काठमाडौं : मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुची रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्नसमेत सुझाएकी छन् ।
शुक्रबारबाट ललितपुरको जावलाखेलमा सञ्चालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकाले प्रयोग गर्न सजिलोसमेत रहेको धारणा राखिन् ।
‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मूल्य सुहाउँदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन्, ‘बुटिकमा आफूले चाहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहकप्रतिको जिम्मेवारीमा अन्यभन्दा बुटिक अलि बढी जिम्मेवार हुने गरेको आफूले पाएको उनले सुनाइन् ।
‘बुटिकका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ । अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु,’ उनले थपिन् ।
प्रधान ‘मिस वल्र्ड’को तयारी गरिरहेकी छन् । ‘मिस वल्र्ड’को प्लेटर्फममा पनि उनी नेपाली विभिन्न कलासंस्कृति र वातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनी नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कुल अफ फेसनसँगको छलफलमा छिन् । मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वल्र्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् ।
क्वीन कलेक्सन मेनका रानाले सञ्चालनमा ल्याएकी हुन् । मेनका आइआइएफटी स्कुल ओफ फेसन ललितपुरकी विद्यार्थी हुन् । आफूले अध्ययन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उद्देश्यले क्वीन कलेक्सन सञ्चालनमा ल्याएको रानाले बताइन् ।
‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको विभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कुल अफ फेसनसँग जोडिएँ,’ रानाले भनिन्, ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोलें ।’ फेसनमा गुणस्तरीय र आकर्षक पहिरन सस्तो मूल्यामा उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
‘मेरो बुटिक भीआईपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो । मेरो उद्देश्य फेसनमा सबैको पहुँच होस् भन्ने छ,’ उनले अगाडि थपिन्, ‘हामी मानिसको इच्छाअनुसारको डिजाइनसमेत तयार गरेर दिन्छौं ।’
कार्यक्रममा आइआइएफटी स्कुल अफ फेसन इन्टेरियर डिजाइनका कार्यकारी प्रबन्धक विपना थापाले आफ्नो स्कुलको विद्यार्थी व्यावसायिकरुपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन् । उनले मेनकाको आँट र क्रियाशीलताबाट आफू प्रभावित भएको बताउँदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन् ।
क्वीन कलेक्सनमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन् । नेपाली पहिरन र कल्चरलाई विशेष प्रथामिकतामा राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारका ड्रेस पाउनुका साथै नयाँ बनाउन सकिनेछ ।
विश्व बजारमा चलेका र आकर्षक डिजाइनसमेत उपलब्ध हुने बुटिकमा आफूलाई मनपर्ने डिजाइन उचित मूल्यमा तयार गर्न लगाउन पनि सकिने सञ्चालक मेनकाले बताइन् । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंगसंयोजनमा समेत विशेष ध्यान दिने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies