काठमाडौं : निरन्तरको प्रतीक्षा पछि पनि मलेसियाको रोजगारी नखुल्दा स्वास्थ्य संस्थाका सञ्चालक, वैदेशिक रोजगार व्यवसायीहरु एवं मलेसियाको रोजगारमा जान चाहेका कामदारहरु चिन्तित बनेका छन् । मलेसियाको रोजगारी सुचारु भएपछि रोकिएर रहेका डिमाण्ड आई व्यवसाय पहिलेकै लयमा फर्की बढेको धरौटी राख्न सहज हुने आशमा रहेका व्यवसायीहरु बढी तनावमा देखिएका छन् ।
वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र लिएका मध्ये ६० प्रतिशत भन्दा बढी व्यवसायीहरु मलेसिया केन्द्रित रहेका थिए । पछिल्लो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको सूचीकरण गरेर मलेसिया पठाएको बताइएपनि मलेसियाले ती संस्थाहरुलाई आफ्नो प्रणालीमा सूचीकरण गरेको छैन ।
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिष्टमले आफ्नो मुलुकमा आउने विदेशी कामदारको व्यवस्थापन गर्ने गर्दछ । मन्त्री स्तरीय निर्णयपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन २० गते मलेसिया रोजगारीका जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत १ सय २२ मेडिकलको नाम पठाएपनि मलेसियाले आइतबारसम्म नयाँ सूचीलाई अपलोड गरेको छैन ।
मलेसियाको फरेन वर्कर सेन्ट्रलाईज्ड म्यानेजमेन्ट सिष्टमको वेभ साइटको श्रोत मुलुकमा रहेका मेडिकलहरुको सूचीमा नेपालका ३७ वटा मेडिकलहरुको पुरानै सूची रहेको छ । उक्त सूचीमा बंगलादेशका १७, क्याम्बोडियाका दुई, चीनका चार, भारतका १५, ईण्डोनेशियाका ७३, म्यानमारका ४, पाकिस्तानका ६, फिलिपिन्सका ३७, श्रीलंकाका तीन, थाईल्याण्डका २ र भियतनामका तीन मेडिकल सूचीकृत देखिएका छन् । नेपालको माग बमोजिम मेडिकल सूचीकरण भएमा सबै भन्दा बढी मेडिकल नेपालका हुने छन् । हाल मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिष्टममा ईण्डोनेशियापछि नेपाल र फिलिपिन्सका समान ३७ मेडिकल सुचीकृत रहेका छन् ।
नेपालले साउन २० गते नै सूचीकृत मेडिकलको सूची पठाएको र तत्कालै उनीहरु मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिष्टममा सूचीकृत हुने अपेक्षा गरिएको थियो । तर, दुई हप्ता लामो समय हुन लाग्दा पनि मलेसियाको सिष्टममा नेपालका नयाँ स्वास्थ्य संस्थाहरु सूचीकरण नहुँदा कतिपयले मलेसियाले नेपालले पठाएको नयाँ लिष्ट स्वीकार नगरेको आशंका बढेको छ ।
मन्त्रालयको सूचनापछि २ सय ९६ वटा संस्थाहरुले मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न भन्दै एक करोड भन्दा बढी लगानी थपेर स्वास्थ्य संस्थाको निर्माण गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकरण हुने तर, मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नपाए आफुहरुले चर्को व्याजमा लिएको ऋण लगानी डुब्ने खतरा रहेको सूचीकृत एक मेडिकल संस्थाका सञ्चालकले गुनासो गरे ।
नेपाल र मलेसियाबीच गत कातिकमा द्विपक्षीय श्रम समझादारी भएको थियो । तर, दश महिना लामो समय गुज्रिदा पनि नेपाली कामदार जान पाएका छैनन् । मलेसियाले नयाँ संस्थालाई आफ्नो संयन्त्रमा समावेश गरे श्रम, सम्झौताअनुसार नयाँ कामदार जाने बाटो खुल्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies