दक्षिणी छिमेकी भारत र अर्को ठूलो शक्ति राष्ट्र अमेरिकामा आमचुनाव नजिकिएको छ । यी दुई मुलुकको चुनावलाई लिएर नेपालमा अनेक राजनीतिक टिप्पणी हुन थालेको छ । विशेषगरी अमेरिकामा अहिलेकै संस्थापन दोहोरिने र भारतमा पनि भारतीय जनता पार्टी (बिजेपी) ले जित्दा वा हार्दा नेपालमा पर्न सक्ने असरबारे व्याख्या गरिदैछ । विशेषगरी भारतमा अहिलेकै संस्थापन बलियो देखिनुलाई चासोका साथ हेरिएको छ । किनकि भर्खरै मतदान भएको मध्य प्रदेश, राजस्थान, छत्तिसगढ जस्ता महत्वपूर्ण प्रदेशमा विजेपीले जितेको छ । अरु प्रदेशमा पनि विजेपीको प्रभाव राम्रो देखिन इन्डियन राष्ट्रिय कंग्रेसले यसपटक पनि नजित्ने अड्कलबाजी भइरहेको छ । तर चुनावी नतिजापछि नै विजेपी वा कंग्रेस कसले भारतको नेतृत्व लिन्छ भन्ने निर्धारण हुनेछ ।
यद्यपि त्यसको असरलाई लिएर मुलुकको राजनीतिक नेतृत्वले समेत धारणा बनाएको देखिन्छ । कुटनीतिका जानकार एवं नेपाल–भारत सम्बन्धमा दख्खल राख्नेहरुले विजेपीको संभावित जितलाई लिएर नेपालको राजनीतिबारे टिप्पणी गर्न थालेको छन् । वितेका केही वर्षमा देखिएको भू–राजनीतिक घटनाक्रमले अमेरिका र भारतको चुनावी परिणामप्रति चासो स्वभाविक देखिन्छ । किनभने नेपालको संविधानप्रति असन्तुष्ट भारतीय संस्थापनले लगातार असहयोगको नीति लिएको देखिन्छ । संविधान जारी भएपछि ६ महिनासम्म नाकाबन्दीमै उत्रिएको भारतले एकपछि अर्को बलमिच्याइ गरिरहेको छ । कतिसम्म भने सन् २०२० मा नेपालको भूमि समेत समेटेर प्रशासनिक नक्सा जारी ग¥यो । त्यसको काउण्टरमा नेपालले पनि लिम्पियाधुरा समेत राखेर नयाँ नक्सा जारी गरेको छ । यसरी बिग्रिएको सम्बन्ध अहिले अनुभूत हुनेगरी सुधार हुन सकेको छैन ।
अमेरिकासँग पनि उस्तै संघर्ष चलिरहेको छ । विशेषगरी अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालको राजनीति नराम्रोसँग उतारचढाब हुन पुगेको थियो । उत्तरी छिमेक चीनले एमसीसीलाई चुनौति दिनेगरी बीआरआई ल्याएको छ । दुवैले आफ्नो परियोजना लिने र अर्काेलाई अस्वीकार गर्न दबाव दिदा नेपालको राजनीति प्रभावित हुन पुगेको छ । यी घटनाक्रमले गर्दा अमेरिका र भारतको संस्थापन परिवर्तनलाई चासोका साथ हेरिएको पाइन्छ । तर यो कुटनैतिक र राजनीतिक कुरा होइन । नेपालले आफ्नो असंलग्न नीतिमा रहेर कुटनैतिक सम्बन्ध सबैसँग समान रुपमा विकास गर्न आवश्यक छ । बाँकी रह्यो, नेपालको राजनीतिक सत्ताको विषय । मुलुकको राजनीतिक सत्ता अन्तर्राष्ट्रिय चासोका आधारमा नभएर जनताको जनादेश र संविधानका आधारमा निर्माण हुनुपर्छ । अनावश्यक भू–राजनीतिक हस्तक्षेप निम्त्याउनेगरी कसैले सोच्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies