–मिम लाल श्रेष्ठ
चार वर्षपछि पुनहिल यात्रा, मनमा उमङ्ग र उत्साह छ । माछापुच्छ्र्रे कस्ती भइहोली ? धम्पुस गाउँ र नौडाडाको लोभलाग्दो स्मृति अनायासै आँखामा चुम्बकझै टाँसीन आउँछ । पञ्चासे डाँडा छिचोलेका मेरा पाइलाहरू अझै मेटिएका छैनन् होला ? मोदी खोलाका मिठा माछा सम्झेर मुख रसाउँछ । चार वर्षअघि मनमोहक पुनहिल चुमेको स्मृतिको प्रतिबिम्ब फेवातालमा बिलिन भइसकेको छैन । सुनसान रातमा निन्द्राबाट झल्यास्स ब्यूँझन्छु । रातीको दुई बजेको हुन्छ । निदाउने प्रयास गर्छु तर, सक्दिनँ । छटपटी र लामो सुस्केराहरूले बाँकी रात छिचोल्छन् । थाहै भएन, मिर्मिरे उज्यालो धरतीमा झरिसकेछ ।
सिल्क र उतजेब नेपाल घुम्न आएका छन् । उनीहरू दुवै जर्मन नागरिक हुन् । सिल्क पहिलो पटक नेपाल आएकी हुन् तर, उतजेब यसअघि पनि आएकी थिइन् । मैले अघिल्लो साँझ नै दुवै जनालाई भोली सबैरे उठ्नुपर्छ भनेको थिएँ । विदेशी वचनका पक्का हुन्छन् । सिल्क र उतजेब बिहान सबेरै उठी, हातमुख धोएर झोला मिलाए । उनीहरू यात्राका लागि तयार भए । हामीले सँगै कफि पियौं अनि निमेशभरमा खुसी हुँदै घरबाट निस्कियौं ।
छल्र्लङ्ग उज्यालो भइसकेको छ । हामी ट्याक्सी चढेर सोह्रखुट्टेतिर लाग्छौं । त्यहाँ स्वीफ्ट होलिडेजको बसले हामीलाई पर्खिरहेको हुन्छ । शरद् ऋतुमा पहाड र हिमालतिर जाने पर्यटकहरू बस चढ्न आतुर भइरहेका छन् । हामीले हाम्रा झोलाहरू बसको सह–चालकलाई जिम्मा दियौं र सबैजना सफा बसभित्र बस्यौं । छिनभरमा बस पोखरा जान काठमाडौंबाट छुटिहाल्यो ।
बस काठमाडौंलाई सुस्तरी छिचोल्दै पश्चिमतिर लाग्छ । काठमाडौं निन्द्राबाट पूर्णरूपमा नब्यूूँझिँदै हामी नागढुंगा पुग्छौं । त्यहाँबाट हामीले बल्ल निन्द्राबाट ब्यूूँझिसकेका गाउँबस्ति देख्छौँ । हरिया पहाड र हिमश्रृंखलाहरू देख्छौं । बसको झ्यालभित्रबाट पर्यटकहरू मोबाइल झिकेर सुन्दर पहाड र हिमश्रृंखलाका फोटा खिच्न थाल्छन् । म चाँहि मनमनै आहा ! हाम्रो नेपाल भन्दै फुरुङ्ग हुन्छु । बस नौबिसेमा रोकियो । त्यहाँ हामीले तातो कफि पियौं । आँखा पहाडतिर नाँचे । खुड्कीला जस्तो हरियो खेतमा ग्रामीण सभ्यताका स–साना घरहरूको समूूह मानौं त्यो कुनै जादुगरले बनाएको चित्रजस्तो देखिन्थ्यो । त्यसलाई थापा गाउँ भन्दा रहेछन् । निमेशभरमा बस गुडीहाल्यो । झ्यालबाट फुलबुट्टे गाउँबस्ती, वनजङ्गल, पहरा, छहरा, दक्षिणतिर बगेका स–साना नदीहरू हेरेर म सबथोक बिर्सन्छु ।
केही समयपछि हामी मलेखु पुग्छौं । त्यहाँ त्रिशुली नदीको किनारमा बसेर हामीले खाजा खायौं । त्रिशुलीको पानी निक्कै धमिलो थियो । पानीसँगै बगेर आएका फोहोरहरू किनारमा थुपार्न त्रिशुलीको छेउकुना पोखरी झै घुमिरहेको दृश्य हामीले अचम्म मानेर हेर्यौं । पर्यटकहरूले फोटो खिचे, मैले खिचिनँ । मैले सम्झे, फोहोर नदीमा माछाहरूको जिन्दगी, फोहोरले गाँजेको प्रकृति र मनुष्यहरूको फोहोर प्रवृत्ति.....। मैले लामो स्वास फेरेँ । बसको हर्न बज्यो । हामी बसभित्र बस्यौं र अघि बढ्यौं ।
धमिलो पानी बोकेर त्रिशुली दक्षिणतिर बगिरह्यो । हामी पश्चिमतिर गुड्यौ । कतिबेला धादिङ्ग कटियो पत्तै भएन । एकैछिनमा तनहुँको ब्यास नगरपालिका–१२ मा पुगिसकेछौं । त्यहाँ पुनः बस रोकियो । हामीले कफी पियौं र निमेशभरमा त्यहाँबाट पोखरातर्फ लाग्यौं । पोखरा नपुगुन्जेल सडकमा एकबित्ता कालोपत्रे देखिएन । मैले सम्झिए देशको राजनीति र राजनीतिको क्यान्सर लागेको विकासको बिम्ब ।
धुलोमैलोमा गुडेको बसले जब सेतीको सिमाना छिचोल्यो तब मन फुरुङ्ग भयो । कालो रंगको पातलो बादलले आकाश ढाकेको थियो । मसिना पानीका थोपाहरू प्रकृतिमा खसिरहे । साँझको कुहिरोभित्र माछापुच्छ्रे लुक्यो । तुवालोभित्र पहाडहरू लुके । मधुरो गोधुलीभित्र सेती लुक्यो । सुन्दर पोखरा नै लुके झै लाग्यो र मेरो उमङ्ग पनि लुक्यो । हामी बेलुका ५ः५० बजे पोखरा पुग्यौं ।
मेरा पुरानो साथी निर्मल थापा ट्याक्सी लिएर हामीलाई लिन त्यहाँ आईपुगे । बेलुका ६ः१० बजे हामी होटल प्लाजा अन्नपूर्णमा पुग्यौं । त्यहाँ आधा घण्टा विश्राम गरेपछि सबैजना साँझको फेवाताल अवलोकन गर्न निस्कियौँ । आकाशको बादल हटेको थिएन । तर, जमिनको पानी ओभाइसकेको थियो । बिजुलीको झिलिमिली तारापुञ्जभित्र पोखरा नामको सुन्दरी सहर श्रृगारिएर थपक्कै बलेको थियो । विश्वमुलका मानिसहरू सडकमा देखिन्थे । उनीहरू दक्षिण फेवाताल किनारतर्फ जान हतार गर्थे । फेवाताललाई पर्खाल बनाएर बिजुलीको उज्योलमा सेल्फी खिच्नु तिनको निम्ति पृथ्वीलोकमा सबैभन्दा आनन्दको क्षण बनेझै देखिन्थ्यो । हामी खुसी हुँदै फेवातालको किनारको भ्रमण गर्यौँ ।
बाटो चित्रकारले कोरेको रेखाजस्तो सुन्दर थियो अनि देब्रेपट्टी महारानी एलिजाबेथको स्वर्ग जान बाटातर्फ गमलामा रोपेका फुलहरूजस्ता सुन्दर स–साना खानाका पसलहरू देखेर हामी छक्क पर्यौं । कसैले भर्खर चुँडेर फालेका फुलजस्ता सुन्दरी पसलको आँगनमा बसेर अतिथि बोलाउँथे । हामीले त्यो चित्रकारी रमझम हेर्यौं मात्र । केही समय फेवातालको छेउमा तस्विर खिचेपछि हामी त्यो रात बस्ने होटलतर्फ आयौं । बाटोमा आकर्षक चिल्लिवार रेष्टुरेण्ट देख्यौं । मन लोभियो । हामीले बेलुकाको खाना त्यहीँ खायौँ । अनि सुत्नको लागि कृष्ण लामाको होटल प्लाजा अन्नपूर्णमा आयौं ।
दोस्रो दिन, थकान खासै थिएन । बिहानै निद्राले छोडिहाल्यो । पोखरालाई कुहिरोले छपक्क ढाकेर मसिनो पानी परिरहेको थियो । मन चिसो भयो । दिनभरी पानी परिरह्यो भने उल्लेरी कसरी पुग्ने ? यात्रा सोचेझै नहुने होला भनेर मन नरमाईलो भयो । तर, जानु त छ नै । हामीले किहानको खाजा र कफि खायौं । अनि उल्लेरीसम्मको यात्राको निम्ति तयार भयौं । मेरा मित्र निर्मलले तुरुन्त ट्याक्सी लिएर आए । हामी आकाशबाट बर्सिरहेको सानो पानीमा भिज्दै ट्याक्सीमा बस्यौंँ । ट्याक्सी उत्तरतिर हुँइकियो । एकैछिनमा ट्याक्सी रोकेर तीनवटा रेनकोट किनेर झोलामा हाँले अनि तुरुन्त ट्याक्सीमा बसिहालेँ । झिमझिम पानी परिरह्यो । उत्तरतिर गुडेको ट्याक्सी रोकिएन । सफा रोडमा ट्याक्सी गुडिरह्यो । मेरोे मष्तिक्सले भन्यो– यो सुन्दर पोखरा हो । तर, निमेशभरमा सेती नदी देखियो । किनारको कच्ची सडकमा ट्याक्सी गुड्यो । सडक हिलो, मैलो र फोहोर थियो ।
पश्चिमका धेरै जिल्लामा सवारी गुड्ने त्यो सडकको अवस्था दयनीय थियो । मैले सम्झिए पोखराका मेयर धनराज आचार्य । मेरा धेरै प्रश्न जन्मिए । हामीले सेतीको पुल तरिहाल्यौँ । बादलमाथि माछापुच्छ्रे हिमालका चुचुराहरू देखिन थाले । वारी हरियो नौंडाडा, पारी हिमाल अनि बिहानीपखा प्रकृतिमा पोखीएको सुन्दर घामको चित्रकारी प्रकृतिको बुलबुट्टे हेम्जा सडक ट्याक्सी गुडिरह्यो । महाकवि देवकोटाले भनेझै सुन्दर, शान्त, विशाल नेपाल मैले घुमफिर गरेका विदेशमा यो चित्रकारी प्रकृतिको सौन्दर्य त्यहाँ देखेको थिइँन । तन्नेरी पहाडका हरियो वनको स्वच्छताभित्र तपस्वी चित्रकारले कोरेको रेखाजस्तो सफा र सुन्दर सडक आधा घण्टा उकालो चढेपछि मनमोहक लुम्ले आईपुग्यो । बाक्लो कुहिरोले लुम्लेको डाँडालाई छपक्कै ढाकेको थियो । लुम्लेकटेपछि सडकमुनि कुहिरो सुतेको देख्यौं । फुटेको सिसाझैं सडकमुनी कुहिरोका स–साना प्वालबाट तलका भिरालो खेत, नदी र स–साना फुलबुट्टे घरहरू देखिन्थे । एकजना अपाङ्ग मानिस वैशाखी टेकेर मर्निङ वाक हिँडिरहेका थिए । अलि पर अर्धबैंसे गर्भिनी पनि लोग्नेको हात समातेर सुस्तरी मर्निङ्ग वाक हिँडिरहेकी थिइन् । करिब तीन घण्टा स्वीजरल्याण्डका पहाड छिचोलेझै ट्याक्सीमा गुडेपछि हामी नयाँ पुल तरेर रोकियौं । बिरेठाँटीबाट हाम्रो पैदल यात्रा सुरु भयो । हामी बरौंदी खोलाको तिरैतिर उकालो चढ्यौं । वर्षौंअघिको पदयात्रीको गोरेटोमा अहिले सडक बनेछ । बुढाबुढी पर्यटकहरू सुमो र उपलव्ध सवारी साधानमा पहाड जाँदा रहेछन् । बाटोमा पदयात्रीबाहेक पातलो पहाडे बस्तीमा मानिसहरू कतै देखिँदैनथे ।
डेढ घण्टा हिँडेपछि कच्ची सडकको घुम्तीमा तिरतिर धारोको चौतारीमा एउटी विवाहित तन्नेरी अम्बा बेच्न बसेकी भेट्यौं । उनको सात वर्षको छोरोसँगै रहेछ । बच्चो अति चञ्चल भएकाले बरौदी खोलामा खस्ला भन्ने ठूूलो चिन्ता उनलाई रहेछ । मैले उनीसँग एक किलो अम्बा किनेर झोलामा बोँके । मुलको चिसो पानी पिएर त्यहाँबाट फेरि उकालो चढ्यौं । मध्यान्ह भैसकेको थियो । भिरालो चउरमा राँगाभैसी चराईरहेकी एउटी आईमाई भेट्यौं । उनी बोलीनन् ।
बाटोमा पाडापाडी चरेर हाम्रो बाटो छेके । हामीले डराउँदै बाटो काटेर उकालो चढ्यौं । बिरेठाटीबाट करिब १२ किलोमिटर कच्ची सडक हिँडेपछि हामी हिलेमा पुग्यौं । वारी कास्की पारी पर्वतबीचको खोचमा बरौंदी खोला । कास्कीबाट हात लम्काए छुन सकिएला झैं पारी पर्वतका स–साना झुपडीले भरिएको पातलो गाउँ । पारी गाउँका मानीसहरू आफ्नो घरमा पसेको निस्किएको प्रष्ट देखिने सुन्दर हिलेबाट हाम्रा पाइला अघि बढेनन् । भिरालो र हरियो खेतको बीचमा त्यो सफा घरको आँगनमा हामी उभियौं । अनायासै पिँढिमा बसिरहेका तीन वटी तामाङ्नीहरूले हामीलाई खाना खान आग्रह गरे । घरको बार्दली हुँदै हामी पश्चिमतिर छिरेर फराकिलो काठको कौशीमा फुलबुट्टे ठूूलो छातामुनि बस्यौं । त्यो थकानबीच विश्रामको छोटो अवधिमा आँखा चुम्ने त्यो सुन्दर प्रकृति र प्राचिन मानव सभ्यताको चित्रकारी हातेमालो देखेर हामी छक्क पर्यौं । मैले सम्झे अभागी ईश्वर । बाटोमा रोइबस्ने ईश्वर । जमेको पानी र झरेको फूलले दुर्गन्धित बनेको अभागी ईश्वर सम्झेर उसलाई प्रश्न गरेँ, ईश्वरभन्दा मनुष्य जीवन कति उच्च छ । पवित्र र शुन्यमय स्वर्गलोकभन्दा मनुष्यजीवनले धारणा गरेको प्रकृति कति विचित्रता र विशालता छ ।
हिलेको उत्तरतर्फ पर्वतको डाँडाबाट दुधका छहरा झरेझैं नदीनाला झरेका, वारीपारी धान झुलेका । वारी बस्तीमा मानव सभ्यताको प्राचीन रूप, भिरालो पहाडमा पातलो बस्ती । बाटो भुलेर हराएझै हामी एकछिन टोलायौं । कान्छी तामाङ्नीले छिनभरमा खाना लिएर आइन् । हामीले मिठोमान्दै तातो दालभात खायौं । फेरि उकालो चढ्नु छ । त्यहाँबाट हिँड्ने तयारी गर्र्यौं । तीनै जना तामाङ्नीले हामीलाई फेरी पनि आउनुहोला भनेका थिए । हामीले त्यहाँ फोटो खिच्यौं र हुन्छ भन्दै अघि बढ्यौं ।
केही समय खेतैखेत सिधा अघि बढेपछि तिखेढुंगा पुग्यौं । करिब १५–२० वर्ष अघि अन्नपूर्ण सर्किटको यात्रा गर्दा पहिलोपटक बसेको त्यो गेष्टहाउस अझै पनि उस्तै देखेँ । पदयात्राको पुरानो स्मृतिले हृदय फुलेर आयो । एकछिन उभियौं । गेष्टहाउस भरिभराउ थियो । हामी त्यहाँबाट पनि अघि बढ्यौं । तिखेढुंगाको पुल तरेपछि उल्लेरीसम्म करिब तीन घण्टा उकालो सुरु हुन्छ । पर्यटक, पथप्रदर्शक र भरियाहरूको बाक्लो लहरसँगै हामी पनि पहाडमा नाक ठोक्दै उकालो चढ्यौं । पर्खालबिनाको चीनको ग्रेटवालजस्तो ढुंगामा कलात्मक खुड्कीलाहरूमा धुलो र मैलो कतै थिएन । छेउछेउमा भरीयालाई भारी बिसाउन बनाईएका चौतारीहरू झनै सफा र आकर्षक थिए । जति उकालो चढ्यो उति थकान महशुष हुन्थ्यो । तर, चाँदीका खुड्कीलाहरूमा टेकेर उकालो चढेको महशुष हमेशा हुन्थ्यो ।
एक घण्टा उकालो चढेपछि सिमसिम पानी परिहाल्यो । हामी छेवेको बिसौनीमा बस्यौं । त्यहाँ एउटी अर्धवैशे आईमाई पानी, फ्रुटी, बिस्कुट, चाउचाउ बेच्न बसेकी रहेछिन् । उनले हामीसँग गुनासो पोख्दै भनिन्, “पहिलेजस्तो अहिले व्यापार छैन । सडकबाट खुलेसँगै पदयात्रा संस्कृति संकटमा परेको छ । दिनभरी बाटो ढुक्यो । व्यापार छैन । साँझ परेपछि खाली हात घर फर्किनुपर्छ ।” हामीले उनको कुरामा होमा हो मिलायौं । सिमसिम पानी रोकियो । फेरि हामी उकालो चढ्यौं । बाटोमा पानीको मुहान कतै भेटिएन । बेलुका ६ बजेतिर हामी उल्लेरी पुग्यौँ र त्यो रात होटल अन्नपूर्णमा बस्यौँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies