काठमाडौं : आसन्न टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीसहित २६ जनाको टिम सहभागी हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकका लागि नेपालबाट खेलाडीसहित प्रशिक्षक, म्यानेजर, चिकित्सक र अरु अफिसियल गरेर करिव २६ जना सहभागी हुने जनाएको हो ।
टोकियो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले खेल्नेछन् । जसमा पौडी, जुडो, सुटिङ, एथ्लेटिक्स रहेका छन् । पौडीमा दुई खेलाडीले प्रतिस्पर्धा गर्दा बाँकी तीन खेलमा एक एक खेलाडीले खेल्नेछन् ।
नेपालबाट जाने टिममा चार खेलका चार प्रशिक्षक, चार म्यानेजर, सेभ दी मिसन एक, एटाचीमा एक, नेपाली टिमको प्रशासन र कोभिड नियम हेर्ने एक जना टिममा जाने भएको छ ।
यस्तै टिमको डाक्टरमा एक जना रहेका छन् । ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । उनीहरु त्यहाँ नै प्रशिक्षण गर्ने भनेर गइसकेका छन् । बाँकी टिम नेपालबाट जुलाईको १९ तारिखसम्ममा जाने तयारी भइरहेको छ ।
कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाएको छ भने टोकियो जानु भन्दा अगाडि दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बताए । टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको घण्डा गौरीका सिंहले बोक्ने उनले जानकारी दिए ।
ओलम्पिकको कुनैपनि खेलका खेलाडी आफ्नो प्रतिस्पर्धा सकिए लगत्तै फर्किनुपर्ने भनिएको छ । यसपटकको ओलम्पिकमा विशिष्ट पदाधिकारीको सहभागितामा कटौती गरेको छ । जुलाई २३ बाट अगष्ट ८ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies