काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीषस्थानमा उक्लन सफल भएका छन् ।
डिफेन्डिङ च्याम्पियन सदभावले मंगलबार १–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । १–अन्डर ६७ सहित समग्रमा २–अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए ।
पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १–अन्डर ३५ को नतिजामा संयुक्तरुपमा तेस्रो स्थान बाँडे । रविले मंगलबार २–अन्डर ६६ र रामेले २–ओभर ७० मा दोस्रो दिनको खेल सकाए ।
२–अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन–पार १ सय ३६ सहित पाँचौं स्थानमा रहेका छन् । समग्रमा २–ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे । जयरामले १–अन्डर ६७ र भुवनले ३–ओभर ७१ मा मंगलबारको खेल सकाए । ३–ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे ।
यसैगरी ३–ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं स्थानमा रहे । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३–अन्डर ६५ मा खेल सकाए । दीपकले इभन–पार ६८ र सूर्यले १–ओभर ६९ को स्कोर दर्ज गरे ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६–ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दुवैले मंगलबार ३–ओभर ७१ को स्कोर बनाए । उनीहरू लिडर सदभाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन् ।
३६ होलको समाप्तीमा १९–ओभर १ सय ५५ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।
उपाधि रक्षा गर्ने कोशिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । तर पाँचौं होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे । सदभावले ब्याक नाइन भने २–अन्डर ३२ मा पूरा गरे । ५–पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे । १४ औं होलमा भने एक सट खेर फाले ।
धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १–अन्डरमा सकाए । यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन–पार ३४ को स्कोर निकाले ।
दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies