नवलपरासी : नवलपरासी पूर्व गैडाकोटमा सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गैडाकोट नगरपालिका–पाँच स्थित मोनिका सुनचाँदी पसल चोरीमा संलग्न दोलखा मेलुङ्गका अनुज लामा, सिन्धुपाल्चोक बाह्रविसेका तिर्थ बहादुर रुम्बा र काभ्रे धुलिखेलका जीतबहादुर तामाङ रहेका छन् ।
पक्राउ परेकाहरु विरुद्ध डाँका चोरी मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले गत फागुन १८ गते उमेश गहतराजले संचालन गरेको सुनचाँदी पसल चोरी गरेका थिए । पसल संचालकले ६९ तोला ५ लाल सुन तथा १ किलो चाँदीका गरगहना र नगद ७ लाख रहेको सेफ लकर चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
पक्राउ पर्नेहरुको साथबाट १२ तोला ५ प्वाइन्ट सुन बरामद भएको छ । थप गरगहना र चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
चोरी गर्ने कार्यमा प्रयोग भएका औजारहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी कार्यालय गैडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies