काठमाडौं : ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । विभिन्न चरणको प्रतियोगी छनोट अडिसनबाट पुरुष र महिला गरेर यी प्रतियोगी छानिन सफल भएका हुन् । छानिएका प्रतियोगीमा २२ जना महिला र १६ जना पुरुष रहेका छन् ।
प्रतियोगिताको यो आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगिताको यो संस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान थियो । देशभरबाट सहभागी थुप्रै मोडलबाट ३८ जना छानिएका हुन् ।
छानिएका सबै प्रतियोगी अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ । प्रतियोगिता सांगीतिक कार्यक्रमसहित भव्यरुपमा आयोजना हुने धमलाले जानकारी दिए ।
प्रतियोगिताको फाइनल स्पर्धा आगामी २९ डिसेम्बर अर्थात पुस १२ गते होटल सोल्टीमा आयोजना हुनेछ । प्रतियोगिताको पुरुष विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियोमा अभिनयको अवसर तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले आयोजना गरेको प्रतियोगिताले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउनुको साथै दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies