–शाम्भवी बासिष्ठ
मौनतालाई चिर्दै
जबर्जस्ती बोल्ने बनायौ
अहिले म बोलिरहन खोज्दा ढाड फर्कायौ
पहिले माया प्रेमको झमेलामा पर्दिन भन्दा पनि
माया गर्न सिकायौ
जब मैले गहिरो प्रेम गर्न थालेँ,
तिमी तर्केर पो हिँड्न थाल्यौं ।।
आफ्नो कर्म र धर्मबाहेक केही नसोच्ने म
तिमीबारे सोच्न थालिरहे
तिमीमै समर्पित हुन सिकिरहे
तिमीले माने पनि झिझो र झर्को
मैले सुम्पिरहे तन र मन अन्तर्मनका भावनाहरू
तिमीले बुझ्नौ मेरो भावनाहरू ।।
सधैँ झक्झकाइरहेका तिमीलाई
खोजिरहे तिमीलाई आफैमा
मेरा भावनाहरू नबुझेपनि
तिमीलाई बुझाउन चाहिरहेँ ।।
तर तिमीले नबुझेको नसुनेको जस्तो गरिरह्यौ
नजानेको जस्तो गरिरह्यौ
मैले बुझेर पनि नबुझेको जस्तो गरिरहेँ
पत्याएर पनि नपत्याए जस्तो गरिरहेँ
तिमीले फकाउँछौ कि भनेर
म रिसाए जस्तो गरिरहेँ
तिमीले परिवर्तन गरिरह्यांै बाटो
तिमीले बेग्लै बनाइरह्यौ गन्तव्य
मैले तिमीलाई बुझ्नै सकिन ।।
पर्खँदा पर्खदैँ मेरो समयलाई पनि दिक्क भइरह्यो
मलाई पनि दिक्क हुन दिएन तिम्रो यादले
समयले नै झक्झकायो
अनि बल्ल थाहा पाएँ
तिम्रो सतही मायाको धरातल
कति कमजोर रहेछ भनेर
कुनै दिन तिमीलाई रोज्नु र पाउनुमा
आफूलाई सबैभन्दा भाग्यमानी ठान्ने म
आज पुरै परिवर्तन भएको छु
म आफ्नै गलत निर्णयको
विरुद्ध उभिएको छु
आफ्नो गन्तव्य आफैलाई ठानिरहेको छु
र पनि तिमीलाई सपनाहरूबाट
बिच्छेद गर्न सकेको छैन मैले ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies