राजेश्वरी कार्की / मध्यान्ह
काठमाडौं : ६ वर्ष अघि २०७० साल जेठ ५ गतेबाट सञ्चालन गरिएको बागमती सफाइ महा अभियानले ३५० औ हप्ता पुरा गरेको छ । यो महाअभियानले ३५० औ हप्ताको सफलता पार गरेको अवरसरमा भोलि माघ ११ गते शनिबार विहान ७.३० बजे देखि १०.३० बजेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित बागमती किनारमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।
उक्त महाअभियानले ३५० हप्ता पुरा गरेको सन्दर्भमा काठमाडौं महानगरपालिका , वडा नं ११ को पहलमा वडाबासीहरुलाई सरसफाई कार्यमा उत्प्रेरणा दिई सक्रिय गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरुको घोषणा गरिने यस अभियानका संयोजक राजकुमार भट्टराईले जानकारी दिए ।
यस महाअभियानलाई वडा नं ११ अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्नेका लागि अवधारणा सहित अघि बढाउने र नयाँ परिमार्जित ढंगबाट बागमती सरसफाई अभियान सञ्चालन गरिने उक्त वडाका वडा अध्यक्ष हिरालाल तन्डुकारले जानकारी दिए ।
७ वर्ष अघि गुहयश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको यो राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिवार विहान संचालन गरिदै आएको छ । नेपाल सरकारका विभिन्न निकायहरु ,सामजिक, धार्मिक संघ संस्थाहरु तथा बागमती सफाइ अभियान्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना,सशस्त्र प्रहरी , नेपाल प्रहरी, गायत्री परिवार नेपाल, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, यस ट्राभल्स डट कम लगायत लाखौंको सङख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी,व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनिय, समाजसेवी, राजनीतिककर्मी आदिले सहभागिता जनाएका थिए ।
यो अवधिमा बागमती नदीमा वर्षौदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर हटाएको र करीव १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरिसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले जानकारी दिए ।
प्रारम्भमा बागमती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बागमतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवम चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ । साथै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा पनि स्थानीयहरुको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन हुदैँ आएको छ ।
बागमती सफाई महाअभियान सञ्चालन भए पश्चात बागमती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफा भएको ,विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने बालवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयबासीहरुको पहलमा वृक्षारोपण गर्ने, विश्राम स्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेको छ ।
सरसफाई गरिएका क्षेत्रहरुलाई क्रमशः सम्वन्धित नगरपालिका र त्यसका वडा कार्यालयको रोहबरमा स्थानीय टोल सुधार,उपभोक्ता समिति वा स्थानीय संघसस्थाहरुलाई जिम्मा लगाइदै जाने नीति अन्तर्गत गुहयेश्वरी भन्दामाथिको तटीय क्षेत्रमा स्थानीय संघसस्थाहरुलाई जिम्मा लगाइएको अभियानको संयोजक इश्वर शाही सिंहले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies