भक्तपुर : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सहकारीका मुद्दा थप चर्काउने देखेर सरकारले संसद अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज एवम् नेपाली कांग्रेसका नेता स्व.जगन्नाथ आचार्यको १०१ औं जन्म जयन्तीको समारोहलाई मंगलवार भक्तपुरको कौशलटारमा सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
सिंहले भने, ‘सहकारीका विषयमा कांग्रेसले उठाएको मुद्दाको संसदमा सामना गर्न नसकेर सरकारले संसद अधिवेशन अन्त्य गर्यो । कांग्रेस प्रतिपक्षमा भए पनि मुलुकका लागि आवश्यक विधेयक ल्याउन र त्यसमा छलफल गर्न संसदमा अवरोध नगरेको बताउँदै नेता सिंहले सहकारीको रकम हिनामिना र ठगीमा संलग्नलाई गृहमन्त्री बनाउँदा प्रमाण नष्ट गर्ने सम्भावनाका कारण कांग्रेसले विरोध गरेको बताए ।
संघीय व्यवस्था लागु भएको आठ वर्ष बितिसक्दा पनि संघीयताको पूर्ण कार्यान्वयन गर्ने कानुन निर्माण र मर्म अनुसार चल्न नसक्दा संघीयतामाथिनै जनताहरुले प्रश्न गर्न थालेको सिंहको भनाई थियो । स्व। जगन्नाथआचार्यले गरीव किसानका पक्षमा धेरै काम गरेको उल्लेखगर्दै नेता सिंहले साधा जीवन उच्च बिचारका धनी आचार्यबाट अहिलेका नेताले धेरै सिक्नुपर्ने बताए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् संघीय सांसद दुर्लभ थापाले स्व. आचार्य हक्की र निडर नेता भएको चर्चा गर्दै मध्यपुरमा आचार्यको शालीक स्थापनागर्न निर्देशन दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले स्व. आचार्य क्रान्तिकारी, जुझारु, साधगी र सशक्त नेता भएको स्मरण गर्दै आफुले सानैदेखि वहाँसंग राजनीतिक शिक्षा लिन पाएको बताए ।
बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले स्व. आचार्यले बनाएको कांग्रेसको धरातल र पार्टीको जगकै कारण नेपाली कांग्रेस भक्तपुरमा बलियो र पहिलो राजनैतिक शक्ति बनेको बताए । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्व सभापति एवं पुर्व सांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies