वैशाखको दोस्रो साता हुन लाग्दा समेत वर्षा नहुँदा आगलागीको प्रकोप फैलिएको छ । यो महिना मात्रै आगलागीबाट देशभर गरी ७ जनाको मृत्यु र ३० जना घाइते भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ३७१ परिवार घर विहीन बनेका छन् । आगलागीबाट १६ करोड बढी क्षति पुगेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार ५० जिल्लाका झण्डै ३०० वन क्षेत्रमा डढेलो लागेको छ । प्यूठानका २६, सुर्खेतका २४, दाङका १८, बर्दियाका १७, कैलालीका १३, डोटीका १२, डडेलधुराका ११ वनमा डढेलो फैलिएको छ । अरु जिल्लामा पनि डढेलोको प्रकोप डरलाग्दोगरी फैलिएको छ । डढेलोबाट वस्ती जोगाउने चिन्ता बढेको छ ।
वन भएर वस्तीमा डढेलो सल्किदा मानवीय क्षति भइरहेको छ । डढेलोबाट चौपाया, अनाज र घरहरु जलिरहेका छन् । वन्यजन्तु गाउँघर छिर्न थालेका छन् । जंगलमै आगलागी भएपछि प्राकृतिक सम्पदा जलिरहेको छ । तर वस्तीबाट नागरिक जोगाउन अहिले सवैभन्दा महत्वको विषय बनेको छ । जंगलमा डढेलो लाग्दा मानवीय सुरक्षा प्राथमिकतामा पर्नु आवश्यक छ । अझ ठूलो संख्यामा युवा जनशक्ति शहरी क्षेत्रदेखि विदेशसम्म पुगेकाले गाउँघरको वस्ती डढेलोको बढी जोखिममा छन् । यस्तो बेला डढेलोबाट मानवीय सुरक्षा प्राथमिकतामा रहनु जरुरी समेत हो । संभव भएसम्म मानवीय सुरक्षाको प्रयत्न भइरहेको पनि देखिन्छ । तर सुख्खा मौसम र हाराहुरी चलिरहेकाले डढेलो अनियन्त्रित बनिरहेको छ ।
देशभरका जंगल डढिरहँदा आमनागरिक भने भगवान भरोसामा छन् । विकल्प नभएपछि भगवान भरोसाको अवस्था स्वभाविक पनि हो । अहिले वर्षा पर्दा जति ठूलो राहत संभवतः अर्को हुँदैन । तर वर्षा मानवीय संभावनाको विषय होइन । त्यसैले आगलागीबाट बच्नु र बचाउनु नै ठूलो कुरा हो । त्यसपछि मात्रै भविष्यबारे सोच्न सकिन्छ । भविष्यकै कुरा गर्दा सरकार र समुदायले पूर्वसर्तकता अपनाउन बढी आवश्यक छ । आगो र आगोजन्य पदार्थमा ध्यान दिनु सवैभन्दा बुद्धिमानी हो । विजुलीका तारहरु व्यवस्थित बनाउनु, घरायसी उपकरणमा ध्यान दिनु, यदि आगलागी भइहालेमा घाइतेलाई अस्पतालसम्म तत्काल लैजाने विकल्पमा ध्यान दिन अवश्यक छ । यसमा स्थानीय समुदाय र तीनै तहका सरकार सचेत रहनुपर्छ । अग्नी रेखा निर्माण, डढेलो नियन्त्रणका अन्य व्यवस्थित विकल्पहरुबारे समेत आवश्यक तयारी गर्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies