एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मंगलबार गरिएको गिरफ्तारी गैरकानूनी रहेको आदेश दिएको छ । अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ ।
भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाई नाटकीयरूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो । उनका वकिलहरूले उक्त गिरफ्तारी गैरकानूनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटिआई)ले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो ।
पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ती झडपमा ७ सय ५० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार उल्लेख गरेका छन् ।
झण्डै एक हजार ९ सय प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तवावको स्थिति सिर्जना भएको हो ।
केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिएको थियो ।
पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरेको थियो । प्रदर्शनकारीहरूले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेटसमेत भत्काएका छन् ।
यसअघि पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो ।
पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो । मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दैछ । कुरेशीलाई पञ्जाब र खैबर पीमा दंगा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् ।
यसैबीच पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ ।
मंगलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्यांकले देखाएको छ ।
बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्यूरोले मंगलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ ।
दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुनः शुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies