ललितपुर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे ।
एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो ।
खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जीत हात पार्यो । जीतसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपिएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies