सत्येन्द्रप्रताप सिंह/मध्यान्ह
रौतहट : तीन दिनपछि सरस्वतीको मूर्ति सेलाउने विषयमा सर्वदलीय बैठकमा सहमति भएपछि सोमबार दिउँसो स्थानीय नदीमा मूर्ति बिर्सजन गरिएको छ ।
सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वदलीय बैठक बसेर सहमति गरेको हो । सो सहमतिको आधारमा सरस्वतीको मूर्ति विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी ऐलिजा गिरीले बताए।
फागुन ५ गते ईशनाथ नगरपालिका वडा नं. ७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद भएको थियो । विवाद उग्र भएपछि रौतहट प्रशासनले कर्फ्यू आदेश जारी गरी आइतबार थप क्षेत्रमा समेत कर्फ्यू विस्तार गरेको थियो ।
सर्वदलीय सहमति अनुसार गाँउमा समाजिक सद्भाव कायम राख्न र्याली निकालिने भएको छ । ईशनाथ नगरपालिकाको सम्बन्धित वडाहरुमा सामाजिक सद्भाव कायम भएपछि मात्रै कर्फ्यू हटाउने तयारीमा प्रशासन छ । रौतहट क्षेत्र नम्वर २ का संघीय सांसद किरण साह, नेपाल प्रहरीका डीआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश प्रमुख सञ्जय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सदस्य जैयद राजा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सरस्वतीको मूर्ति विसर्जन गरिएको हो ।
सरस्वतीको मूर्ति स्थानीय नदीमा विसर्जन गरेसँगै तनाव कम भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies