–प्रेम न्यौपाने ‘प्रहर’
पारी घरे काइँला मरणासन्न अवस्थामा अस्पतालको पलङ्गमा लम्पसार रहेछ । बिहान घाँस काट्न गएको मान्छे कताबाट लडेर ढाड भाँचेछ, खुट्टा भाँचेछ, टाउको फुुटाएछ ? घरमा पुग्न अबेर भएपछि खोजी गर्दा जङ्गलमा बेहोश भेटिएको रहेछ ।
अबेर राती खबर सुनेँ । बिहानै हेर्न जाने विचार श्रीमतीलाई सुनाएँ । उनले बिहानै चौंसुर र अरु के–के ताजा र तगड़ा खानेकुरा बनाएर पोको पारिदिइन् । म बोकेर हिड़ेँ ।
जिम्बलबाको आँगन निस्केर जाने बाटो हुनाले जिम्बलबाले प्रश्न तेस्र्याई हाले, “कता हिँड्यौ हौ साइँला भाई ?”
“नमस्कार जिम्बल बा । पारी काइँला अस्पताल परेछ नी त, यसो के कसो हो हेर्न हिँडेको”, मेरो सोझो उत्तर ।
“ए काँइलो हेर्न गाको हो । अब त्यसको काल आएको होला । बाँच्दैन होला । भीर भीर किन मुन्ट्या हो, बिहान बिहानै । त्यो घाँस निहुँ मात्र भो त्यसलाई ।”
“तपाईं जानुभो हेर्न ?” मैले जिज्ञासा राखें ।
“गइनँ । अब कोही लडेर मर्छन्, कोही के भएर मर्छन्, कहाँ सबै दुनियाँ हेर्न भ्याइन्छ र । मरिहाल्यो भने बरू मलामी जानुपर्ला ।” जिम्बल बाभित्र पसे । जिम्बल बाका कुराले चित्त बुझेन मेरो । “होस्, म त जानुपर्छ बिचरा सोझो मान्छे” भन्ने सोचेर म अगाडि बढेँ ।
एकघण्टा जतिको यात्रा पछि अस्पताल पुगेँ । सानी छोरी छेउमा रहिछ ।
“नानी के भयो यस्तो बालाई । कस्तो छ अहिले ? डाक्टरले के भन्दैछन् ?”
सानो रुमालले आशुँ र सिँगान पुछ्दै “खोई केही भन्या छैनन् डाक्टरले । दाजु दवाई लिन गाको छ । दाजुलाई थाह छ डाक्टरको रिपोर्ट” भनी ।
म छेउमा गएँ । काइँला निदाएको रहेछ । शिरमा पट्टी बाँधेको थियो । हलुका कम्बल उठाएँ, खुट्टामा पनि पट्टी बाँधेको रहेछ । “केही हुँदैन नानी । कैले काँही आपद आईपर्छ । अत्तालिनु हुँदैन, सबै ठिक भैहाल्छ” भन्दै शान्तवना दिएँ ।
रुपेश एउटा थैलीमा केही दवाई र एक कप चिया लिएर आइपुग्यो । “सरु ला, चिया खा” भन्दै सानीलाई चिया दियो र बाउको लुगाहरू मिलाए जस्तो गर्यो । “रुपेश ! डाक्टरले केही भने ? एक्सरे भयो ?” मैले सोधें ।
“एक्सरे भयो बडा । कुहिनाको हड्डी चाँही फुटेको छ अरे । टाउकोमा अलिलि चोट छ, खुट्टा मर्केको मात्र छ अरे । नअत्तालिनु भनेको छ । दवाई पुर्याउन सके हप्तादिनसम्म राख्छ अरे”, रुपेशले उसले जानेजति भन्यो ।
काइँला थोरै चल्मलायो । आँखा खोलेछ । “आइ या..या..या..या...” भन्दै यता उता गर्न थाल्यो । मैले झोला दिँदै सानीलाई “यो बाबुलाई ख्वाइदेउ त । विचरा भोक लाग्यो होला ।” भनें ।
दुधमा हालेर पकाएको चौंसुर, मेथी, ज्वानो काइँलाले सबै खायो । अर्को टिफिनमा भुटेको साग र भात थियो, दाजु बहिनीले बाँडेर खाए ।
“दवाई किन्ने पैसा छ के बोकेको ?” सोधेँ ।
“छ बडा दुई हजार जति ।” मैले थप पाँच हजार हातमा राखिदिएँ, “यो राख पुग अपुग काम लाग्छ । म अहिले निस्केँ । बेलुका फेरि म खाना लिएर आउँला । दिउँसो पालो गर्दै खाजा खानु दुई जनाले ।” भन्दै म निस्केँ ।
जिम्बल बाले अब के भन्ने हुन् भन्ने सोच्दै उनको आँगनमा पुगेँ । धन्न छैन रहेछन्, ढुक्क लाग्यो ।
आफ्नो घरको तानतुन काम सकेँ हतार–हतार । श्रीमतीले बेलुकाको लागि बिरामीले खाने लायकको खाना तयार पारिन् । म बोकेर हिँडे । धन्न जिम्बल बा आइपुग्या थिएनन् क्यार, म सरासर अस्पताल पुगेँ ।
दाजुबहिनी बसिरहेका थिए । छेउमा भएको सानो टेबलमा बिस्कुट, ब्रेड, कर्नफ्लेक्स इत्यादि अटी नअटी थियो । बिरामी हेर्न आउने शुभचिन्तकहरूको सोचाई र बुझाई देखेर आफैलाई भित्रबाट कुतकुती लागेर आयो । हातको झोला दिँदै “लौ, पहिला बाबुलाई खुवाउ, अनि रुपेश खानु । सरु घरै जाने होला । घरै गएर खानु ल”, भनेँ ।
सरिताले बाबुलाई खाना खुवाउन थाली, यता रुपेशले पनि खायो ।
“डाक्टर आए रुपेश आज ?” सोधेँ ।
“शायद भोली छुट्टी दिन्छ होला ।”
मलाई ढुक्क लाग्यो । अस्पतालको तौर तरिका र रातभरको व्यवस्था रुपेशलाई सिकाएर सरू र म निस्कियौं । गाउँको चिनेको एउटा गाडीलाई आउँदै भनीराखेको थिएँ । बिचरा पर्खीराखेको रहेछ । दुवै चढ्यौं ।
रेसी पारी नै सरू र म छुट्टियौं । भारा दिन खोज्दैथी, “पर्दैन म दिन्छु” भनें । उ गई ।
घरमा श्रीमतीलाई हालत सुनाएँ अस्पतालको । उनले पनि लामो सास फेरिन् । “जिम्बल बाले भोलि पार्टी मिटिङमा आउनु भन्दैथे माथि स्कूलमा । खै के गर्नु गर्नु ।” गाउँको खबर उनले मलाई सुनाइन् ।
“काइँलालाई भोलि नै छुट्टी दिने रहेछ । म त त्यतै जान्छु । बरु वस्तुलाई पराल लाएर तिमी जाउ न त । के भन्छन् मिटिङमा बुझेर आउ ।” सल्लाह मिल्यो बुढा बुढीको । म गाई गोठ धन्दा सकेर अस्पताल पुगेँ । सरिता अघि पुगेकी रहिछ । अस्पतालको सबै प्रक्रिया पूूरा गरेर काइँलालाई घर ल्याइयो । बिचरी काइँलीको बेहाल भैराथ्यो, अलिक ढुक्क भो । पलङ्गमा काइँलालाई सुताई राखेर म निस्केँ । यसबेला जिम्बल बा आँगन मै रहेछन् । काइँलाको खबर सोधे । मैले पनि यथार्थ सुनाएँ छोटकरीमा ।
“ए बाँचेछ त । म त बाँच्छ जस्तो लाग्या थिएन, बजियाको ज्यान दह्रै रहेछ” भन्दैथिए जिम्बल बा । मलाई असह्य भैरहेथ्यो त्यो कुराले । तर पनि चुपचाप घरतिर लागेँ उनकै आँगन कुल्चँदै । घरमा पुग्न साथ श्रीमतीले भन्न थालिन्, “जिम्बल बाले टिकट पाएछन्, भोलिदेखि प्रचार प्रसारमा घरदैलो अभियान शुरु गर्ने रे !”
कोही धनले गरिब, कोही मनले गरिब, दैवको खेलै अनौठो, सबैको आफ्नो–आफ्नै नसिब ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies