दिलमाया शाही/मध्यान्ह
जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाले फटबल खेडालीहरुलाई सम्मान गरेको छ । समितिले कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जित्ने जुम्लाका खेलाडीलाई सम्मान गरेको हो । समितिले विजेता टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई न्यानो टोपी र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्र नै देश र राष्ट्रका लागि पहिचान दिलाउने क्षेत्र भएपनि यसलाई महत्वका साथ सरकारले हेर्न नसेकको बताए । उनले जुम्लाका खेलाडीले यतिबेला जुम्ला जिल्लाको पहिचान दिएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गरे ।
यस्तै प्रतियोगिता सफलरुपमा सम्पन्न गरेको भन्दै जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापालाई सम्मान गरिएको छ । उनले जुम्लामा फुटबल आयोजना गर्न निकै चुनौती रहेपनि प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उनले भने, ‘पहिले पहिले जुम्लामा पनि खेल हुन्छ ? भन्ने मानसिकता थियो । अहिले खेलाडीको लगनशीलता र मिडियाको सकरात्मक प्रचारका कारण एक खाण्डको राम्रो सन्देश गएको छ ।’
उनले सबैको साथ सहयोगले भौतिक संरचना बनेको खण्डमा जुम्लालाई फुटबलको उर्वरभूमि बनाउने दाबी गरे । उनले जुम्लाका सारोकारवालहरुको राम्रो सहयोग भएको खण्डमा सातै प्रदेशको अन्तरप्रदेश स्तरीय फुटबल प्रतियोगिता जुम्लामै गर्न सकिने बताए । उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चौलागाईंले युवाहरु परिवर्तनको सम्वाहक भएको बताए । उनले जुम्लाका खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले विजेता बनेका खेलाडीलाई बधाई तथा शुभकामना दिए ।
यस्तै खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले खेलाडीले व्याक्तिगत मात्र नभइ राष्ट्रकै पहिचान दिलाउने भएकाले उनीहरुको मनोबल बढाउन पनि सम्मान गरिएको बताइन् । उनले आगामी दशौं राष्ट्रिय खेलकुदमा समेत जुम्लाका खेलाडीले आफ्नो कलालाई नियमपूर्वक ढंगबाट प्रस्फुटन गर्ने विश्वास व्यक्त गरिन् । उनले जुम्लालाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताइन् ।
उनले खेलाडी र खेलकुदको भौतिक संरचना बनाउनका लागि आवश्यक सहयोग गर्न पनि सम्बन्धित निकायमा आग्रह गर्दै आएको बताइन् । उनले अहिले बन्दै गरेको निर्माणाधीन रंगशालाका लागि खेलकुद विकास समिति जुम्लाको अनुरोधमा तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ५० लाख रुपैयाँ प्रदेश सरकारबाट बजेट विनियोजन गराएको बताइन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा जिल्ला फुटबल संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष राज बहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies