–अच्युतमान सिंह प्रधान ‘उत्सुक’
भन्छन् कसैले नपाएको दुःख पायो भने ‘कुकुरले नपाएको दुःख’ पायो । हो उनले पनि यस धर्तिमा पाइला टेकेदेखि नै सुख भन्नै थाहा पाएकी छैनन् । जन्मना साथ आमाले छोडेर गइन् । बाबुले अर्को बिहे गरे । त्यसपछि हजुर आमाले उनलाई पालिन् । आमाको दुध मुखमा राख्न पाइनन् । हजुर आमाले छिमेकीसँग दुध पैचो मागी मागी खुवाई तिनलाई हुर्काइन् । आमालाई टोकिन भनेर बाबुले उनलाई कहिल्यै पनि माया गरेन । पाँच वर्षको उमेरमा माया गर्ने एउटी हजुर आमाले पनि यस संसारबाट बिदा लिइन् ।
त्यसपछि त बाबु र सौतेनी आमाले आखाको कसिङ्गर झैं व्यवहार गरे । बाबु र सौतेनी आमाबाट उनले कहिले पनि मिठो बोली सुन्न पाइनन् । अनि हजुर आमालाई सम्झेर कति रुन्थिन तिनि । बिहानै सबैरैदेखि राति नसुतेसम्म उनले कहिल्यै पनि फुर्सद पाइनन् । पानी पँधेरादेखि बाख्रा चढाउने, घास दाउरा गर्ने, लुगा धुने, चुलो चौका गर्ने सबै उसले थाप्लोमा थियो । तर, पनि कहिले एक छाक पेटभरी खान पाइनन् । अझ सौतेनी आमाले छोरा जन्माए पछि त उनको काम अझ बढ्यो । सानो बच्चाको थाङ्ग्ला धुनेदेखि स्याहार सुसार गर्ने काम पनि उसले नै गर्नुपर्ने भयो ।
आफ्नो बाबु र सौतेनी आमाले आफ्नो छोरालाई माया गरेको देखेर उनी आफ्नी आमा भएको भए आफूूलाई पनि यस्तै गरेर माया गर्थिन् भनेर सम्झिरहन्थिन् । आफ्नो भाई स्कुलमा पुर्याउन जाने अनि लिन जाने जिम्मा पनि उनकै थियो । भाईलाई स्कुल पुर्याउन र लिन जाँदा आफ्नै उमेरका अरु पनि पढ्न गएको देखि उसलाई पनि स्कुल जाने, पढ्ने रहर निकै लागेर एक दिन डराई डराई आफ्नो बाबुलाई भन्दा नराम्रोसँग पिटाइ खाएकी थिइन । त्यसपछि उनले कहिले पनि पढ्ने कुरो बाबुसँग भन्नै आँट गरिनन् ।
तर, तिनको दुःख पीडा सुन्नै त्यहाँ कोही थिएन । जङ्गलमा दाउरा लिन जान्दा एक्लै रुन्थिन्, आफ्नो हजुर आमालाई सम्झेर आँखाबाट बलिन्द्र आँसुको धारा बगाउँथिइन् । तर तिनलाई सम्झाउने अनि फकाउने कोही थिएन । केही बेर रोएपछि मन हल्का हुन्थ्यो, अनि दाउरा लिएर घर फर्किन्थिइन् । यस्तै रितले समय बित्दै गयो ।
एक दिन पानी लिन पँधेरा जाँदा आफ्नो आमाको उमेरका महिलाहरुले उसलाई देखेर “कठै बिचरा जन्मन्दै आमाले छोडेर गइन् । बाबुले पनि अर्की बिहे गर्यो, माया गर्ने एउटी हजुरआमाले पनि छोडेर गइन् । विचराले कुकुरले पनि नपाएको दुःख पाइन” भनेको कुरा उनले सुनिन् ।
यस्ता कुरा सुनेर उसको मन चसक्क दुख्यो, आँखाबाट आँसुको थोपा चुहियो । उनले उनीहरुले भनेको सबै कुरो बुझै पनि उनको बाल मस्तिकले पटक्कै पनि बुझ्न सकेन कि “के हो कुकुरले पनि नपाएको दुःख पायो भनेको ?” जीवन भोगिरहेकी थिइन्, तर उनलाई आफैंले भोगेको पीडाको तह थाहा थिएन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies