काठमाडौं : मुलुकभर आएको बाढी, पहिरो र डुबानका कारण भनिए पनि स्थायी कमिटी बैठक एक साता स्थगित गर्नुका पछाडि नेकपाभित्र उत्कर्षमा पुगेको आक्रोश बिराम गर्नु थियो । तर, केही दिन यताका शीर्ष नेताहरुको अभिव्यक्ति हेर्दा भने यो प्रयास पनि व्यर्थै बन्ने संभावना बढी देखिएको छ ।
गएको असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्ने त्रास बढेको थियो । त्यही त्रास टार्न विशेषगरी दोस्रो तहका नेताहरु लागी परे । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालको संयोजनमा तीन खेमाका नेताहरु प्रदीपकुमार ज्ञवाली, बिष्णु रिमाल, शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, वर्षमान पुन, लेखराज भट्टले नेतृत्वमाथि हस्तक्षेपकै चेतावनी दिएका थिए ।
असार २५ गतेसम्म सिंहदरबारमा बसेको यो समूहको बैठकले सहमतिको प्रयास गर्नुपर्ने, त्यसका लागि आवश्यक परे समय लिन सक्ने र त्यसो हुन नसके पार्टी विभाजन रोक्न आफूहरु हस्तक्षेपको तयारीमा लागेको निष्कर्ष नेतृत्वलाई नै सुनाएका थिए । बैठक पछाडि मन्त्री भूसाल बालुवाटार सन्देश लिएर असार २५ गते साँझ पुगेका थिए ।
यसपछि भने असार २६ गते सूचनाका आधारमा एक साता अर्थात् साउने संक्रान्ति मनाएर मात्रै बैठक बस्ने जानकारी दिइयो । नेताहरुले यो एक सातालाई युद्ध बिरामको संज्ञा दिएका थिए । तर, सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा गरेको सम्बोधन र भोलिपल्ट चितवन पुगेर अर्का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले गरेको भाषणले थोरै आशा मात्रै जगाउन सकेको छ ।
बरु, आशंका भने बढाएको छ । किनभने, प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने संकेत सम्बोधन मार्फत दिएका छन् भने प्रचण्डले त आफू माथि लागेको आरोपको कडा भाषामा खण्डन गरेका छन् । प्रचण्डले आफ्नो खेमालाई भारतीय दलाल बनेकोमा कडा आपत्ति जनाएका छन् । अर्का महत्वपूर्ण नेता झलनाथ खनालले अझ एक कदम अगाडि बढेर दुई अध्यक्षले गरेको निर्णय मान्ने नहुने बताएका छन् । उनले पार्टीको निर्णय पार्टीमै हुनुपर्ने बताएका छन् ।
असार १४ गते प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको बताएका थिए । प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति पछि उनको दुवै पदबाट राजीनामा मागिएको छ भने ओलीले जवाफमा वर्षे अधिवेशन अन्त्य, मन्त्रीहरुलाई बोलाएर कित्ता प्रष्ट पार्नेसम्मका कदम चालेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies