सुमन महतारा/मध्यान्ह
गुल्मी : खाइलाग्दो ज्यान । भरिलो र हँसिलो अनुहार । कलकलाउँदो जोवान अनि सरल स्वभाव ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ पारिखर्कका दुई दाजुभाइ कमल अनि कपिल ज्ञवाली । एउटाले होटल म्यानेजमेन्ट त अर्कोले म्यानेजमेन्ट पढेका । यी दुई भाइ अहिले ‘दाजुभाइ कृषि फार्म’ को म्यानेजमेन्टमा व्यस्त छन् । वि.स २०६८ सालमा होटल म्यानेजमेन्ट पढ्दै गरेका कमल गाउँमा केही गर्छु भनेर काठमाडौंदेखि गाउँ फिरेर कुखुरा पाल्न सुरु गर्छन् । सुरुमा करिब ५० हजार लगानी गरेर खोर निर्माण गरि १ सय कुखुरा पाल्न सुरु गरे उनले । ‘मेरो मन त तरकारी खेती तर्फ आकर्षित थियो तर पानीको निकै समस्या, त्यसैले त्यो बेला कुखुरा पाल्न सुरु गरे’ विगत सम्झिँदै उनले भने ।
तर, त्यो बेला ५० कुखुरा मरे । बाँकी ५० वटाबाट करिब ७ हजार आम्दानी गरेका उनले आधा कुखुरा मर्दा पनि सन्तोषजनक आम्दानी मिलेपछि अझैँ व्यवस्थित तरिकाले कुखुरा पाल्ने रहर उतिबेलै जागेको बताए । ‘घर नजिकै केही जग्गा लिजमा लिएर साढे ५ लाख लगानीमा २ देखि ३ हजार ब्रोइलर कुखुरा पाल्न थाले’ ज्ञवाली बताउँछन् । त्यसरी कुखुरा पाल्दा उनलाई एक लटमा ७० हजारसम्म नाफा मिल्थ्यो ।
दुष्टले लखेटेपछि मुटुमा माटो सजाएर दुबईमा
राम्रो प्रगति गर्नेको खुट्टा नतान्ने ठाउँ कहाँ होला र ? ज्ञवालीले गरिरहेको काम खै कसलाई देखिनसक्नु भएन छ, एकदिन कुखुरालाई खुवाउने पानी ट्याङ्कीमा अपरिचित व्यक्तिले विष मिसाइदिएछन् । जसका कारण सबै कुखुरा मरे । ल्याब परीक्षणबाट त्यो पुष्टि भएको उनको भनाई छ ।
यहि घटनाले गाउँमा बसेर सफल कृषि कर्म गर्ने उनको लक्ष्य सबै भताभुङ्ग भयो ।
कल्पना पनि नगरेको उनलाई १२ लाख घाटा लाग्यो । पानीमा नै विष राखिदिएपछि फेरि कुखुरा पाल्ने हिम्मत आएन उनमा । कृषि गरौँ पानी छैन, अन्य पेशा गाउँमा खासै उपलब्धिमुलक देखेनन् उनले । लगानी पनि सबै डुबिसकेको थियो । ज्ञवालीसँग अब एउटै विकल्प थियो, वैदेशिक रोजगार । गाउँ फिरेको ४ वर्षमै उनी विदेश उड्न बाध्य भए । वि.स २०७२ बैशाखमा उनी आँखाभरी आँसु लिएर दुबईको लागि उडे । संकल्प थियो, डुबेको ऋण तिरेर पुनः गाउँमा गएर केही नयाँ गर्ने ! करिब साढे ३ वर्ष दुबईमा उनले पसिना बगाए । रगत पोखे । गाउँको तुलनामा कमाई राम्रै थियो तर मन कत्ति खुसी थिएन । अर्काको लागि पसिना बगाउनुपर्दा ज्ञवालीको मन निकै पोलिरहेको थियो । घरिघरि घर फर्कु लाग्थ्यो तर डुबेको लगानी सम्झिँदा बस्नुपर्ने बाध्यता पनि थियो । ‘एउटा फुलले अरुलाई सुगन्ध दिनको लागि मात्रै आँधी, हुरि, चट्याङ, घाम, पानी इत्यादिको सामना गर्छ । अन्ततः फुलेर सुगन्ध फैलाउँछ नै। म पनि अब गाउँमै केही गर्छु, गाउँकै माटोसंग लडिबुढी गर्छु भन्ने अठोट लिएर फर्किए’ उनी भन्छन् ।
सपनाले सिंगारिएको कृषि जीवन
अंग्रेजीमा एउटा उखान छ, ‘इफ यु क्यान डृम इट, यु क्यान डु इट’ अर्थात यदि तिमी सपना देख्छौं भने तिमीले त्यो गर्न पनि सक्छौँ । ठ्याक्कै यो उखान अहिले ज्ञवालीसंग मेल खाएको छ । विगत ३ वर्षदेखि ज्ञवाली अहिले कृषि कर्ममा पुनः फरक शैलीमा होमिएका छन् । उनलाई साथ दिन उनका भाइ कपिल ज्ञवाली पनि कृषि कर्ममै होमिएका छन् । त्यति मात्रै हैन उनको पुरै परिवार नै कृषि कर्ममा होमिएको छ ।
३ वर्ष अघि साढे ३ लाख लगानीमा टमाटर र काउली खेती गर्दै आएका ज्ञवालीले पहिलो वर्ष त्यति नाफा पाएनन् । ‘प्राविधिक ज्ञान थिएन, सिँचाइको पनि त्यति राम्रो ब्यवस्थापन हुन सकेन । जति लगानी त्यति बराबरको मात्रै उत्पादन बेच्यौँ’ उनले बताए । पहिलो वर्ष लगानी मात्र उठेको तर श्रम पुरै खेर गएकोले घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
मल्चिङ, थोपा सिँचाइ लगायत अन्य प्रविधि प्रयोग गरेमा कृषि कर्मबाट निकै राम्रो हुने बुझेपछि ३० रोपनी जग्गा लिजमा लिएर करिब २५ लाख लगानीमा ५५ वटा टनेल र एउटा १२ रोपनी जग्गामा एन्टिहेल नेट प्रविधि प्रयोग गरी ठूलो मात्रामा टमाटर खेती सुरु गरेको उनी बताउँछन् । टनेल पनि आफुहरु दुई भाइ मिलेर बनाएको ज्ञवालीको भनाइ छ ।
अहिले सिँचाईको अभाव पनि छैन । उनीसंग आफ्नै प्राइभेट लिफ्टिङ पानी छ । फार्मभन्दा ४ सय मिटर तलबाट लिफ्टिङ पानी ल्याई साढे २ लाख लिटर पानी अट्याउने प्लास्टिक पोखरी समेत बनाएको उनले बताए ।
यसरी प्रविधिसंग जुधेर खेती गर्दा अहिले पुरै लगानी उठाएर पनि ८ लाख भन्दा धेरै नाफामा पुगिसकेको ज्ञवालीको भनाई छ । दाजुभाइ कृषि फार्मले आफ्नो उत्पादन आफै बिक्री गर्दै आएको छ । ‘स्वतन्त्र रुपमा आफैले बजारीकरण गरेका छौं बुचौलियाहरुले नाफा खान पाएका छैनन् । आफ्नो उत्पादन आफैले बजारीकरण गर्दा हुने नाफा र बिचौलियाहरुलाई दिँदा धेरै फरक पर्छ’ उनले भने । अहिले करिब ६ सय क्विन्टल टमाटर उत्पादन भएकोमा ४ सय क्विन्टल गुल्मी र बाँकी बुटवलमा लगेर बेचेको उनको भनाई छ । दैनिक ४० केजी अकबरे खुर्सानी पनि बेच्दै आएको उनी बताउँछन् । आगामी बैशाखदेखि अरु कृषकले यदि आफुसंग मिलेर स्वतन्त्र बजारमा उत्पादन बेच्न चाहेमा आफुले बजारीकरण गरिदिने उनको भनाइ छ । उनले यो वर्ष थप २० रोपनी जग्गा लिजमा लिएर फार्मलाई थप विस्तार गर्न लागेका छन् ।
नक्कली कृषक पोस्ने स्थानीय सरकार पेशेवर कृषि उद्यमी देख्दैन
बेला बेलामा नक्कली किसानले अनुदान पाउँने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् । तर, नाकै मुनि पेशेवर कृषकको फार्म संचालन भइरहँदा पनि अझैसम्म गाउँपालिकाबाट ज्ञवालीको फार्म अनुगमन भएको छैन । स्थानीय तहबाट कुनै अनुदान उनले पाएका छैनन् । ‘कुनै पार्टीको झोले भएको भए मैले अनुदान पाउँथे होला, तर म स्वतन्त्र किसान, टेबल टक गर्न जान भ्याउँदिन, उत्पादन तिर ध्यान दिन्छु । आजसम्म कसैले केही अनुदान दिएको छैन’ उनले भने । वास्तविक किसान पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने र कृषकलाई हौसला दिनुपर्ने उनको भनाइ छ । सरकारले कृषकलाई छुट्याइएको अनुदानमा आफ्नो पनि अधिकार रहेको उनी बताउँछन् । उनले फार्म संचालन गरेबापत २ वर्षको कर समेत तिरिसकेका छन् ।
ज्ञवालीले गाउँमा रोजगारी समेत दिएका छन् । २ जना कामदार पहिलेदेखि नै निरन्तर काम गर्दै आएका छन भने अन्य बेलामा पनि गाउँका धेरैलाई त्यहाँ रोजगार मिलेको छ । आगामी दिनमा सरकारले पनि आफ्नो कर्ममा साथ र सहयोग दिए यस क्षेत्रकै नमुना कृषक बनेर देखाउने हिम्मत २८ वर्षीय ज्ञवालीको रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies