फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो।
सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको संघर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए। केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको संघर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ।
यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो।
सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू , प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन्। पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ।
सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो। सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए। उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए।
पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन्। अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन्।
केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन्। पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ। प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies