राजन बस्नेत/मध्यान्ह
दोलखा : गत शनिबारबाट शुरु भएको भैरव कुमारी पर्व आज समापन गरिँदैछ । गाईजात्राको शनिबारदेखि पाँच रात लगातार दोलखा बजारको मन्दिर र टोलहरूमा देखाइने भैरव कुमारी जात्रा आज राति समापन गर्न लागिएको हो ।
टँसिचा टोलमा रहेको कुमारी घरबाट भैरव, कुमारीकी आमा (नकिन), घोडचढी र जाल हान्नेसहित १३ जनाको समूह आकर्षक शैलीमा नाच्दै देखाइने जात्रा शनिबार साँझबाट शुरु भएको थियो ।
पर्वका अवसरमा मनको इच्छा पूरा हुने विश्वासका साथ दोलखाका इच्छुक नारीहरू व्रत बस्ने गर्छन् । बिहानदेखि भोको बसेर साँझ जात्रा निकाले पूजापाठ गरेपछि उनीहरूले खाना खाने स्थानीयवासी हर्क बहादुर श्रेष्ठले जानकारी दिए । पाँच सय वर्ष पुरानो भैरव कुमारी जात्रामा देशका विभिन्न भागबाट मनको इच्छा पूरा हुने विश्वासले श्रद्धालुहरु आउने गर्छन् ।
दर्शन गर्न, पूजापाठ गर्न र चढाइएका अविर, अक्षता र फूलहरू संकलन गरी लान रातभर रमाइलो गर्दै सहभागीहरू नाच्नेहरूको अघिपछि हिँड्छन् । जात्रा अवधिको ५ रात दोलखा बजारवासी जागै बस्छन् भने होटल र पसल खुला हुन्छन् ।
द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको जनविश्वास छ ।
तान्त्रिक विधि गरेर शुरु गरिने जात्रा निकाल्नुअघि व्रत बस्ने महिलाहरू दिनभर नखाइ टँसिचाटोलको गुठीघरमा भेला हुन्छन् भने व्रत बस्नका लागि बिहे भएर गएका चेलीबेटी माइती फर्कन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies