काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मंगलबार पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो चलेको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । यसअघि दुई अध्यक्ष ओली र प्रचण्ड बीच सोमबार, आइतबार, शुक्रबार र बिहीबार समेत छलफल भएको थियो ।
दुई अध्यक्ष बीच भएको छलफललाई चासोका साथ हेरिनु र छलफलले पनि निरन्तरता पाइरहनुमा मन्त्रिपरिषद पुनर्गठन अजेण्डा भएकाले हो । साउन २९ गते महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वको गठित पार्टी विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनलाई परिमार्जन गरी भदौ २६ गते पारित भएपछि नेकपाको कोर्स मन्त्रिपरिषद पुनर्गठनमा पुगेर अहिले अड्किएको छ । स्थायी कमिटीले सचिवालयलाई र सचिवालयले दुई अध्यक्षलाई जिम्मेवारी दिएपछि अहिले ओली र प्रचण्ड बीच मन्त्रिपरिषद पुनर्गठनबारे लगातार छलफल भइरहेको छ ।
पेरिसडाडाँमा बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई विभिन्न विधिको विकल्प खुला गरेर मन्त्रिपरिषद पुनर्गठनको जिम्मेवारी दिएको छ । मुलतः तीन विकल्पमा मन्त्रिपरिषद पुनर्गठन गर्न सकिने सचिवालयको कार्यादेश रहेको छ । सवै मन्त्री हटाउने, दुई वर्ष पुरा भएकालाई हटाउने अथवा राम्रो काम गर्नेलाई निरन्तरता दिएर बाँकीलाई हटाउने विकल्पमै दुई अध्यक्ष बीच छलफल भइरहेको छ ।
तर, कुनै विकल्पमा पनि सहमति जुट्न सकेको छैन । अझ राष्ट्रियसभा सदस्यमा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतम विरुद्ध अन्तरिम आदेश आएपछि भने मन्त्रिपरिषद पुनर्गठनको कोर्स नै बन्द भएको छ । २०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई मन्त्री बनाउनेगरी राष्ट्रियसभामा मनोनित गरिएपछि उनी विरुद्ध रीट परेको थियो । अदालतले गौतमको मुद्दामा असोज १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । स्रोतका अनुसार, नेकपा अहिले तिनै फैसला कुरिरहेको छ ।
किनभने, उपाध्यक्ष गौतमले मन्त्री बन्ने चाहना गरेपछि ठूलै रस्साकस्सी पछाडि राष्ट्रियसभामा मनोनित गरिएको छ । यतिसम्म कि गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने वा नगर्ने अडानले झण्डै नेकपा नै विभाजित हुन पुगेको थियो । तर, पाँच वर्ष नै ओली प्रधानमन्त्री रहने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड हुने सहमति गरी नेकपाभित्रको विवाद हल गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies