले भने, ‘यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । यी सबै एउटै खालका छन् ।’
विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन शुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा जोगाउन सबै लाग्नुपर्नेमा उनको जोड छ । उनका अनुसार भदौ १८ गते नेवाः छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवाः छेमा समापन हुनेछ ।
भदौ १९ गते नेवाः छें हुँदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवाः छेंमा पुग्नेछ भने समापनको दिन नेवाः छें हुँदै भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौँडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पहिलो र दोस्रो दिन करिब तीन सयको हाराहारीमा सहभागी हुने भए पनि अन्तिम दिन अझ बढी सहभागी हुने सचिव सुनिल उलकको अनुमान छ । अन्तिम दिन बाघजात्राको कथामा आधारित प्रहसन हुने उनले बताए । प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिनेछ ।
‘किंवदन्तीअनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ तर नरभक्षी बाघ मार्न पाउने भनेको छ’, उनले भने, ‘प्रकृतिलाई फाइदा गर्ने बाघ नभई नरभक्षी बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश रहन्छ ।’
आयोजक समितिका सदस्य शान्ति श्रेष्ठ उदासले जात्रामा बाइसे–चौबीसे राजाको प्रतिमा झल्कने गरी भाँकीसमेत देखाइने बताइन् । बाघजात्रामा नेवारसँगै मगर, गुरुङ, तामाङलगायत अन्य समुदायको पनि सहभागिता रहने सदस्य श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समूह)ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने छन् । लामो समयपछि हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवाः खलः कास्कीले सहयोग गरेका छन् । रासस
चितवनः भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १, ४,५, ६, १३, १४, १५, २४, २५ ,२६ , २७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयकी अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताइन् । उनले भनिन्, ‘कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौ ।’ उनका अनुसार माटोमा भएका अम्लियपना ६ दशमलब ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लियपना बढी भएको मानिन्छ । महानगरको माटोमा ५ र ५ दशमलब ५ प्रतिशत रहेको उनले बताइन् ।
अम्लियपन देखिएको माटोमा बिरुवाको बृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन् । उनले भनिन् ‘अम्लियपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन ।’
रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसीयम कम हुँदा माटोमा अम्लियपन बढ्ने गर्दछ । भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ । यहाँ विभन्न प्रकारका कृषि कर्महुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ । रासस
नवलपुरः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसङ्ख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।
सङ्घीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्युवबेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
कूल लागत रु. ८६ लाख ५८ हजार दुई सयमध्ये उपभोक्ता समूहले तीन लाख ७१ हजार एक सय ९३ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ । वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसा नै सङ्कटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताए ।
सिँचाइका लागि निर्माण गरिएको डिप ट्युवबेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप विच्छ्याइएको जियोलोजिष्ट इन्जिनियर कपिल महर्जनले बताए । उनकाअनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ ।
डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्युवबेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्याङ्कीमा पठाइ त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको बताए ।
डिप ट्युबेलले यहाँको ४० बिघा जमिन सजिलै सिञ्चित गर्नसक्ने उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । विसं २०७७ पुस १७ देखि काम शुरु गरेको उपभोक्ता समितिले तीन वर्ष सात महिना २२ दिनमा डिप ट्युवबेल निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।
डिप ट्युवबेललाई कृषि सहकारीमार्फत सञ्चालन गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कावासोती–३ पुरानो बजारका सयौँ घरधुरी र आश्रित परिवार सिँचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । रासस
पर्वतः जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । ‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ’, खत्रीले भने ।
उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौं बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । ‘पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौँ’, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।
‘अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ’, पहिरोले पुर्याएको क्षति देखाउँदै कार्कीले भने, ‘अब के खाने, कहाँ गएर बस्ने ?’ हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।
पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।
जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पुर्याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।
पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।
दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पु¥याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।
‘कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ’, उनले भने । ‘अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्’, पौडेलले भने । रासस
दमौलीः तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती शुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो ।
घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नं १ स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् सात रोपनी जमिनमा सयपत्री फूलखेती शुरु गरिएको छ ।
त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, ‘दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर एक सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ ।’ आगामी तिहारलाई लक्ष्य गरी फूलखेती शुरु गरिएको उनको भनाइ थियो । यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको उनले बताए ।
गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने, ‘फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ । आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्याउँछ ।’
यहाँ शुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् । उनले भनिन्, ‘आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन् । फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।’
आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती शुरु गरिएको जानकारी दिइन् । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो ।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो । त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौँ ।’
गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई आठ हजार चार सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ थियो ।
उनले भने, ‘फूलखेतीबाट महिलाले आम्दानी पनि गर्न सक्ने र यसले गाउँपालिकालाई पनि फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।’ रासस
खोटाङः खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।
गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा एक सय ७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिकाकी उपप्रमुख कौशिला गुरुङले जानकारी दिइन् । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताइन् । ‘धागो कात्ने सामग्री ९चर्खा० बनाउने सीपको अभावले कतिपय महिला पेसा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ’, उनले भनिन्, ‘राडीपाखीसम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
दश स्थानीय तह रहेको जिल्लामा विशेष गरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन् ।
जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिलालगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेसाको रुपमा चिन्ने गरिन्छ ।
जिल्लामा उत्पादित अधिकांश राडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौंलगायतका ठाउँमा निर्यात हुने गरेको छ । जिल्लाका महिलाले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवद्र्धन गर्न पछिल्लो समय स्थानीय तहले सहयोग गर्न थालेका छन् । रासस
काठमाडौंः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाउने भएका छन् ।
आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्व मनाउने गरेको अभियान्ता भूमिका श्रेष्ठले बताइन् ।
यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन् ।
यो अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज निर्माण गर्न सञ्चारकर्मी तथा सामाजिक अभियान्ताको भूमिका महत्त्वपूर्ण रहन्छ । यस समयमा समुदायले भोगेका समस्याको कथालाई बाहिर ल्याउने, सफलताका कथालाई प्रचार गर्ने, समुदाको मानवअधिकार प्रयोगको स्वतन्त्रताका आवाज उठाउन सबैलाई आह्वान गरेको छ ।
काठमाडौंः यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उनले बताए । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ ।
‘हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ, यस वर्षको जस्तो तिथिको अवस्था विगत वर्षमा पनि परेको थियो, वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि यस्तै तिथिको अवस्था परेको थियो, उक्त वर्षमा एक घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनैपूर्णिमा मनाइएको थियो, धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने परम्परासमेत रहिआएको छ, भदौ १४ गतेका दिन पूर्णिमा तिथिको घट्यादि तीन मुहूर्तव्यापी छ, यसको विकल्प दुई मुहूर्त भए पनि पुग्छ, विधि निषेधको न्यायद्वारा अघिल्लो दिन उक्त पर्व मनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न’, अध्यक्ष अधिकारीले भने ।
चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने समितिको भनाइ छ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सबैलाई रहेको सूचना समितिबाट स्वीकृत सबै पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु हुँदैन । कालिका पुराणमा भनिएको छ–
संप्राप्तवान् श्रुतीर्ब्रम्हा पर्वण्यौदयिके पुनः ।
अतो भूतदिने तस्मिन्नोपाकरणमिष्यते ।।
अघिल्लो दिन भद्रा पर्ने भएकाले एक घडीमात्र भए पनि भोलिपल्ट उदय पूर्णिमाका दिन रक्षाबन्धन गर्नु पर्दछ । भद्राको समयमा बाँच्न चाहनेले कुनै पनि माङ्गलिक कार्य गर्नु नहुने ज्योतिष शास्त्रको मुहूर्त चिन्तामणि नामक ग्रन्थको शुभाशुभ प्रकरणमा उल्लेख गरिएको छ । मुहूर्त चिन्तामणि ग्रन्थमा भनिएको छ–
नकुर्यान्मङ्गलं विष्ट्यां जीवीतार्थी कदाचन ।
कुर्वन्नज्ञस्तदा क्षिप्रं तत्सर्व नाशतां व्रजेत् ।।
शास्त्रका उल्लिखित वचनअनुसार पनि भदौ १४ गतेको जनैपूर्णिमामा दुई मुहूर्त न्यून पूर्णिमा नभई तीन मुहूर्त व्यापिनी अर्थात् पाँच घडी १८ पला पूर्णिमा भएकाले पूर्वदिनमा उपाकर्मादि कृत्य गर्नु शास्त्रसम्मत नदेखिने समितिको ठहर छ । उपाकर्म र रक्षाबन्धनलाई अलग अलग कृत्यका रूपमा स्वीकार गर्ने शास्त्रीय परम्परा छैन । उदय पूर्णिमाकै दिन अर्थात् भदौ १४ गते गुरुबारका दिन नै जनैपूर्णिमासित सम्बन्ध सम्पूर्ण कृत्यहरू गर्न शास्त्रसम्मत र परम्परा अनुमोदित विषय देखिने वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।
कुनै भ्रममा नपरी पञ्चाङ्गमा उल्लेख भएअनुसार बिहीबारकै दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रा पर्व पनि मनाउन समितिले आज जारी गरेको अपिलमा उल्लेख छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेशानुसार चाडपर्व र तिथिमितिको निर्णय गर्ने अधिकारअनुसार यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए ।
भक्तपुरः नेवार समुदायले बुधबार गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।
नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।
नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।
रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । ‘खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो’, उनले भने ।
भ्यागुताको पूजा
श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा.डा. श्रेष्ठ बताउँछन् । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।
‘मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो’, उनले भने ।
भक्तपुरका कुण्डमा मेला
जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए ।
कास्कीः कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउँछन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् ।
आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उनले सम्झिइन् । ‘पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ’, देउकुमारीले भनिन्, ‘हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।’
सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेकी छिन् । परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उनले बताइन् । ‘गाउँमा जग्गा/जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ’, अधिकारीले भनिन्, ‘प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।’
परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गर्थ्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उनको भनाइ थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन् ।
विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिइन् ।
पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन् । यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।
‘हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ’, अधिकारीले भनिन्, ‘पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।’ अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाइन् ।
पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए । उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उनले जानकारी दिए ।
वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । ‘हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।’ रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies