–ओम बस्नेत
बिर्तामोड आँखा अस्पतालको कोरिडोरमा अचानक अनमोल खातीलाई देखेँ । मेरो साथीको छोरो हो अनमोल । केटा मिलनसार, आज्ञाकारी र संस्कारी पनि छ, सानैदेखि साई भक्त । पढाई लेखाई पुट्टापर्तीबाट गरेको हो । गीत, संगीत, किर्तन आदि उसले आफ्नै बाबाबाट सिकेको ।
मैले बोलाएँ अनमोललाई । नयाँ ठाउँमा एक्कासी नाम काडेर बोलाउदा उ झस्केर म पट्टी हेर्यो । आयो र मलाई ढोग्यो मैले पनि टाउकोमा हात राखेर आशिर्वाद दिएँ ।
“अंकल पनि आँखा देखाउन आउनु भाको होला ?”
“हो नी छोरा ।”
“अन्त कसलाई लिएर आको तिमी ?”
“आमालाई लिएर आको ।” म छक्क परें ।
उसकी आमा स्वर्गबास भएको लगभग दश वर्ष जति भएको मलाई थाहा थियो । उसको बाबा यानी कि मेरो अतिनै प्रिय साथी बिरेन सर र म एउटै स्कूलमा पढाउने काम गथ्यांै तर, बिरेन खाती खसेको पनि चार–पाँच वर्ष भयो ।
छक्क परेर सोधे “को आमा, सासु आमा ?”
“होइन तपाईले नै ल्याइदिनु भएको आमा ।”
“खोई कहाँ हुनुहुन्छ ?” उसले आँखा अस्पतालको छेउको लजमा लग्यो ।
भित्र कोठामा कालो चस्मा लगाएकी महिला पलङ्गमा ढल्किरहेकी देखेँ । टेबलभरी आँखामा हाल्ने दबाईका शिशिहरू जसलाई एक घण्ट, आधा घण्टा पन्ध्र मिनटको अन्तरालमा हाल्नुपर्ने रहेछ । अनमोलबाट बुझेँ । आँखाको अपेरशन सजिलो तर, दबाई हाल्ने काम साह्रो हो ।
“कस्तो हौ दबाई आधाकल्चो दिएको दबाईवालाले पनि” भन्दै चस्मा खोलिन र “लु हाल त दबाई” भनेर आँखा च्याति रहिन । छोराले दबाई हाल्यो ।
आँखा चिमचिम गर्दै उनले म पट्टि हेरिन् म छेउको पलङ्गमा बसेको थिएँ चुपचाप । किन कि मेरो होश पनि आधा उडिसकेको थियो ।
“को पो हो वहाँ त ?” भनिन् । म के भन्नु भन्नु भएर हतार हतार “नमस्ते भाउजु” भने ।
“नमस्ते नानी तर चिन्नू पो सकिन” भन्दा भन्दै अनमोलले बतायो “ओम अंकल हौ मम्मी ।”
“ए...ओम भाई” भन्दा नभन्दै उनको आँखा रसायो ।
अनमोलले स्थिति सम्हालेर “मम्मी चस्मा लाउँनुस् त दबाई पोखिन्छ, उत्तानो सुत्नुस” भन्यो ।
“जाऊँ होगी अंकल बाहिरतिर” भन्यो ।
“भाउजु आराम गर्नुस् है” भने तर, उनको जवाफको प्रतिक्षा गरिन । हामी निस्कियौँ ।
तल एउटा चिया पसलतिर गयौँ । मैले अनमोलबाट धेरै कुरा सुन्नुपर्ने छ आज ।
मैले चाहिँ अघि नै डाक्टरलाई देखाउने काम सकेको थिएँ । चस्माको अर्डर दिएको छु । एक दुइ घण्टा पर्खनु नै छ ।
उसलाई के सोध्नु, कसरी सोध्नु भयो र पनि “अन्त भाई खोई यो जिन्दगीले पनि मानिसलाई के–के गराउँछ, कहाँ कहाँ पुर्याउँछ होगी ? बिरेन सर बितेको चैँ सुने त्यति बेला म आउन सकिन । तर आज कमला भाउजुलाई देखेँ खुशी लाग्यो । भाईले कान्छी आमालाई बेसहारा छोडेन छौ यो कुरामा चै म धेरै भावुक भएँ । छोरा तिम्रो, परिवारमा घटेको घटनाले मलाई साँच्चै विचलित पारेको थियो त्यति बेला ।”
“होइन अंकल त्यसो नभन्नुस् न हामी जस्तो टुहरा–टुहुरीलाई मात्र थाहा हुन्छ आमा–बाबा नहुँदाको पीडा । तपार्इंकी बुहारी पनि टुहुरी हो । उसले पनि आमाको रूपमा कमला आन्टी पाई । कमला आन्टी नै हाम्रो सबकुछ हो । तपाईंहरुले जे गर्नु भयो राम्रै गर्नु भयो । अंकल तपाईंको नम्बर दिनुस म सिलगडी पुगेर कल गर्छु भोलि ।”
धेरै बर्षअघिको कुरा हो म सरुवा भएर सोरेंग जाँदा भेटेको थिएँ बिरेन खाती सरलाई । मैले पढाउनु पर्ने स्कूलको हेडमास्टर हुनुहुन्थ्यो । मैले जोइनिंग रिपोर्ट बुजाउँदा नै उहाँको व्यक्तित्वलाई बुझिसकेको थिएँ । “सर सरुवा भएर आउनु हुँदैछ भनेर सुनेको नि” भन्नु भयो । धेरै गफ भयो । कोठा नपाउञ्जेल उनकैमा बास पाउने भएँ ।
बिरेन सर र गुरुआमा एउटै स्कूलमा रहेछन् । सबैसँग चिना–जाना गराउनु भयो । उहाँहरुको आफ्नै घर रहेछ स्कूलदेखि अलिक माथि । कोटेज घर सुन्दर लाग्यो ।
बिरेन सरकोमा हारमोनियम, तबेला, मादल इत्यादि बाजा–गाजा देखेँ, उनको बैठक कोठामा । सरले बेलुकी दुई पैग जस्तो पिउनु हूँदो रहेछ, गीत–सङ्गीतको मुड बनाउन । मलाई पनि अफर गर्नु भयो । एकछिन पछि गुरु आमा पनि आउनु भयो किचनको काम सकेर । कति छिटो फ्रेन्च फ्राई बनाउनु भएछ ।
“सर गाउनु हुन्छ ?” भनेर उनले मलाई सोधे, “म सुन्छु मात्र सर । तपाईं गाउनुस् न”, भने । हल्का तबला चैँ बजाउँछु भने ।
घाँटी सफा गर्दै थिए कुन गाउँनु भनेर गुरुआमालाई सोधे त्यो गाउनुस् फेवरेट.. भनिन् ।
“अलझेछ क्यारे पछेउरी तिम्रो चियाको बोटैमा...”
मैले ताली नबजाई बस्नु सकिन् । मिठो गाउनु भयो सरले भनेर प्रसंशा गरें । मिठो स्वरको धनी । हारमोनियममा हात त्यस्तै राम्रो चल्दो रहेछ ।
बिरेन सरले एक दिन अंजु गुरुमा र उहाँको प्रेम कहानी भन्नु भाको थियो । गैरीबाँस हो बिरेन सरको घर । गुरुआमा झोलुंगको हुनुहुन्छ । बिरेन ‘खाती’ हुन् अनि अन्जु ‘भट्टराई’की छोरी । दुबैमा प्रेम थियो । सांस्कृतिक कार्यक्रममा बिरेनले गीत गाएर मन्त्रमुग्ध पार्थे । अन्जुलाई बिरेनको स्वर र रूपको अघि जात–पातको तगारोले रोकेन । भागेर सिक्किम पसे । दुबै पढालेखा थिए । बिरेनको काका शिक्षा विभागमा डेप्युटी डायरेक्टर थिए । भतिजो र भतिजो बुहारीले काम पाएछन् । त्यति बेला अहिलेको जस्तो कागज–पत्रको त्यति जरूरत पनि पर्दैन थियो गुरुबाऊ र गुरुआमा हुनलाई ।
उनले कहिले पनि जाल साज गरेर सिक्किम सब्जेक्ट बनाउने र सिक्किममा सेटल हुने कहिले सोचेनन् । बरु एक दुइजना सिक्किमकै साथी भाईले अफर दिएका थिए अरे !
उनको घर कहाँ हो भनेर सोधेँ कसैले भने गैरिबाँस हो भन्थे गर्वसँग । सरकारी नोकरीबाट सेवा निर्वित भएपछि आफ्नै ठाउँ फर्किने मन बनाइसकेका थिए । मसँग धेरै आत्मियता बढ्यो बिरेन सरको । म अर्को कोठा पाएर एक्लै बस्न थालेको थिएँ ।
अलिक दिनपछि एकै रातको बिमारले अन्जु गुरुमा बित्नु भयो । बुझ्दा हार्टअटेक भएछ । सम्पूर्ण गाउँ नै उर्लेर आयो । कस्तो बज्रपात भयो त्यो घरमा । घटनापछि बिरेन सर धेरै पिउनु थालेको जस्तो लाग्यो । कमजोर पनि भएछन् । छोरा पुट्टापर्तिबाट आएर सबै समालेछ । पछि छोराको पनि बिहे भयो । बिरेन सर बाजे पनि भए । मेरो सरुवा भएर गान्तोक फर्केँ ।
एक दिन लैन्ड लाइनमा फोन आयो बिरेन सरको ।
मलाई सोरेंग बोलाए कारण सोधे अर्जेंट काम छ भने । म पुगें । खानपिना पछि साधें, “मैले किन बोलाको ?” उनले अनमोललाई पनि छेउमा बोलाएर बस भने ।
“सुन्नुस न ओम भाई । अब म फेरि बिहे गर्नुपर्यो भनेको अनमोलले साथ दिएन मलाई । मैले बिहे गर्दा उसलाई सरम हुन्छ अरे । बुहारीको माइतमा धरी इज्जत जान्छ अरे । गाउँ घरमा उसको मेरो सबको नाक काटिन्छ अरे । मेरो श्रीमति खसेपछि म झन् एक्लो भएँ । मेरो गीत कसैले सुन्दैन । बिहान हारमोनियममा रियाज गर्दा नातिनीको निन्द्रा बिग्रन्छ अरे । मसँग कोही बस्दैन छेउमा । मेरो कुरा सुन्ने कसैको फुर्सद छैन । स्कूलमा हुँदा टाइम पास भइ हाल्थ्यो । रिटायर भएपछि मेरो जिन्दगी त नर्क नै भयो ।”
अनमोलले शुरू गर्यो “हो नि अंकल आफ्नो मात्र सजिलो हेरेर हुन्छ र ? बाबालाई सम्झाई दिनोस् न बरु । बुहारीले ठीक समयमा खाना पिना, चिसो तातो हेरेकै छ । लुगा कपडा धोइदिएकै छ । बुहारीले सबै काम गरेकै छ । लु भन्नुस् त बाबा कुनै दिन अमित्ये बचन बोलेको छ र ?”
अनमोलको कुरामा दम थियो ।
फेरि तर्क अघि बढाउछन् बिरेन सर “यसको बुहारीले सबै गर्छिन् नी त ठीकै छ । मलाई फिल्म हेर्नु जानु मन परेको छ बुहारी लिएर जानु ? कतै टाढा जानु मनपर्छ, बुहारी लिएर जानु भएन होला । मलाई धेरै रातीसम्म निन्द्रा लाग्दैन बुहारीसँग गफ गर्नु मिल्छ र ?”
म छक्क परें । फेरि यो अर्को नयाँ कुरा थपियो । यो झन् खतरान लाग्यो । कसको कुरा ठीक हो भनेर मैले निर्णय दिनुपर्ने भयो ।
मलाई त दुबैजना आफ्नो ठाउँमा ठीकै हो जस्तो लाग्यो । म बिरेन सर पट्टी बायस्ड हुनु नै पर्ने देखेँ । “अन्त सरले हेर्नु भाको छ र ?”
“छ र त भनेको” भने बिरेनले । अनमोल तस्र्याे । “लु अब मेरो भन्नु केही छैन अंकल । बाबाको इच्छा त्यस्तो छ भने मेरो भन्नु केही छैन”, भनेर हिँड्यो ।
बुढोले क्या छिट्टो दैलो बन्द गर्यो र “यस मेरो काम भयो भनेर हात मिलायो तर, यतिको लामो हात मिलाई मेरो पहिलो पल्ट हो । मेरो हात थरथर कमाऊँदै हात मिलाकोले घडीको चैन फुस्क्यो र मात्र हात छोडे सरले ।
कमला राईको पनि यो संसारमा कोही छैन । राँगामाटी चिया कमानमा कम्पनीले दिएको सानो घरमा बस्थिन अरे । सानो मै आमा बाऊ बितेको अरे । पछि कालेबुङ्ग मंगल धाममा मन्दिरको सेवामा लागिन् अरे ।
बिरेन सर पनि कालेबुंग घुम्न जाँदा भेट भएछ र गफ गरेछन् । दुई दिन जति गफ सफ भएपछि बिरेन सरले बिहेको प्रस्ताव राखेछन् । घरमा कुरा मिलाएर लिनु आउँछु भनेका थिएछन् ।
जनवरी १ तारिकको दिन थियो । सबै पिकनिक खान जाने तर्खरमा थिए । हामी दुइ भाईको मनमा भने अर्कै खिच्चडी पाकिरहेको थियो । सुटुक्कै हिँड्ने भयौ कालेबुंग । अनमोललाई भने “मैले लु है भाई हामी आमा लिनु गाको है ।” अनमोल खिस्स हाँस्यो ।
चेतक स्कूटर लिएर पुग्यौ पो मंगलधाम । उमेर पचपनको हुनुपर्छ । राम्री नै हो । गोरी हाईटमा बिरेन सरभन्दा धेरै कम्ति । मैले हेर्दा त जोडी राम्रै लाग्यो ।
“नमस्कार भाउजु” भन्देको लाजले रातै भइन् ।
मन्दिरमा हल्का सिन्दुर पोतेको कार्यक्रम पनि सकियो ।
मारुती कार रिजर्व गरे । उनीहरु अघिअघि म स्कूटरमा पछि–पछि ।
मल्लीबाट बिरेन सर र म छुटेको त्यो दिन उनको र मेरो अन्तिम भेट थिएछ । दुई वर्षपछि बिरेन सरको पनि चोला उठेछ । सुने दुःख लाग्यो, कमला एक्लै भइछन् । सोरेंगको घर जमिनको मालिकलाई नै जिम्मा लगाएर परिवार नै गैरिबासँ सरेछन् । मलाई भने अनमोलको उदारतालाई सलाम गर्न मन लाग्यो । उनी साँच्चै अनमोल नै रहेछन् ।
आज जनवरी १ तारिकको दिन बिरेन सरलाई मिस गर्दै छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies