मध्यपूर्वी मुलुक कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको भ्रमणलाई नेपाल सरकारले उच्च महत्व दिएको छ । पहिलोपटक नेपाल आएका अमिरको स्वागतार्थ सरकारले मंगलबार सार्वजनिक विदा नै दिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल आएका कतारी अमिरलाई स्वागत गर्न स्वयं राष्ट्रपति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति आफै स्वागत गर्न विमानस्थल पुग्नुको अर्थ उच्च पाहुनाको सम्मान दिनु हो । यसअघि चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं आउँदा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थल पुगेरै स्वागत गरेकी थिइन् । पाहुनाको सम्मान समकक्षीबाटै गर्ने परम्परा अनुसार कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल मंगलबार विमानस्थल पुगेका हुन् । दुई दिने नेपाल भ्रमणका क्रममा कतारी अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।
सन् २००० मा कतारमा दूतावास सञ्चालन गरेको नेपालका तर्फबाट पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले कतारको भ्रमण गरिसकेका छन् । तर कतारबाट यो तहको भ्रमण भएको थिएन । यसपटक फिलिपिन्स र बंगलादेश हुँदै कतारी अमिर काठमाडौं भ्रमणमा आएका हुन् । पहिलोपटक भ्रमण भएकाले उच्च सम्मानका निम्ति राजधानी उपत्यका सिंगार्ने, उच्च सुरक्षा व्यवस्था मिलाउनेदेखि सार्वजनिक विदा नै दिइएको हो । नेपालले कतारी अमिरको स्वागतलाई उच्च महत्व दिनुमा दुई देश बीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य नै हो । नेपालको भ्रमणमा आउने पाहुना मध्ये छिमेकी मुलुकहरु पछि संभवतः कतारी अमिर काठमाडौं आउनुलाई आमचासो समेत दिइएको पाइन्छ ।
कतारी अमिरको भ्रमणलाई यो तहको सम्मान र चासो दिइनुको कारण नेपालको कतारसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुँदै जानु हो । कतारमा अहिले साढे तीन लाख नेपाली कामदार रहेको अनुमान गरिन्छ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य बनेको कतारमा सीप नभएका कामदार ठूलो संख्यामा छन् । यसरी कतार पुगेर आएको रेमिट्यान्सले नेपालको गरिबी न्यूनिकरण र सामाजिक–आर्थिक विकासमा ठूलो योगदान पुगेको छ । विशेषगरी न्यून आय भएका परिवारबाट कतार जाने प्रवृत्ति रहेकाले पनि कतारी अमिरको भ्रमण आमचासोमा परेका हुन् । त्यसैले सरकारले कतारी अमिरसँग हुने वार्ताको प्राथमिकता नेपाली श्रमिकको सेवासुविधा र सुरक्षा नै पर्न आवश्यक छ । सँगै कतारी अमिरले पनि नेपाली श्रमिकबारे विशेष चासो दिन जरुरी छ । किनकि आजको कतार निर्माणमा नेपाली श्रमिकको पसिना अलग गर्न सकिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies