–त्रिपुरा खरेल
पल्ला घरे लखन्तरे, बुढ्यौलीले
जीर्ण भएको छ
सिकुवा, मझेरी चोटाहरूसँगै
आफन्तहरू समेतका लागि
ऊ अजीर्ण भइसकेको छ
घरका आवाज कानमा ठोकिन्छ–
घरका पुराना गाडीहरू
आउटडेटेड भए रे !
ती स्क्र्यापको भाउ लागेछन्
युटिलिटीमा धकेलिएका
बुढो गोरु र गाईहरू पनि
आउटडेटेटकै लिस्टमा छन्
आराले रेटेको बुढो रुखले
रोएर धरान भिजाइसक्यो
बुढो माने स्क्र्यापमा बेचिनु ?
उसको लागि नि युटिलिटी तयार छ
घरखोते बुढो मान्छे झस्किन्छ
कलपुर्जाले चलाएको
एउट सिङ्गो शरीर उसको
घरि खुट्टा दुख्छ, हिँड्न सक्दैन
ओछ्यानमा थलिन्छ
घरि हात कक्रिन्छ
निष्क्रिय बनिदिन्छ
समयले उसलाई पनि
कचकचे बनाएको छ
शरीरका कलपुर्जा चलाउन
लुब्रिकेन्ट चाहिँदो रहेछ
अहिले पैसा सस्तो छ
सामान महँगो छ
सामानले पैसा किन्न सक्छ
पैसाले सामान किनिदैन
मक्किएका हाडजोर्नीलाई
समयको कस लागेको छ
अहिले ऊ मक्किएर
फलाम जत्तिकै भएको छ
गाडीले सर्भिसिङ्ग मागे झैँ
लसिलो झोल सुकेको शरीरले
समयसँग लुब्रिकेन्ट माग्दैछ
समय फर्किएर हेर्दैन
समयलाई उसको खाँचो छैन
समयले भट्टीमा पकाएपछि
अहिले ऊ स्क्र्याप बनेको छ
कुन बखतमा बेचिने हो ?
कहिले आफ्नो पालो आउने हो
समयलाई पर्खिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies