काठमाडौं : आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने बताए ।
भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानून बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए । यही माघ १२ गते ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवस हो । व्यापार सहजीकरणका लागि भारत, चीन र बङ्गलादेशसँग द्विपक्षीय संयन्त्र क्रियाशील छन् ।
यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान र समन्वयको काम गरिरहेका छन् । चीनसँग भन्सार सहयोग सम्झौता सम्पन्न भएको छ भने भारतसँग यस्तो सम्झौता हुने प्रक्रियामा छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा भन्सार व्यापार सहजीकरण समिति केन्द्रमा क्रियाशील रहेको छ ।
निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरिरहेको जनाइएको छ । पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना कार्यान्वयनमा छ । भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेँलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ । रातो मार्ग भौतिक परीक्षण हुने जाँच प्रणाली हो ।
पूर्वाधार विकास निर्माण र सुधारमा भन्सार क्रियाशील रहेको र विभागले कूल राजश्वको करिब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको बताइएको छ । पत्रकार सम्मेलनमा विभागले भन्सार जाँचपासमा कन्साइनमेन्टको मूल्यांकनमा दुःख हुने गरेको गुनासो समेत सत्य नभएको दाबी गरेको छ । विभागले हाल ९०.५६ प्रतिशत सामानहरुलाई सेवाग्राहीले ल्याएको बिलबिजककै आधारमा मान्यता दिएर पठाइने विभागको दाबी छ ।
‘बाँकी ९.४४ प्रतिशत सामानको मूल्य हामीले बढाएका छौं, त्यसमध्ये पनि कतिपयले फेरि बिलबिजक बनाएर ल्याएर सोही बिजकका आधारमा जाँचपास गराउने गरेका छन्’ महानिर्देशक दाहालले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies