काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।
कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।
एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies